वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

आत्मगौरव, आत्मज्ञान र महिला – डा. नम्रता पाण्डे

स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्न सक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहं केतुरहं मूर्धाऽमुग्रा विवाचिनी !

ममेदनु कर्तुं पतिः सहानाया उपाचरेत !!

(ऋग्वेद –१०–१५९–२) श्लोकमा महिलाको गरिमा उल्लेख गरिएको छ– म ज्ञानमा अग्रगण्य छु, महिलामा मूर्धन्य हुँ। म उच्च कोटिकी वक्ता हुँ। मेरो गुण र इच्छानुसार नै मेरा पति पनि आचरण व्यवहार गर्छन्। वेदमा महिलाको महŒव, गरिमा, सम्मान र महिला केवल आमा, श्रीमती र छोरीबेटीका रूपमा मात्र नभई सृष्टिमा महिला गुण, स्वभाव र प्रकृतिको भूमिका समाहित गरेर समग्रतामा मानव जीवनमा सुख, शान्ति र समृद्धिको कल्पना गरिएको छ।

हिम्मत गर्नु छ महिलाले

सृष्टिको रचना, जिम्मेवारीदेखि लिएर अफ्नो भूमिकालाई आत्मसात गर्दै महिलाले आफू हुनुको गरिमा, आत्मज्ञान बोध र समस्त सम्भावनाहरूको स्वयंमा खुलेर प्रशंसा गर्नुपर्दछ। आफूसँगको भावनात्मक निकटता र जरुरीको महसुस हुनुपर्दछ न कि महिला हुनुमा हीनताबोध। समाजको संस्कार र धारणालाई चिरेर आफ्नो गौरवशाली भूमिकामा स्थिर राख्ने कला महिला स्वयंले जान्नुपर्छ। महिलाको जिम्मेवारी बोधकै कारण कतिपय अवस्थामा हीनताबोध र कमजोरीपनको महसुस पनि हुन्छ। तर, जस्तो अवस्थामा पनि सहनशील हुने गुणवत्ता प्रकृतिले दिएको छ महिलालाई। कतिपय कष्टलाई सहन गरेर आफ्ना सन्तान, आफ्नो परिवारप्रति र आफ्नो भूमिकाप्रति सधैँ निरन्तर अघि बढ्ने प्रेरणा महिला स्वयंले दिनुपर्छ। किनकि आत्मपहिचानको क्षमता र भावनात्मक संवेदना महिलालाई नै दिएको छ अस्तित्वले। महिलाले आफ्नो शारीरिक, मानसिक, भावनात्मक, आर्थिक र आध्यात्मिक चाहना र अवसरबारेमा खुलेर बोल्न र आफ्ना लागि यी आवश्यकता पूरा गर्नमा प्राथमिकता दिनुपर्ने हुन्छ।

तुलसीदासले रामायणमा लेख्नुभएको छ–

ईश्वर अंश जीव अविनाशी, चेतन अमल सहज सुख रासी

स्वयंको आत्मा, भगवत् तत्व जानेर आफ्नो स्वधर्ममा स्थित हुने गुण महिलाले पाएका छन्। त्यसैले पनि महिला सधैँ संयम, सहनशील, नम्र र करुणावान बनेर आफ्नो उत्तरदायित्व निर्वाह गरेका हुन्छन्। यी गुणलाई कसैले कमजोरीको संज्ञा दिन्छन् भने चिन्ता गर्नुपर्ने र धारणा बनाउनुपर्ने छैन। कम्तीमा भावनात्मकरूपमा आत्मनिर्भर रहने सहजता महिलामा छ।

महिला सशक्तीकरणका आयाम

राज्यका नीति, नियम र विधानमा महिला सशक्तीकरणका आवाज, महिला आरक्षणका अवसर दिइँदै आएको छ। तर यो सहज र व्यावहारिक कति भएको छ यसका प्रत्येक आयामलाई महसुस गर्नुपर्ने हुन्छ।

परनिर्भता–महिलाहरू हरेक पक्षबाट अरूमा निर्भर हुनुपर्ने अर्थात् परनिर्भरतामा रहनुपर्ने अवस्था रहँदासम्म सशक्तीकरणको आभाष गर्न सकिंँदैन। त्यसैले परनिर्भरताबाट माथि उठ्ने अवसर दिन र सहजताको जीवन आधार दिनका निम्ति आर्थिक पहुँच, शिक्षा, रोजगार, सिपमूलक तालिमलगायतका धेरै क्षेत्रबाट महिलालाई सशक्त हुने अवस्था सिर्जना हुनुपर्दछ।

आत्मनिर्भरता/स्वावलम्बी– जो महिला रोजगारीमा या व्यापार व्यवसायमार्फत आर्थिकरूपमा, व्यावहारिक कठिनाइबाट जुध्न सक्ने अवस्थामा र महिला भएकै कारण विभेदमा पर्ने स्थितिबाट मुकावला गर्न सक्ने स्वावलम्बी छन् तब सशक्त भएको मानिन्छ। आफ्नो निर्णय क्षमता, विवेकको प्रयोग र खुलेर आफ्ना कुरा राख्न सक्ने स्थिति हुनु आत्मनिर्भरताको अवस्था हो।

परस्पर निर्भरता–परिवार या समाज र राज्यमा पुरुषसरह योगदान दिएर आफ्नो भूमिका र दायित्व निर्वाह गर्न सक्ने महिला सशक्त मानिन्छ। राजनीति होस् या नोकरी, व्यापार व्यवसाय होस् या सामाजिक अभियन्ताका रूपमा महिला पुरुष समान भावले योगदान दिन सक्ने समाज निर्माण हुनु र परस्पर निर्भरतामा जीवन र भूमिका सहज बन्ने स्थिति हुँदा महिलाहरू अरू सशक्त बन्छन्।

परनिर्भरता–महिलालाई भौतिक रूपमा जीवन यापनको सहजता मात्रले जीवनमा पूर्णता मिलेको मान्न सकिन्न। आत्मिक शान्ति, प्रेम, करुणा, आफू हुनुको बोध र आत्मसम्मानको अनुभूति गर्न पाउनुपर्ने सहजता र अवसर अर्थात् परनिर्भरताको स्थिति पनि हुनुपर्दछ। आफ्नो मानसिक, भावनात्मक, निर्णयात्मक, स्वतन्त्र र प्रेमपूर्ण जीवनका लागि परनिर्भरताको स्थितिमा पुग्न ध्यान, साधना, आध्यात्मिक खोज र जीवन रहस्य जान्न पाउने अवसर पनि मिल्नुपर्दछ। किनकि सन्तान जन्माउने र हुर्काउने अनि परिवारको स्याहारसुसार र व्यावहारिक दायित्व सँगसँगै परजीवनको बोध गर्न पाउनु महिलाको अधिकार हो। स्वतन्त्रता हो। यी सबै आयामबाट सशक्त हुने अवसर नदिँदासम्म आरक्षण, दया/माया र सहानुभूतिले महिलालाई सम्मान गरेको ठहर्दैन।

महिला स्वास्थ्यमा सजगता

स्व (आफैँमा) स्थित (अडिग) हुनु आफ्नो स्वभाव, रुचि र स्वतन्त्रतामा स्थित हुन पाउनु स्वास्थ्य हो। के महिला र पुरुषलाई यो समान अवसर मिल्छ? छोरा हुर्काउने तरिका र छोरी हुर्काउने तरिका फरक छ कि छैन? पोषण, खानपान, औषधि उपचार समान छ त सबै वर्ग र समाजमा? गर्भवती महिलाको स्वास्थ्य, पेटमा हुर्किरहेको बच्चा छोरा हुनु र छोरी हुनुको फरक? महिलालाई लागेका रोगबारेमा खुलेर भन्न सक्ने अवस्था? महिनावारी, छाउ बार्ने, छोइछिटो, विना हत्या र हिंसाको रगत बग्नु, महिला विना, महिनावारी विना सन्तान उत्पादन? हाम्रो समाजमा महिला स्वास्थ्यप्रतिको चेतनाको स्तर कस्तो छ? क्यान्सर, पाठेघर क्यान्सर आदि लग्यो भने पापिनी रैछे त्यसैले आदि मानसिकताबाट कसरी माथि उठ्ने?

रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक एवं आध्यात्मिकतवरले पूर्ण तन्दुरुस्तीको अवस्थालाई नै स्वास्थ्य भनिन्छ। “जसलाई डब्लु.एच.ओले समेत परिभाषा गरेको छ। त्यसैले डब्लु–एच–ओ भन्छ– स्वस्थ भनेको आफू सुखी हुन चाहिने सबै थोक हुनु हो। रोग नहुनु हो। राम्रो खाना र पानी हुनु हो। राम्रो परिवार र साथीहरू हुनु हो। राम्रो चेतना हुनु हो। माया हुनु हो। सुरक्षित बासस्थान हुनु हो। ज्ञान र समृद्धि हो। फरक–फरक मानिसका लागि यो फरक हुन सक्छ। एकै व्यक्तिका लागि पनि समयअनुसार फरक हुन सक्छ।

स्वास्थ्यका शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक चारवटै पक्ष एकअर्काका परिपूरक हुन्। त्यसमा आध्यात्मिक स्वास्थ्य जोडिनु जरुरी छ जसले ध्यान र प्रज्ञाको माध्यमबाट आन्तरिक शान्ति, प्रेम र खुसी दिन्छ। अरूलाई ध्यान दिनु प्रेम, आफैँलाई प्रेम गर्नु ध्यान हो भने एउटा स्वस्थ व्यक्तिले मात्र यसलाई बुझ्न सक्छ। ध्यान र प्रेमलाई जीवनमा कसरी उतार्ने र सन्तुलनको जीवन बाँच्ने? स्वास्थ्य भन्ने शब्द मानिस जन्मेदेखि मृत्युसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ। स्वास्थ्यका खराब र असल दुवै पक्ष हुन्छन्। असल पक्ष भन्नाले व्यक्ति शारीरिक रूपले तन्दुरुस्त, मानसिक रूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वस्थ आचरण अपनाउनुलाई जनाउँछ। मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिको प्रमुख स्रोत नै असल स्वास्थ्य हो।

असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्न सक्छ। विश्व स्वास्थ्य संगठनका नारा ‘स्वास्थ्य नै धन हो’ ले पनि प्रष्ट गर्दछ। मानिसको सबै भन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो। स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्न सक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ। हरेक मानिसको जीवनमा स्वास्थ्यले ठूलो महत्व राख्छ। स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्छ। त्यसकारण स्वास्थ्य नै धन हो भन्ने कुरामा कसैको पनि दुई मत हुँदैन। कुनै समयमा विभिन्न आपद–विपद्बाट मुक्त अवस्थालाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ। कुनै समयमा दीर्घायु जीवनलाई स्वास्थ्यका रूपमा लिएको पाइन्छ भने कुनै समयमा रोगबाट मुक्त रहेको अवस्थालाई लिइएको पाइन्छ।

यसरी बदलिँदो समय अनुसार स्वास्थ्यको अर्थ फरक–फरकरूपमा आएको देखिए पनि स्वास्थ्यलाई रोगबाट मुक्त भएको अवसरका रूपमा स्वीकार्ने व्यक्तिहरू अहिलेको समयमा पनि धेरै छन्। स्वास्थ्य भन्ने शब्दको विकासात्मक इतिहासलाई केलाएर हेर्दा यसले सम्पूर्णतालाई लक्षित गरेको पाइन्छ। यहाँ सम्पूर्णताको अर्थ एउटा सिङ्गो व्यक्तिलाई लक्षित गरेको पाइन्छ। यसले व्यक्तिको सम्पूर्ण शारीरिक अङ्ग/प्रत्यंगहरूको स्वस्थतालाई निर्देशित गर्दछ अर्थात् व्यक्तिको सम्पूर्णता नै स्वास्थ्य हो।

अङ्ग्रेजी शब्दकोशमा स्वास्थ्यलाई एउटा यस्तो अवस्थाका रूपमा परिभाषित गरिएको छ जसमा व्यक्ति कुन शारीरिक दुरावस्था, रोग र कष्टबाट मुक्त हुन्छ र उसको शरीर, मन र आत्मा पनि स्वच्छ र स्वस्थ हुन्छ। स्वास्थ्य जनशक्ति सामाजिक विकासको एउटा महत्वपूर्ण अङ्ग हो। पर्याप्त सामाजिक विकासको अभावमा स्वस्थ मानिसको पनि अभाव हुन्छ। त्यसैले मानिसको स्वास्थ्य स्थितिमा सुधार गर्न सामाजिक विकासमा जोड दिनुपर्ने हुन्छ। मानव सभ्यताको विकासको प्रक्रिया हेर्ने हो भने स्वास्थ्यलगायतका अन्य मानवीय विकाससँग सम्बन्धित विषयहरूको क्रमिक विकास भएको पाइन्छ। त्यसैले महिलाको स्वास्थ्यलाई महत्वपूर्ण रूपमा हेरिनु त्यत्तिकै जरुरी छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया