श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकी राष्ट्रपति बाइडेन अचानक युक्रेन भ्रमणमा

बाइडेन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंःअमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुग्नुभएको छ । रुसी आक्रमणको वर्ष दिन पुग्न लाग्दा बाइडेन किभ पुग्नुभएको बीबीसीले जनाएको छ ।

रुसको आक्रमणपछि पहिलो पटक युक्रेन पुग्नुभएका बाइडेनले युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुभएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै बाइडेनको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण सङ्केत भएको उल्लेख गर्नुभएको छ ।

जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताउनुभएको बीबीसीले जनाएको छ । सैन्य अनुभवका बाबजुद पनि युक्रेनी नागरिकले साहसपूर्वक लडेको भन्दै बाइडेनले प्रशंसा गर्नुभएको छ ।

बाइडेन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुग्नुभएको न्युयोर्क टाइम्सले जनाएको छ । सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडेनको भ्रमण गोप्य राखिएको थियो । शनिवार राति श्रीमतीसहित एउटा रेस्टुरेन्टमा खाना खाएपछि बाइडेन विना सूचना वाशिङ्टनबाट बाहिरिनुभएको थियो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ मा एक वर्ष पूरा हुँदैछ । तर अझै पनि युद्ध सकिने सङ्केत देखिँदैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया