काठमाडौँ । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईविरुद्ध उजुरी दिन नेकपाका कार्यकर्ताहरु पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका छन्।
बाबुराम भट्टराईले रेडियो नेपालसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेको भन्दै नेकपाका कार्यकर्ताहरु सोमबार साइबर अपराधमा कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी परिसर पुगेका थिए।
तर, आइतबार जस्तै प्रहरीले भट्टराईविरुद्ध उजुरी लिन इन्कार गरेपछि नेकपा निकट अखिलका अध्यक्ष ऐन मगरसहितका कार्यकर्ताहरु पनि सरकारी वकिल कार्यालय गएका हुन्।
समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दिइएको जाहेरी महानगरीय प्रहरी परिसर टेकुले आइतबार दर्ता गर्न इन्कार गरेपछि समाजवादी पार्टीका नेताहरु उजुरी गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेपछि नेकपाका कार्यकर्ताहरु पनि सँगै त्यहाँ पुगेका हुन्।
यति बेला समाजावदीका नेताहरु सरकारी वकिल कार्यालयभित्र छन् भने नेकपाका कार्यकर्ता बाहिर जम्मा भइरहेका छन्। समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएका थिए। उक्त प्रकरणलाई समाजवादीले अपहरण भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै आएको छ।
प्रहरी कार्यालयले जाहेरी लिन नमानको खण्डमा उक्त बेहोरासहित जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार समाजवादीका नेताहरु र नेकपाका कार्यकर्ता एकैपटक बबरमहलस्थित सरकारी वकिल कार्यालय पुगेका हुन्। सरकारी वकिल कार्यालयले उजुरी दर्ता गरी जाहेरी सम्बन्धी प्रहरी कार्यालयमा छानबिनका लागि पठाउनुपर्ने कानुनी व्यवस्था छ।
सरकारी वकिल कार्यालयले अपहरणको उजुरी लिन इन्कार गरेको र अहिले कुराकानी भइरहेको समाजावादीका नेता केशव झाले जानकारी दिएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया