काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक हक कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलका महिला सांसदहरूले यस्तो प्रस्ताव दर्ता गराएका हुन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) छन् । एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीकी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा समर्थक छन् ।
प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ७१ बमोजिम दर्ता गरिएको प्रस्तावमा अहिलेको ९८ दिनको सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि पर्याप्त नभएको उल्लेख छ ।
प्रस्तावमा सरकारले एकातिर ६ महिनासम्म स्तनपान र ‘सुनौलो १ हजार दिन’को अवधारणालाई प्राथमिकता दिँदै आए पनि अर्कोतिर आमालाई दिइने बिदा ९८ दिनमा सीमित राखेको भन्दै प्रश्न उठाइएको छ । विश्व स्वास्थ्य संगठनले पनि शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेको अवस्थामा ९८ दिनको बिदाले कसरी यो सम्भव हुन्छ भन्ने प्रश्न सांसदहरूले गरेका छन् ।
संविधानको धारा ३८ (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रस्तावमा राज्यको विद्यमान व्यवस्था त्यसअनुकूल नभएको दाबी गरिएको छ ।
महिलाले कार्यस्थल र मातृत्वमध्ये एउटा रोज्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सांसदहरूले पर्याप्त सुत्केरी बिदाको अभावले महिलाको मातृत्वसम्बन्धी निर्णयमा समेत असर परेको उल्लेख गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया