काठमान्डौ: तनहुँको घिरिङ गाउँपालिका-५, बेलभञ्ज्याङमा आज साँझ जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर वैदिक कालिका गाउँपालिका-२ की २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको तनहुँ प्रहरीले जनाएकाे छ।
उनकाे पाेखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरूमा नवलपुर बैदिककालिका गाउँपालिका-२ की ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँकी २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महीनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार छन्।
६ महीनाका बालक अनिलको आँखाको उपचारका लागि पोखरा जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीकाे भनाइ छ।
गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको भीमादस्थित शुभलक्ष्मी मेडिकल हलमा उपचार भइरहेको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया