जेठ ३०, २०८३ शनिबार June 13, 2026

किन अलोकप्रिय हुँदै छन् सरकार, दल र नेतृत्व ? – गेजा शर्मा वाग्ले

नयाँ हुन् कि पुराना, सत्तारूढ हुन् कि विपक्षी कुनै पनि दल भ्रष्टाचार, कुशासन र काण्डका मामलामा चोखा छैनन् 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विगत केही वर्षदेखि सरकार र मूलधारका राजनीतिक दल तथा शीर्ष नेतृत्व पंक्तिप्रति केही गम्भीर प्रश्नहरू उठ्दै आएका छन् । केवल राजनीतिक मात्रै होइन, न्यायिक, आर्थिक, प्रशासनिक, बौद्धिक, सञ्चारमाध्यमलगायत समाजका सबै संस्था र नेतृत्व पंक्तिप्रति कुनै न कुनै रूपमा प्रश्नहरू उठेका छन् ।

देशमा व्याप्त राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारबारे मूलधारका दल र नेतृत्व पंक्तिले एकअर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् । बौद्धिक समुदाय र सञ्चारजगत्ले सरकार, मूलधारका दल र नेतृत्व पंक्तिको व्यापक आलोचना गर्दै आइरहेका छन् ।

नेताराजको विरुद्धमा तथा सुसंस्कृत लोकतान्त्रिक प्रणालीको पक्षमा नागरिक समाज पनि आन्दोलित भएको छ । यति मात्रै होइन, लोकतन्त्र र संविधानकै असफलता भएको दाबी गर्दै राजावादी र प्रतिगामीहरू राजतन्त्र पुनःस्थापनाको मागसहित सडकमा उत्रिएका छन् । अहिले सडक आन्दोलनमय, सरकार तथा दलहरू अकर्मण्य र जनता अन्योलग्रस्त भएको देखिन्छ ।

यस्ता प्रश्न, बहस र आरोपहरू केही हदसम्म आग्रहपूर्ण, अतिरञ्जित र प्रायोजित पनि छन्, होलान् । तर निराधार छैनन् । राजनीतिलगायत सबै क्षेत्रमा मूलधार कि फरक धार, संस्थापन (स्ट्याब्लिसमेन्ट) कि वैकल्पिक, स्थापित कि नयाँ भन्ने ज्वलन्त बहस चलिरहेको छ । सबै क्षेत्रको मूलधार र संस्थापन पक्ष अहिले सबैभन्दा प्रतिरक्षात्मक भएको छ ।

मूलधार, संस्थापन र स्थापित भनिने तथा ठानिने विचार, दल, संस्था र नेतृत्वहरूका लागि यस्ता प्रश्न र बहस गम्भीर चुनौती हुन् । के प्रचलित बहसजस्तै सरकार तथा मूलधारका दल र नेतृत्व पंक्तिले जनताको विश्वास गुमाएकै हुन् ? उनीहरू अलोकप्रिय भएका हुन् कि असफल ? केवल सरकार र दलको मात्रै होइन, लोकतन्त्र र संविधानको भविष्यका लागि पनि यस्ता जटिल प्रश्नहरूको वस्तुनिष्ठ मीमांसा गरी ठोस निष्कर्षमा पुग्नु अपरिहार्य देखिएको छ ।

संस्थागत क्षयीकरण र उत्तरदायित्वको अभाव

लोकतन्त्र भनेको प्रणाली, संस्था र प्रक्रिया हो । लोकतान्त्रिक संस्थाहरू कार्यमूलक, प्रभावकारी र उत्तरदायी भए पद्धतिको विकास हुन्छ । पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ । लोकतन्त्र भनेको केवल शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो । यदि जीवन पद्धतिका रूपमा सरकार, दल र राज्यका निकायहरूले आत्मसात गर्न नसके लोकतन्त्रमाथि नै प्रश्नचिह्न खडा हुन्छ ।

नेपालको सन्दर्भमा लोकतन्त्रको संस्थागत विकास नहुँदै क्षयीकरण भयो । लोकतान्त्रिक प्रणाली छ, संविधान छ, दलहरू छन्, तीन तहका सरकार पनि छन् । तर लोकतान्त्रिक, संवैधानिक तथा सार्वजनिक संस्था कार्यमूलक पनि छैनन् र सबल, सक्षम र स्वायत्त पनि छैनन् । संघदेखि प्रदेशसम्मको राजनीतिक अस्थीरता र सत्ताको अश्लील खेलले संविधान र संसदीय अभ्यासकै उपहास भएको छ ।

एकातिर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको अन्तरविरोधपूर्ण सम्बन्ध र द्वन्द्वको कारणले अपेक्षाकृत डेलिभरी हुन सकेको छैन भने अर्कोतिर संस्थागत क्षयीकरण हुँदै आएको छ । सरकार, संसद्, राज्यका निकाय र दलहरू उत्तरदायी भएनन् । त्यसैले जनताको विश्वास गुमाउँदै गएका छन् ।

लोकतान्त्रिक गणतन्त्रको प्रतीक संस्था राष्ट्रपति हो । तर संविधानको संरक्षक र पालकसमेत रहेका राष्ट्रपतिले नै एकपछि अर्को विवादित निर्णय गर्दै आएको कारणले यो संस्था पनि विवाद मुक्त रहेन । गणतान्त्रिक संविधानले परिकल्पना गरेको अभिभावकीय, गरिमामय र निष्पक्ष भूमिका निर्वाह गर्न राष्ट्रपति संस्था चुक्दै आएको छ ।

लोकतन्त्र भनेको केवल शासन होइन, सुशासन हो । तर नेपालको सन्दर्भमा कुशासनका रूपमा रूपान्तरित भएको छ । भ्रष्टाचार र कुशासनका काण्डले राजनीतिक, आर्थिक, सामाजिक तथा विकास–निर्माणका क्षेत्रमा हासिल भएका उपलब्धिहरू मात्रै छायामा परेका छैनन्, लोकतान्त्रिक कालखण्ड नै कलंकित भएको छ ।

एकातिर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्ष मनोनित भएको अर्कोतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा प्रवेश गर्न साइत कुरिरहेको समाचारले त राष्ट्रपति संस्थाको औचित्य माथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ । त्यसैले गणतन्त्रको रक्षार्थ पनि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिहरू दलीय राजनीतिमा संलग्न हुन नपाउने गरी अविलम्व संविधान संशोधन गर्नु आवश्यक छ ।

मानव अधिकार र विधिको शासनको प्रत्याभूति गर्ने मानव अधिकार आयोग, निष्पक्ष र भयरहित रूपमा निर्वाचन गर्ने निर्वाचन आयोग, भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक अंगहरू संस्थागत संकटमा परेका छन् । अवाञ्छित दलीय भागबन्डा र विवादित पात्रको नियुक्तिका कारण यस्ता संवैधानिक निकायहरू सरकार र दलका कठपुतलीजस्ता भएका छन् ।

विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयजस्ता स्वायत्त, शैक्षिक र प्राज्ञिक संस्थालाई पनि अति दलीयकरण गरी भर्तीकेन्द्र बनाइएको छ । निजामती प्रशासन र सुरक्षा निकायमा समेत दलीयकरण गरिएको छ । कुनै पनि संवैधानिक तथा प्राज्ञिक संस्थाहरूले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको परिकल्पनाअनुसार स्वायत्त रूपमा कार्यसम्पादन गर्न सकेका छैनन् ।

सरकार, दल र राज्यका निकायहरूलाई खबरदारी गर्ने राज्यको चौथो अंग मानिने सञ्चारमाध्यमका साथै नागरिक समाज र बौद्धिक समुदायको साखसमेत गिर्दै गइरहेको देखिन्छ । लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ?

यस वर्षको नोबेल पुरस्कार विजेता ड्यारोन आसेमोग्लु र जेम्स रविन्सनले ‘ह्वाई नेसन्स फेल’ भन्ने पुस्तकमा लोकतन्त्रलाई कार्यमूलक, प्रभावकारी र जनमूखी बनाउन लोकतान्त्रिक संस्थाहरूको विकास अपरिहार्य भएको विचार व्यक्त गरेका छन् । लोकतन्त्र र आर्थिक विकासका बारेमा गरिएको उनीहरूको अनुसन्धानको निष्कर्ष छ – ‘जुन देशमा राजनीतिक र आर्थिक संस्था सबल, स्वायत्त र कार्यमूलक भए, ती देशमा लोकतन्त्र पनि सफल भयो र आर्थिक विकास पनि भयो । तर जुन देशमा भएनन्, ती देशमा लोकतन्त्र पनि दुर्घटनामा पर्दै आएका छन् र आर्थिक विकास पनि भएन ।’ उदार राजनीतिक र समावेशी आर्थिक संस्थाहरूको विकास गर्न सुझाव दिँदै आसेमोग्लु र रविन्सनले आर्थिक विकासले मात्रै लोकतन्त्रको औचित्य स्थापित हुने निष्कर्ष निकालेका छन् ।

समयको अन्तरालसँगै कुनै प्रणाली वा संस्थाले आफ्नो उद्देश्य, प्रभावकारिता र जनविश्वास गुमाउँदै जाने प्रक्रिया वा अवस्थालाई संस्थागत क्षयीकरण (इन्स्टिट्युसनल डिके) भनिन्छ । लोकतान्त्रिक संस्थाहरूको क्षयीकरणले लोकतन्त्र दुर्घटनामा पर्दै आएको छ ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, कुशासन र अनुत्तरदायी शासनका कारणले विकासशील देशमा भएको संस्थागत क्षयीकरणको बारेमा ‘पोलिटिकल अर्डर एन्ड पोलिटिकल डिके’ पुस्तकमा राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले विस्तृत विश्लेषण गरेका छन् । लोकतान्त्रिक, सबल र सक्षम संस्थाहरूको विकास गरी पारदर्शी र जवाफदेही रूपमा राज्य सञ्चालन गरे त्यस्तो क्षयीकरण नियन्त्रण गर्न सकिने विचार फुकुयामाले व्यक्त गरेका छन् ।

भ्रष्टाचार, कुशासन र डेलिभरीको अभाव

चौथो औद्योगिक क्रान्तिको युगमा जति तीव्र गतिमा विज्ञान र प्रविधिको विकास भएको छ, त्यही गतिमा राज्य र सरकारप्रति जनताको विशेषगरी युवा पुस्ता र मध्यम वर्गको अपेक्षा पनि बढ्दै गइरहेको छ । समुन्नति, विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, समतामूलक समाज जनताका नैसर्गिक अपेक्षा भएका छन् । तर अपेक्षाको सापेक्षतामा सरकार र दलले डेलिभरी गर्न सकेनन् ।

निर्वाचनको बेला तथा प्रतिपक्षमा हुँदा दल र नेताहरूले सपनाको व्यापार गर्छन् । तर सत्तामा पुगेपछि डेलिभरी गर्दैनन् । डेलिभरी कुनै पनि सरकार र दलको प्राथमिकता छैन । त्यसैले सरकार, दल र नेतृत्वप्रति मात्रै होइन, लोकतन्त्र र संविधानका बारेमा समेत प्रश्न उठ्न थालेको छ । प्रतिपक्षी दलको होस् कि सरकारविरोधी, राजावादीको होस् कि लोकतन्त्रविरोधी, सबैको जुलुसमा ‘उल्लेखनीय’ जनसहभागिता देखिन्छ । तर कसैलाई भ्रम नहोस्, जनता लोकतान्त्रिक गणतन्त्र र संविधानको विरुद्धमा भएर होइन, सरकार, दल र नेताहरूप्रतिको जनआक्रोश सडकमा विस्फोट भएको मात्रै हो ।

सुशासन, भ्रष्टाचार नियन्त्रण र डेलिभरीसम्बन्धी सूचकांकहरू अत्यन्त निराशाजनक छन् । समाजमा जरा गाडेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन प्रत्याभूत गर्न सरकार र दलहरू असफल भएको निष्कर्ष दुःखद् भए पनि वास्तविकता यही नै हो । जनचाहनाअनुसार भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रत्याभूत गर्नुको सट्टा भ्रष्टाचार र कुशासनका नयाँ–नयाँ कीर्तिमान खडा भएपछि सरकार र दलप्रति जनतामा ठूलो आक्रोश, असन्तुष्टि र वितृष्णा सिर्जना भएका छन् ।

नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, ललिता निवास, ओम्नी, यती, सेक्युरिटी प्रेस, वाइडवडी जहाजलगायतका कुशासन र भ्रष्टाचारका बहुचर्चित काण्डबारे अनुसन्धान गरी अभिलेखीकरण गर्ने हो भने महाकाव्य नै तयार हुन्छ । नयाँ हुन् कि पुराना, सत्तारूढ हुन् कि विपक्षी कुनै पनि दल भ्रष्टाचार, कुशासन र काण्डका मामलामा चोखा छैनन् ।

वास्तवमा सरकार, दल र नेताहरू नै भ्रष्टाचार, कुशासन र काण्डका पर्यायवाची भएका छन् । आर्थिक मामलासँग सम्बन्धित सरकारका महत्त्वपूर्ण निर्णय र नियुक्तिमा बिचौलिया, कमिसनखोर र भ्रष्टहरू हाबी भएको स्वयं सत्तारूढ तथा विपक्षी दलका जिम्मेवार नेताहरूले सार्वजनिक रूपमा नै आरोप लगाइरहेका छन् । लोकतन्त्र भनेको केवल शासन होइन, सुशासन हो । तर नेपालको सन्दर्भमा कुशासनका रूपमा रूपान्तरित भएको छ । भ्रष्टाचार र कुशासनका यस्तै काण्डले राजनीतिक, आर्थिक, सामाजिक तथा विकास–निर्माणका क्षेत्रमा हासिल भएका उपलब्धिहरू मात्रै छायामा परेका छैनन्, लोकतान्त्रिक कालखण्ड नै कलंकित भएको छ ।

असफल र अलोकप्रिय नेतृत्व

२०४६ मा लोकतन्त्र स्थापना भएपछि कांग्रेस, एमाले तथा २०६३ मा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि माओवादीप्रति जनताको अपेक्षा उच्च थियो । जनताको आशा र विश्वासको कारणले कांग्रेस, एमाले, माओवादी पटक–पटक सरकारमा पनि पुगे र शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल पटक–पटक प्रधानमन्त्री पनि भए । देउवा पाँच पटक प्रधानमन्त्री भइसके ।

छैटौं पटक प्रधानमन्त्री हुन व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । ओलीको यो चौथो कार्यकाल हो । तर उनले अझै १०–१५ वर्ष सक्रिय राजनीति गर्ने घोषणा गरेर कार्यकारी भूमिकामा रहने तृष्णा कायमै राखेको देखिन्छ । तीन पटक प्रधानमन्त्री भइसकेका दाहाल चौथो पटक हुने आकांक्षासहित कहिले कांग्रेस त कहिले एमालेलाई निरन्तर सत्ताको मायावी इन्द्रजाल फाल्दै आइरहेका छन् ।

यस्तो परिदृश्य देखिन्छ कि, राजनीति भनेकै देउवा, ओली र प्रचण्डको सत्ताको खेलको ‘म्युजिकल चेयर’ हो, तीन जना नेताको सिन्डिकेट हो । लोकतान्त्रिक र संसदीय अभ्यासको नाममा सत्ता र सिन्डिकेटको योभन्दा भद्दा संस्करण अरू के हुन सक्छ ?

पटक–पटक अवसर पाएर पनि कांग्रेस, एमाले, माओवादीलगायतका दलहरू तथा देउवा, ओली र दाहाललगायतका शीर्ष नेताहरूले डेलिभरी गर्न नसकेपछि असफल भइसकेका छन् । यस्तो असफलताका कारणले उनीहरू अलोकप्रिय भएका छन् । जनता र कार्यकर्ताले यसरी पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेको असफल र अलोकप्रिय नेतृत्वको विकल्प खोजेका छन् । यस्तो नेतृत्वबाट मुक्ति नपाउँदासम्म ती दलले पुनर्जीवन पाउने सम्भावना छैन ।

कुलीनतन्त्र र सम्भ्रान्त वर्गविरुद्धको विद्रोह

राज्यसत्ता वर्षौंदेखि कब्जा गरी निरन्तर रजगज तथा असीमित दोहन गर्दै आएका संस्थापन, मूलधार र स्थापित भनिने राजनीतिक शासक वर्ग, कुलीनतन्त्र (ओलिगार्की) र सम्भ्रान्त वर्ग (एलिट क्लास) विरुद्धमा जनता भएको देखिन्छ । यसैगरी मूलधारका पत्रिका, टेलिभिजन, डिजिटल पत्रिका, सम्पादक, विश्लेषक, स्तम्भकार, पत्रकार तथा प्रकाशकहरूका बारेमा समेत सशक्त नकारात्मक भाष्य सिर्जना भएको वा गरिएको छ । पत्रकारिताका सन्दर्भमा रवि लामिछानेको ‘१२ भाइ’ को संज्ञा समकालीन बहसको बहुचर्चित नकारात्मक विम्ब भएको छ ।

आफ्नो विरुद्धमा भए मूलधारका प्रकाशन तथा प्रसारण संस्थाबाट प्रकाशित तथा प्रसारित आलोचनात्मक र विश्लेषणात्मक सामग्रीलाई ‘१२ भाइ’ को आरोप लगाएर सिधै अस्वीकार गरी सामाजिक सञ्जालमार्फत बदनाम गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । यति मात्रै होइन, न्यायालयको फैसला प्रतिकूल भए न्यायालय र न्यायाधीशलाई नै गर्ने चरित्र हत्या गर्ने दुर्भाग्यपूर्ण प्रवृत्तिसमेत बढ्दै गइरहेको छ । बौद्धिक समुदाय, नागरिक समाज, मानव अधिकारकर्मीहरूमाथि समेत प्रश्नहरू उठिरहेका छन् । समाजमा यस्तो कुनै वर्ग, तह, तप्का र समुदाय छैन, जसका बारेमा प्रश्न नउठेको होस् ।

२०७९ को स्थानीय निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ, गोपी हमाललगायतका स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका थिए । यसैगरी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले, माओवादीको अलोकप्रिय र यथास्थितिवादी नेतृत्वको विरुद्धमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेका थिए । वास्तवमा यी घटनाक्रम विकल्पको खोजी थियो, कुलीन, सम्भ्रान्त र अभिजात वर्गविरुद्ध जनताको ब्यालेट विद्रोह थियो । मूलधारकै दलमा पनि बहालवाला नेतृत्वको विपक्षमा तथा इतर र वैकल्पिक नेतृत्वको पक्षमा जनसमर्थन देखिन्छ ।

जनतामा आलोचनात्मक चेतको विकास भएको कारणले यस्तो ‘क्रिटिकल’ जनमत सिर्जना हुनु स्वाभाविक हो । तर मूलधारका दल र शीर्ष नेतृत्व पंक्तिले यो वास्तविकता स्वीकार गर्न सकेका छैनन् । त्यसैले राजनीतिक, न्यायिक, प्रशासनिक, बौद्धिक, नागरिक समाज तथा सञ्चारजगत्लगायत सबै क्षेत्रका सम्भ्रान्त वर्गले यसबारे गम्भीर रूपमा आत्मसमीक्षा र आत्मनिरीक्षण गरी आफूलाई सुधार र रूपान्तरण गर्नुपर्छ । होइन भने, जनताको विश्वास पुनःस्थापित हुने सम्भावना छैन ।

तर सुशासन र भ्रष्टाचार नियन्त्रणको मन्त्र जपेर स्थापना भएको दलका सभापति नै सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा परेपछि रास्वपा जुन गतिमा उत्थान भएको थियो, त्यही गतिमा अवसान हुँदै छ । बालेन, हर्क, गोपीहरू पनि विवाद, अपारदर्शिता र अलोकतान्त्रिक चरित्रका पर्यायवाची भएपछि नयाँ र ‘वैकल्पिक’ भनिनेहरूप्रति पनि जनताको वितृष्णा सिर्जना भइसकेको छ । तर नयाँ र वैकल्पिक भनिने पार्टी, पात्र र प्रवृत्तिहरूको असफलता नै मूलधारका दल र नेतृत्वको सफलता वा अनुमोदन होइन र हुन सक्दैन । यदि मूलधारका दल र नेतृत्व पंक्तिले यस्तो वास्तविकता स्वीकार गरेनन् भने निकट भविष्यमा अर्को दुर्घटना हुनेछ ।

सामाजिक सञ्जालको नकारात्मक भाष्य

मूलधारका सञ्चारमाध्यमका साथै फेसबुक, एक्स, युट्युब, इन्स्टाग्राम, टिकटकजस्ता वैकल्पिक मिडिया, डिजिटल प्ल्याटफर्म र सामाजिक सञ्जालले यस्ता सबै विकृति–विसंगतिको भण्डाफोर गर्दै आएका छन् । यस्ता मुद्दामा मूलधारका सञ्चारमाध्यमभन्दा पनि वैकल्पिक मिडियाले प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ ।

सूचना प्रविधि, डिजिटल मिडिया र सामाजिक सञ्जालको विकासले सर्वसाधारण जनतामा समेत सूचना, ज्ञान र विश्लेषणमा पहुँच स्थापित भएको छ भने सार्वजनिक विमर्शको आयाममा मौलिक परिवर्तन आएको छ । सर्वसाधारण र विदेशमा रहेका जनताको पहुँच, सक्रियता र विश्वास पनि वैकल्पिक मिडिया र सामाजिक सञ्जालमा भएको देखिन्छ । वैकल्पिक मिडिया र सामाजिक सञ्जालले नागरिक पत्रकारिता मात्रै विकसित भएको छैन, नागरिक अधिकार र आवाजलाई पनि सशक्तीकरण गरेको छ ।

तर वैकल्पिक भाष्य निर्माण गर्ने नाममा पपुलिजम, उग्रराष्ट्रवाद, अनुदारवादलाई प्रोत्साहित गरेको निष्कर्ष युनेस्कोलगायत वैकल्पिक मिडियासम्बन्धी अध्ययन–अनुसन्धान गर्ने संस्थाहरूले निकालेका छन् । विशेषगरी डिजिटल प्ल्याटफर्म र सामाजिक सञ्जाल पपुलिस्ट, अनुदारवादी र अतिवादी प्रोपगान्डा मेसिन भएको संज्ञा दिँदै मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, घृणा, असहिष्णुता फैलाउने अस्त्र भएको निष्कर्ष निकालेका छन् ।

तथ्य र तथ्यांकका आधारमा सिद्धान्त, विचार, नीतिमाथि बहस र विमर्श बहस गरिँदैन, केवल मिथ्यांकका आधारमा अतिरञ्जत र अस्वस्थ आरोप–प्रत्यारोप गरिन्छ । जसले चर्को स्वरमा निन्दा र भर्त्सना गर्‍यो, त्यही क्रान्तिकारी भन्ने भ्रामक भाष्य स्थापित हुँदै गएको देखिन्छ । निराशाका व्यापारीहरू डिजिटल प्ल्याटफर्म र सामाजिक सञ्जालमा हाबी हुँदै गएका छन् । अतिरञ्जित, असहिष्णु र विषाक्त प्रोपोगान्डालाई लोकप्रिय भाष्यका रूपमा परिभाषित र आत्मसात गर्ने दुर्भाग्यपूर्ण प्रवृत्ति बढ्दै गइरहेको छ ।

मूलधार, मध्यमार्ग र उदार मूल्य–मान्यतामाथि आक्रमण गरी ‘लोकप्रिय’ र ‘नायक’ हुने पपुलिस्ट तथा स्टन्टवादी प्रवृत्ति हाबी भएको देखिन्छ । कुनै विचार, सिद्धान्त, दल वा पात्रलाई देवत्वकरण कि दानवीकरण पर्ने अतिवादी प्रवृत्ति बढ्दै गइरहेको छ । असत्य पनि हजार पटक भन्यो भने सत्यको रूपमा स्थापित गर्न सकिन्छ भन्ने प्रोपगान्डा सिद्धान्तका प्रणेता हिटलरका प्रचारमन्त्री जोसेफ गोयवल्सका एकपछि अर्को नयाँ–नयाँ मानसपुत्रहरू उदाएका छन् ।

मिडिया साक्षरता कमजोर रहेको हाम्रो जस्तो देशमा भ्रामक र मिथ्या सूचना फैलाएर समाजलाई दिग्भ्रमित पारी राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्रका रूपमा दुरुपयोग गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स, फेक न्युज, डिप फेक, अल्गोरिदमका कारणले यस्तो प्रवृत्तिलाई थप मलजल गरिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत सिर्जना भएको पपुलिजम र अनुदारवादको घातक लहरको नियन्त्रण आजको प्रमुख चुनौती भएको छ ।

निष्कर्ष

संसद्का दुई ठूला दल कांग्रेस–एमालेको ‘बलियो’ सरकारले पनि अपेक्षाकृत डेलिभरी गरी आशाको सन्देश दिन नसकेपछि जनतामा थप निराशा सिर्जना भएको छ । यो निराशाले लोकतन्त्र र संविधानप्रतिको विश्वास कति खण्डित होला ? निकट भविष्यमा देखिएला । तर सरकार र दल र नेतृत्वप्रतिको विश्वास थप खण्डित भई उनीहरूको भविष्य र औचित्यका बारेमा नै यक्षप्रश्न खडा हुने निश्चित छ । फुकुयामा, आसेमोग्लु र रविन्सनका विचार, निष्कर्ष र सुझाव नेपालका लागि अत्यन्त मननीय र अनुकरणीय छन् । के सरकार, दल र नेतृत्वपंक्तिले उक्त वास्तविकतालाई आत्मसात गर्लान् ? कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार