काठमाडौँ, २४ भदौः राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसद कृष्णबहादुर रोकायले रसुवा र भोटेकोशी क्षेत्रमा गएको बाढीबाट बालबालिका, गर्भवती तथा ज्येष्ठ नागरिकलगायत अशक्त र जोखिममा रहेका समूह बढी प्रभावित भएको र उनीहरूलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो ।
यसैगरी सांसद घनश्याम रिजालले विपद्का समयमा उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको बताउनुभयो । जोखिममा रहेका हिमतालमा पूर्वसूचना प्रणाली जडान गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद पदमबहादुर परिवारले कृष्णभीरमा पहिरो गएको दुई साताभन्दा बढी समय भइसके पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको बताउनुभयो । उहाँले काठमाडौँ–नुवाकोट आवागमनलगायत सडक सम्पर्कमा देखिएका समस्याको स्थायी समाधान खोज्नुपर्ने र हवाई यातायातको भाडा महँगिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पूजा चौधरीले सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढीपीडित महिलालाई तथानाम गालीगलौज तथा दुव्र्यवहार गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले बाढीपीडितलाई छिटोभन्दा छिटो राहत वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
त्यसैगरी सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै सहज आपूर्ति तथा वितरणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुदेवी पुडासैनीले पनि बाढीपीडितलाई अत्यावश्यक सामग्री समयमै पुर्याउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
शून्य समयमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया