चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सत्तामा दलको आशक्ति : सङ्घीयताको ६ वर्षमै फेरिए ४ प्रधानमन्त्री, २ जना पर्खाइमा

सत्ताकै लागि कुरा नमिल्दा कांग्रेस छाडेर एमाले पुगेको माओवादी अहिले त्यही सत्तालाई लम्ब्याउने दाउमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संविधान जारी भएपछिको यो ८ वर्षको अन्तरालमा देशले ७ जना प्रधानमन्त्री पायो भने सङ्घीयता कार्यान्वयनमा आएको ६ वर्षयता तिनै अनुहारबाटै ३ जना प्रधानमन्त्री बनिसकेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरी ३ अनुहारले पालैपालो देशलाई घुमाइरहेका छन्।

सङ्घीयता कार्यान्वयनका लागि भएको पहिलो आमनिर्वाचनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनायो। २०७४ फागुनदेखि २०७८ असारसम्म प्रधानमन्त्री बनेका उनी राजनीतिक उथलपुथलका बाबजुद फेरि दोस्रो पटक २०७८ असारसम्म प्रधानमन्त्री बने। सङ्घीयता कार्यान्वयनको पहिलो कार्यकालमै २ पटक प्रधानमन्त्री पाएको देशले २९ असार २०७८ देखि १० पुस २०७९ सम्म कांग्रेस सभापति देउवालाई तेस्रो प्रधानमन्त्रीका रूपमा पायो ।

५ वर्षभित्रै ३ पटक प्रधानमन्त्री फेर्नुपर्ने बाध्यतामा जनता भन्दा पनि राजनीतिक दलहरू देखिए। सबै आ–आफ्नो स्वार्थ र सत्ता प्राप्तिको मोहलाई पूरा गर्न उद्यत हुँदा जनताले दिएको बहुमतको पनि कदर हुन सकेन। जनताको बुहमतलाई अनादर गर्ने राजनीतिक दलहरू संविधानको रक्षा र जनताको अभिमतको कदर भन्दै सडक र सदनमा ‘फलाक्नु’ले कुनै अर्थ नराख्ने राजनीतिक वृत्तमा चर्चा हुने गर्छ।

सत्तामा पुग्नकै लागि तत्काल गठबन्धन बनाउने र भत्काउने खेलकोे सुरुआत भइसकेको छ। यो खेल अहिले नेपालको राजनीतिमा खुबै रुचाइएको पनि छ। जबसम्म यो खेल नेपालको राजनीतिमा रहन्छ, तबसम्म जनताले स्थिरता र समृद्धि पाउन उनै नेताको भाषण मात्र सुन्नेबाहेक विकल्प देखिँदैन।

सत्ताकै लुछाचुँडीमा बितेको सङ्घीयताको पहिलो कार्यकाल जस्तै अहिलेको दोस्रो कार्यकाल पनि त्यही दिशामा गइरहेको छ। पहिलो कार्यकालमा वाम गठबन्धनलाई विश्वास गरेका जनताले अहिले कुनै पनि दललाई स्पष्ट रूपमा विश्वास गरेनन्।

त्यसको फाइदा नेपालका हरेक ठुलादेखि साना दललाई भएको छ। जनताले कुनै एउटा दललाई विश्वास नगर्दा अहिले सबै दलहरू बाँडीचुँडी खाने अवस्थामा छन्।

अहिले प्रधानमन्त्री छन्, माओवादीका अध्यक्ष प्रचण्ड। सत्ताकै लागि कुरा नमिल्दा कांग्रेस छाडेर एमाले पुगेको माओवादी अहिले त्यही सत्तालाई लम्ब्याउने दाउमा फेरी कांग्रेससँगै लेपासिएको छ। भन्नलाई राष्ट्रिय सहमति भनिए पनि त्यसमा सत्ता स्वार्थ र भागबन्डाबाहेक केही पनि देखिँदैन।

‘सत्तापक्ष र प्रतिपक्षको व्यवस्था गरेको संविधानमाथि नै धावा बोल्नेगरी भएभरका सबै दललाई सरकार लैजानु र त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनु गलत अभ्यास हो’, एक जना सांसद्को ओक्रोशित आवाज हो यो।

संविधानै नरुचाएका दलमा पनि सत्तामोह उत्तिकै

५०७ जना संविधानसभा सदस्यको बहुमतका आधारमा ३ असोज २०७२ मा ‘नेपालको संविधान, २०७२’ जारी भएको थियो। अहिलेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जस्ता मधेस केन्द्रित दलका ५८ जना सांसदहरूले यस संविधानलाई बहिष्कार गर्दै मतदान बहिस्कार गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका २५ जना सांसदले त संविधानको विपक्षमा मतदान नै गरे। तर, विडम्बना, संविधानसभालाई नै बहिष्कार गरेर हिँडेका तिनै मधेस केन्द्रित दलहरू सत्ताका लागि हरेकजसो मन्त्रिपरिषद्मा सहभागी भएकै छन्। त्यही संविधानको जगमा कार्यान्वयन भएको सङ्घीयतामा प्रदेशको मुख्यमन्त्रीमसेत पाएको मधेस केन्द्रित दल अहिले उपराष्ट्रपतिका लागि सर्वसम्मत पनि भइसकेको छ।

सत्ता र शक्ति पाउँदा आफ्ना मान्यता र प्रतिबद्धता नै बिर्सने राजनीतिक दलहरूप्रति जनताले कस्तो अपेक्षा गरेका होलान ? र, तिनीहरूप्रति परिवर्तनको अपेक्षा राख्ने कि नराख्ने ? लोसपा, राप्रपा, जसपा तिनै पार्टी हुन्, जसले संविधानलाई ठाडै अस्वीकार गरे।

तर, सत्तामा जाने सवालमा न तिनीहरू हिच्किचाए, न त जनतामाझ गरेका प्रतिबद्धतालाई नै सम्झिए। अहिलेको उदीयमान दल भनेर चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यही भिडको एउटा सदस्य हो भन्दा फरक नपर्ला।

आमचुनावमा मतदान गर्दा रास्वपाका सभापति रवि लामिछानेले प्रदेशसभातर्फ मतदान गरेका थिएनन्। उनले सुरुआती चरणदेखि नै प्रदेशसभा संरचनामाथि प्रश्न उठाउँदै आएका थिए।

त्यस समयमा उनको प्रतिक्रिया थियो, ‘प्रदेशसभा संरचनामा हामीले प्रश्न उठाएका छौँ। हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी पनि छैनौँ।’ तर, उनीहरू त्यस समयमा त्यही सङ्घीयतासहितको संविधानले व्यवस्था गरेको प्रणालीबाटै निर्वाचित भए।

उनीहरूलाई पनि सत्ताको मोहले यति बाक्लोसँग ढाक्यो कि रास्वपाले सत्ताकै लागि लामो समय ‘बार्गेनिङ’ र चुनौतीको वर्षा नै गरायो। -द नेपाल टप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार