असार २६, २०८३ शुक्रबार July 10, 2026

संविधान संशोधनका कार्यसूची : कृष्णहरी बाँस्कोटा

न्यायाधीश, संवैधानिक अङ्गका पदाधिकारी, राजदूत, सचिवलगायतका उच्च पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्नु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले पङ्क्तिकारसहित पूर्वराष्ट्रसेवकलाई छलफलका लागि आमन्त्रण गरेको थियो । छलफलमा संविधानमा २५ जना मन्त्री रहने व्यवस्था रहेकोतर्फ ध्यानाकर्षण गराइएको थियो, यद्यपि मन्त्रीपरिषद्ले मन्त्रालयको सङ्ख्या १७ निर्धारण गरिसकेको छ । जापानमा १२ वटा मन्त्रालय छन् । अमेरिकामा साबिकमा ११ वटा मन्त्रालय रहेकोमा हाल १५ वटा कायम छन् । हाम्रो मन्त्रीको आकार पनि सीमित गरी मन्त्रालयगत सेवा, समूह कायम गर्न पाए पेसागत विज्ञता विकास हुनुका साथै अन्तरमन्त्रालय सरुवाको समस्या पनि स्वतः समाप्त हुने थियो । प्रदेशमा पनि अधिकतम सात वटा मन्त्रालय रहने तथा स्थानीय तहमा पनि अधिकतम पाँच वटा क्षेत्रमा मात्रै बजेट विनियोजन हुने वर्तमान प्रणालीलाई नै निरन्तरता दिनु बुद्धिमानी हुने छ ।

संविधान घोषणा गर्दा केही असहज स्थिति थियो । त्यसका कारण तीन तहका सरकारको अधिकार विभाजन गर्ने अनुसूची ५ देखि ९ सम्ममा एउटै कार्यक्षेत्र एकभन्दा बढी तहका सरकारको कोर्टमा परेको छ । संविधान संशोधन गर्दा तीन तहका सरकारको अधिकार सूचीमा भरसक एउटै अधिकार एकभन्दा बढी स्थानमा नराख्ने गरी सजगता अपनाउनु पर्छ । साझा अधिकारको सूची पनि छोटो बनाउनु पर्छ । तिनै तहका सरकारको अधिकारक्षेत्रलाई स्पष्टताका लागि एकल अधिकारको सूचीलाई लामो बनाउनु उपयुक्त हुने छ । यसले तीन तहका सरकारबिचको अधिकारक्षेत्रको विवाद न्यून गर्न सघाउ पु¥याई आपसी सहकार्य, समन्वय र सहअस्तित्वको दायरालाई फराकिलो तुल्याउन मद्दत गर्ने छ ।

हाल प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ जना र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । यसमा अनिवार्य रूपमा सुधार गर्नु पर्छ; जसअनुसार १६५ जनाभित्रै हालको समानुपातिक ‘क्लस्टर’ अनुसार गोलाप्रथाद्वारा प्रत्यक्ष निर्वाचन गराउनु पर्छ । यसबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचितबिचको विभेद अन्त्य हुने छ । प्रतिनिधि सभा पनि चुस्त, दुरुस्त र छरितो हुने छ । यही अनुपातमा राष्ट्रिय सभा र प्रदेश सभाको सङ्ख्या पनि घटाउनु पर्छ । वडा सदस्यको सङ्ख्या पनि चारबाट दुई जनामा झार्न सकिन्छ । यसरी अनावश्यक रूपमा भद्दा देखिएको निर्वाचित जनप्रतिनिधिको संस्थालाई छरितो तुल्याउन प्राप्त अवसरलाई उपयोग गर्नु पर्छ ।

मुलुकले बहुदलीय व्यवस्था अवलम्बन गरेको छ । राष्ट्रिय सभामा समाजका विविध क्षेत्रबाट दलगत आधारमै राष्ट्रिय सभाका सदस्य निर्वाचित हुने हो । यसका लागि स्पष्ट मापदण्ड संविधानमै लेखिनु पर्छ; जस अनुसार आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरी सार्वजनिक ख्याति हासिल गरेको हुनु पर्छ । दलभित्रै आन्तरिक निर्वाचनलगायतका प्रक्रियाबाट सर्वसम्मत र अब्बल देखिनु पर्छ । उच्च शैक्षिक योग्यता भएको, उच्च नैतिकता र त्यागको धरोहर भएको, अन्तर्राष्ट्रिय छवि निर्माण गरेको, निजको नाम प्रस्ताव गर्दा पार्टीकै सार्वजनिक छवि माथि उठ्ने व्यक्ति राष्ट्रिय सभामा निर्वाचित हुनु पर्छ । पार्टी कार्यकर्ताको भर्तीकेन्द्र बनाउन, पार्टीमा कतै स्थान नपाएकालाई फकाउन, थन्क्याउन वा निर्वाचनमा पराजितलाई व्यवस्थापन गर्ने दुष्प्रयासले निरन्तरता पाउने हो भने एक सदनात्मक प्रतिनिधि सभाकै व्यवस्था गर्दा हुन्छ ।

हाल स्थानीय तहका प्रमुख र उपप्रमुख लगातार दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ । यसलाई प्रधानमन्त्री, मन्त्री, सांसद, वडाध्यक्ष, वडा सदस्यलगायत सबैमा समान रूपमा लागु गर्नु पर्छ । यो नै प्राकृतिक न्यायको सिद्धान्त हो । एउटै व्यक्तिले १० वर्षभन्दा बढी अवसर पाउनु भनेको अर्काको अवसर खोस्नु हो । सरकारले सङ्घीय निजामती सेवा विधयेकको मसौदामा हाल पाँच वर्ष सेवा अवधि रहने सचिवको पदावधि दुई वर्षमा झार्ने प्रस्ताव गरेको छ । यही निर्ममता राजनीतिक क्षेत्रमा पनि लागु गर्दा मात्रै आर्जित ख्यातिले उचाइ पाउने छ । अन्यथा प्रतिशोध र पूर्वाग्रहबाट माथि उठ्न नसकेको आरोप खेप्नुपर्ने छ ।

सङ्घीय शासनप्रणालीले सङ्घीय सरकार, सात वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकार स्थापना गरेको छ । यसमा ७७ वटा जिल्ला समन्वय समिति पनि जोड्दा ८३० वटा सरकार कायम छन् । यिनको सङ्ख्या घटाउनै पर्छ । एउटा सङ्घीय सरकार निर्विकल्प छ । नेपालको भूभाग र जनसङ्ख्या मनन गर्दा तीन वटा प्रदेश भए पुग्छ । स्थानीय तहको सङ्ख्या तीन सयमा झार्नु पर्छ । सिंहदरबार घरआँगनमैै आएको आभास दिन मुलुकभित्र करिब सात हजारको सट्टा १५ हजार वटा वडा कार्यालय खडा गर्नु पर्छ । वडा कार्यालयलाई अधिकार, जनशक्ति र साधनस्रोत थप गर्नु पर्छ । यसबाट एकातिर प्रशासनिक खर्च घट्छ भने अर्कातिर धेरै सङ्ख्यामा संस्था र पदाधिकारीका कारण उब्जिएको वैमनस्यमा कमी आउने छ । जिल्ला समन्वय समितिलाई पालिकाहरूको नियमन गर्न सक्ने अधिकार दिनु पर्छ । यसो गर्दा कानुन निर्माणमा एकरूपता, राजस्वको दर निर्धारणमा समन्वय, शिक्षा र स्वास्थ्य सेवालाई अन्तरपालिकासम्म विस्तार गर्न र विकासनिर्माणको काममा गुणस्तर कायम गर्न सघाउ पुग्ने छ ।

बोलीचालीको भाषामा बागमतीमा धेरै पानी बगिसक्यो भनिन्छ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका विविध पक्ष र विधामा आमूल परिवर्तन आएको छ । आममानिस शैक्षिक रूपमा पनि उच्च शिक्षा हासिल गर्न सक्षम भएका छन् । अब पनि जनतामा भिजेको मानिस निरक्षर पनि हुन सक्छ भन्ने काल्पनिक कोरा आदर्शबाट माथि उठ्नु पर्छ । सबै निर्वाचित पदाधिकारीका लागि शैक्षिक योग्यता तोक्नु पर्छ; जस अनुसार वडा सदस्य हुन कम्तीमा एसइई पास हुनु पर्छ । सोभन्दा माथि वडाध्यक्षलगायतमा स्नातक र स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता राख्नु पर्छ ।

न्यायाधीश, संवैधानिक अङ्गका पदाधिकारी, राजदूत, सचिवलगायतका उच्च पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्नु पर्छ । यसका लागि क्षेत्रगत रूपमा नेतृत्व पहिचान केन्द्र वा सर्च कमिटी गठन गर्नु पर्छ । यसमा समाजमा विशेष पहिचान निर्माण गरेका लब्धप्रतिष्ठित व्यक्ति रहनु पर्छ । उनीहरूले सार्वजनिक सूचनाबाट प्राप्त भएको नामावली र त्यो पदका लागि उपयुक्त व्यक्ति रहेको ‘सर्टलिस्ट’ तयार गर्नु पर्छ । यही सूचीकृत नामावलीबाट सरकारले उपयुक्त ढङ्गले प्रतिस्पर्धा गराई न्यायाधीश, राजदूत, संवैधानिक अङ्गका पदाधिकारी वा सचिवमा नियुक्ति गर्नु पर्छ । यस्तो सूची प्रत्येक वर्ष वा प्रत्येक छ महिनामा ‘अपडेट’ गर्ने प्रणाली बन्नु पर्छ । यसरी निर्माण भएको ‘सर्टलिस्ट’ सार्वजनिक गर्दा स्वतः सार्वजनिक सुनुवाइ भई सरकारलाई उपयुक्त व्यक्ति नियुक्ति गर्न सहयोग पुग्ने छ । ‘राइट म्यान राइट प्लेस’ बाटै मुलुकले अपेक्षित विकास र सुधारको मार्ग पहिचान गर्ने छ ।

नेपाल सरकारले वैशाख १ देखि चैत मसान्तसम्मका लागि आर्थिक वर्ष तोक्नु पर्छ । यो नै सर्वाधिक उपयुक्त आव हुने छ । यसका लागि सरकारले एक पटक नौ महिनाको बजेट जारी गर्नु पर्छ । यसै अनुरूप निजी क्षेत्रलगायतले हिसाबकिताब राख्नुअघि पूर्वजानकारी दिनु पर्छ । हाल सङ्घीय सरकारको बजेट जेठ १५ गते जारी गर्ने कुरा संविधानमा लेखिएको छ । यसको सट्टा स्थानीय सरकारको बजेट जेठ १५ गते, प्रदेश सरकारको असार १ गते र सङ्घीय सरकारको बजेट असार १५ गते जारी हुने व्यवस्था गर्दा उपयुक्त हुने छ । स्थानीय तह र प्रदेश सरकारको बजेटको आधार सो सरकारको राजस्व असुलीले निर्धारण गर्ने कानुनी व्यवस्था गर्नु पर्छ । यसबाट हरेक सरकार आफ्नो आन्तरिक राजस्वका बलमा आत्मनिर्भरतातर्फ उन्मुख हुने छन् ।

नेपालको संविधानमा सङ्घीय निजामती कर्मचारी, प्रदेश र स्थानीय सेवाका कर्मचारी रहने व्यवस्था छ । वर्तमान सरकारले तयार गरेको निजामती सेवा ऐनको मसौदामा हालका लागि सङ्घीय सरकारबाटै प्रदेशमा प्रमुख सचिव र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था प्रस्तावित छ । लेखातर्फका कर्मचारी केन्द्रबाटै खटिएका छन् । सूचना प्रविधिका कर्मचारीले राष्ट्रियस्तरको सफ्टवेयरमा आबद्ध भएरै काम गरिरहेका छन् । पञ्जीकरणको सफ्टवेयर, राष्ट्रिय परिचयपत्रको ‘पोर्टल’, ‘सूत्र’ नामक लेखापालनको सफ्टवेयर आदि हुन् । आमनिजामती कर्मचारीले अदालत, सेना, प्रहरी सरह तिनै तहको सरकारमा पदस्थापन, सरुवा, बढुवा हुन मिल्ने एकीकृत कर्मचारी सङ्गठनको अपेक्षा गरेका छन् । प्रदेश सरकार र स्थानीय सरकारले संविधानमा व्यवस्था भएकाले मात्रै आफ्नै कर्मचारीको कुरा गरेका हुन् । आखिर प्रदेश सरकार र स्थानीय सरकारले कर्मचारीका हकमा राजनीतिक नियुक्ति गर्न पाउने होइन । सबै कर्मचारी प्रदेश लोक सेवा आयोगबाटै नियुक्त हुने हुन् । संविधानमा रहेका यससम्बन्धी सबै प्रावधान हटाई एकीकृत निजामती सेवाको व्यवस्था गर्नु पर्छ । प्रदेश लोक सेवा आयोग खारेज गर्नु पर्छ । यसले निजामती प्रशासन दह्रो हुन्छ । तिनै तहका सरकारका लागि निजामती कर्मचारी सहयोगी र उपयोगी बन्ने छन् ।

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्ताव धेरैको हो । यसलाई अबको संविधान संशोधनले साकार रूप दिनु पर्छ । प्रधानमन्त्री, सभामुख र विपक्षी दलको नेता रहने गरी संवैधानिक परिषद् तीन सदस्यीय बनाउनु पर्छ । प्रतिनिधि सभामा कुनै पनि विधेयक टेबुल भएपछि प्रतिनिधि सभाबाट सात दिनमा र राष्ट्रिय सभाबाट सात दिनमा अन्तिम निकास दिनुपर्ने प्रबन्ध गर्नु पर्छ । यसले अध्यादेशमार्फत कानुन जारी गर्नुपर्ने बाध्यतालाई विश्राम दिने छ । हाल संविधानमा व्यवस्था गरिएका संवैधानिक आयोगको सङ्ख्या घटाई तिनमा रहने पदाधिकारीको सङ्ख्या पनि तीन जनामा सीमित गर्न सकिन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घातक आँधीपछि चीनमा टाइफुनको खतराप्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
२०८३ असार २६, शुक्रबार
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो: प्रधानमन्त्री
२०८३ असार २६, शुक्रबार
अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
२०८३ असार २६, शुक्रबार
उपसभामुख– उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ असार २६, शुक्रबार
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
२०८३ असार २६, शुक्रबार
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
२०८३ असार २६, शुक्रबार
अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी
२०८३ असार २६, शुक्रबार