श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युरोपेली देशमा शरणका लागि दश लाख जनाको आवेदन

नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा दश लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना महामारीका कारण लागू गरिएको यात्रा प्रतिबन्ध हटेपछि युरोपेली देशमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च सङ्ख्या हो ।

शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका लागि आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गएको वर्षकाे अन्त्यतिर कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा दश लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन दिएका शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । त्यस्तै टर्कीए, भेनेजुएला, कोलम्बिया, पाकिस्तान, बङ्लादेश र जर्जियाका आप्रवासीको आवेदन पनि उच्च सङ्ख्यामा छ।

रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम रहेको छ । युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले शरणका लागि निवेदन गरेका खबरमा उल्लेख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया