श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

लोकतन्त्रको आत्मा : डा. शोभाकर पराजुली

आज हामीले संस्थालाई बलियो बनायौं भने भोलिको लोकतन्त्र बलियो हुनेछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लोकतन्त्रको चर्चा गर्दा हाम्रो ध्यान प्रायः निर्वाचन, संसद्, दल, सरकार र सत्ता परिवर्तनतर्फ जान्छ। यी सबै लोकतन्त्रका आवश्यक अंग हुन् तर लोकतन्त्र यिनै अंगहरूको समष्टि मात्र होइन। शरीरलाई जीवन्त राख्ने आत्माजस्तै लोकतान्त्रिक व्यवस्थालाई जीवन्त, गतिशील र अर्थपूर्ण बनाउने एउटा अदृश्य शक्ति हुन्छ। त्यो शक्ति हो–नागरिक चेतना, नैतिक राजनीतिक नेतृत्व, विधिको शासन, उत्तरदायित्व, न्याय, सहिष्णुता र लोककल्याणको भावना। जहाँ यी मूल्यहरू कमजोर हुन्छन्, त्यहाँ लोकतन्त्रको बाहिरी संरचना कायम रहे पनि त्यसको अन्तरात्मा क्रमशः कमजोर हुँदै जान सक्छ। नेपालले लोकतन्त्रका लागि लामो राजनीतिक यात्रा तय गरेको छ। विभिन्न कालखण्डमा नेपाली जनताले स्वतन्त्रता, अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका लागि संघर्ष गरे। ती संघर्षका उपलब्धिहरूले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण गरेका छन्। तर इतिहासले एउटा महत्त्वपूर्ण प्रश्न पनि हाम्रो सामु राखेको छ– राजनीतिक व्यवस्था परिवर्तन भएपछि नागरिकको जीवनमा कति परिवर्तन आयो ? राज्यप्रतिको विश्वास कति बढ्यो ? सार्वजनिक सेवा कति सहज भयो ? न्याय कति सुलभ भयो ? युवाले आफ्नो भविष्य नेपालमै देख्न थाले कि थालेनन् ? लोकतन्त्रको वास्तविक मूल्यांकन यिनै प्रश्नको उत्तरमा हुन्छ।

सरकारको सफलता सत्तामा बसेकाहरूको सुविधा वा राजनीतिक शक्तिबाट होइन, नागरिकको सुख, सुरक्षा, अवसर र समृद्धिबाट मापन हुनुपर्छ। यो विचार नेपालको लोकतान्त्रिक राजनीतिका लागि अत्यन्त महत्त्वपूर्ण छ। सत्ता आफैंमा लक्ष्य होइन। सत्ता जनताको सेवा गर्ने साधन हो। जनताले दिएको मत कुनै व्यक्तिलाई स्थायी अधिकारपत्र होइन, त्यो निश्चित अवधिका लागि दिएको सार्वजनिक विश्वास हो। त्यसैले निर्वाचित नेतृत्वले आफूलाई शासकभन्दा बढी जनसेवकका रूपमा बुझ्नुपर्छ। जनादेशले अधिकार दिन्छ तर त्यही जनादेशले उत्तरदायित्व पनि जन्माउँछ। राजनीतिक नेतृत्वको चरित्र कमजोर भयो भने संस्थाहरू पनि कमजोर हुन सक्छन्। राजनीतिमा लोभ, अहंकार, प्रतिशोध, स्वार्थ र अवसरवाद हावी हुँदा लोकतन्त्रको संस्कार क्षीण हुन्छ। त्यसको विपरीत सत्यनिष्ठा, संयम, संवाद, दूरदृष्टि र उत्तरदायित्वले लोकतन्त्रलाई बलियो बनाउँछ। त्यसैले नेपालको राजनीतिक बहसमा अब केवल कसले नेतृत्व गर्ने ? भन्ने प्रश्न पर्याप्त छैन। कस्तो चरित्र भएको नेतृत्व आवश्यक छ ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

राज्यचिन्तनको अर्को महत्त्वपूर्ण पक्ष हो– राज्यको आर्थिक आधार। बलियो अर्थतन्त्रबिना बलियो राज्य सम्भव हुँदैन। आधुनिक लोकतन्त्रमा पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। बेरोजगारी, गरिबी, असमानता र अवसरको अभावले नागरिकमा निराशा जन्माउँछ। निरास नागरिकले लोकतान्त्रिक संस्थामाथि पनि प्रश्न उठाउन सक्छ। नेपालको लोकतन्त्रलाई दिगो बनाउन राजनीतिक अधिकारसँगै आर्थिक अवसर विस्तार गर्नुपर्छ। जलविद्युत्, पर्यटन, कृषि, उद्योग, सूचना प्रविधि, डिजिटल सेवा, उद्यमशीलता र ज्ञानमा आधारित अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतासँग जोड्नुपर्छ। युवालाई रोजगारी र उद्यमको अवसर सिर्जना गर्न नसक्ने राजनीति लामो समयसम्म जनविश्वास कायम राख्न कठिन हुन्छ। लोकतन्त्रको सफलता संसद्को बहसमा मात्र होइन, युवाले आफ्नो भविष्य कहाँ देख्छ भन्ने प्रश्नमा पनि निर्भर हुन्छ।

सूचना प्रविधिको विकाससँगै अर्को चुनौती पनि आएको छ– असत्य सूचनाको तीव्र प्रसार। सामाजिक सञ्जालले प्रत्येक नागरिकलाई अभिव्यक्तिको मञ्च दिएको छ। यो लोकतन्त्रका लागि ठुलो उपलब्धि हो। तर यही माध्यमबाट गलत सूचना, भ्रम, घृणा र कृत्रिम रूपमा सिर्जित सामग्री पनि फैलिन सक्छ। त्यसैले आगामी लोकतन्त्रमा डिजिटल स्वतन्त्रतासँगै डिजिटल उत्तरदायित्व आवश्यक हुनेछ। नागरिकले सूचना पाउने अधिकारसँगै सूचना सत्य हो कि होइन भन्ने विवेक पनि विकास गर्नुपर्छ। प्रविधिले मानव विवेकलाई विस्थापित गर्न हुँदैन। नागरिकको गोपनीयता, मौलिक अधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रविधिको प्रयोग गर्नुपर्छ। भविष्यको लोकतन्त्रमा प्रविधि शक्तिशाली हुनेछ, तर चेतना अझ शक्तिशाली हुनुपर्नेछ।

लोकतन्त्रको अर्को आत्मिक पक्ष असहमतिप्रतिको सम्मान हो। लोकतन्त्रमा सबैले एउटै विचार राख्नुपर्छ भन्ने हुँदैन। बरु फरक विचारलाई सुरक्षित रूपमा व्यक्त गर्न सकिने वातावरण लोकतन्त्रको पहिचान हो। बहुमतले सरकार बनाउन सक्छ, तर अल्पमतको आवाज समाप्त गर्न सक्दैन। सत्तापक्ष र प्रतिपक्षबिच प्रतिस्पर्धा आवश्यक छ तर त्यो प्रतिस्पर्धा राष्ट्रिय हितभन्दा माथि जानु हुँदैन। राजनीतिक असहमति शत्रुता होइन। आलोचना राष्ट्रविरोध होइन। प्रश्न गर्नु अराजकता होइन। लोकतन्त्रमा प्रश्नले सरकारलाई कमजोर बनाउँदैन, बरु सरकारलाई अझ उत्तरदायी बनाउँछ।

नेपालको लोकतन्त्रको अर्को निर्णायक पक्ष युवा पुस्ता हो। नयाँ पुस्ता पुराना नाराले मात्र सन्तुष्ट हुने अवस्थामा छैन। उसले परिणाम खोज्छ। रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, डिजिटल अवसर, उद्यमशीलता, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा उसका प्राथमिकता हुन्।

नयाँ पुस्ताले राजनीतिलाई आफ्नो भविष्यसँग जोडेर हेर्छ। त्यसैले युवालाई केवल निर्वाचनका बेला मतदाताका रूपमा सम्झने होइन, नीति निर्माण र नेतृत्व विकासको प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्छ। यहाँ दलहरूको भूमिका निर्णायक हुन्छ। दल लोकतन्त्रका माध्यम हुन्। दलहरूभित्रै लोकतान्त्रिक संस्कार बलियो भए राष्ट्रिय लोकतन्त्र पनि बलियो हुन्छ। आन्तरिक बहस, पारदर्शिता, नेतृत्वको उत्तरदायित्व, विचारको सम्मान, नयाँ पुस्ताको सहभागिता र योग्यताको आधारमा जिम्मेवारी वितरणले दलहरूलाई जीवन्त बनाउँछ। दलहरू परिवर्तनको नेतृत्व गर्ने संस्था हुन् भने उनीहरू स्वयं पनि समयसँगै परिवर्तन हुन सक्नुपर्छ।

लोकतन्त्रको आत्मा सामाजिक न्यायसँग पनि जोडिएको छ। राजनीतिक स्वतन्त्रता र आर्थिक अवसरबिच ठुलो दुरी भयो भने लोकतन्त्र अधुरो रहन्छ। नागरिकले मतदान गर्न पाउनु महत्त्वपूर्ण अधिकार हो तर त्यही नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानजनक जीवन पाउने अवसर पनि पाउनुपर्छ। लोकतन्त्रले मानिसलाई केवल राजनीतिक रूपमा स्वतन्त्र बनाउने होइन, उसको जीवनमा सम्मान र सम्भावनाको अनुभूति पनि दिनुपर्छ।

लोकतन्त्र र लोककल्याण अलग–अलग विषय होइनन्। लोककल्याण लोकतन्त्रको नैतिक गन्तव्य हो। राज्यले नागरिकलाई सेवा दिन्छ भने त्यो दया होइन, नागरिकको अधिकारको सम्मान हो। सरकारले विकास गर्छ भने त्यो उपकार होइन, जनताबाट प्राप्त स्रोतको जिम्मेवार प्रयोग हो। जनप्रतिनिधिले जनताको कुरा सुन्छ भने त्यो कृपा होइन, जनादेशप्रतिको उत्तरदायित्व हो।

अबको दश वर्ष नेपालका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन्। विश्व राजनीति, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, हरित ऊर्जा, जलवायु परिवर्तन, नयाँ प्रकारको रोजगारी र विश्वव्यापी आर्थिक प्रतिस्पर्धाले हाम्रो राजनीतिक सोचलाई पनि प्रभावित गर्नेछन्। पुरानो राजनीतिक शैली र नयाँ सामाजिक चेतनाबीचको दुरी बढ्दै गयो भने लोकतन्त्रप्रतिको असन्तुष्टि बढ्न सक्छ। त्यसैले अबको आवश्यकता राजनीतिक पुस्तान्तरणसँगै राजनीतिक संस्कारको पुस्तान्तरण पनि हो। दश वर्षपछि नेपालको लोकतन्त्र कस्तो हुनेछ भन्ने प्रश्नको उत्तर आजका निर्णयमा लुकेको छ।

आज हामीले संस्थालाई बलियो बनायौं भने भोलिको लोकतन्त्र बलियो हुनेछ। आज हामीले राजनीतिक नैतिकतालाई प्राथमिकता दियौं भने भोलिको नेतृत्व उत्तरदायी हुनेछ। आज हामीले युवामा विश्वास ग¥यौं भने भोलिको राजनीति नयाँ ऊर्जाले भरिनेछ। आज हामीले शिक्षा, उत्पादन र प्रविधिमा लगानी गर्‍यौं भने भोलिको लोकतन्त्र आर्थिक रूपमा पनि बलियो हुनेछ।

लोकतन्त्रको आत्मा संसद् भवनमा मात्र हुँदैन। त्यो नागरिकको विवेक, नेतृत्वको चरित्र, न्यायालयको निष्पक्षता, प्रशासनको सेवाभाव, पत्रकारको प्रश्न, युवाको सपना, किसानको श्रम, श्रमिकको सम्मान, राज्यकोषलाई जनताको सम्पत्ति ठान्ने सार्वजनिक नैतिकतामा हुन्छ। लोकतन्त्रको भविष्य केवल नयाँ सरकार बन्ने कुराले निर्धारण गर्दैन। लोकतन्त्रको भविष्य कस्तो राजनीतिक संस्कार निर्माण हुन्छ भन्ने कुराले निर्धारण गर्छ।

सत्ता परिवर्तन लोकतन्त्रको सामान्य प्रक्रिया हो तर राजनीतिक चेतना, नैतिकता र शासन संस्कारको परिवर्तन लोकतन्त्रको वास्तविक उपलब्धि हो। जब राजनीति पदभन्दा माथि उठेर सेवा बन्नेछ, नेतृत्व शक्तिभन्दा माथि उठेर उत्तरदायित्व बन्नेछ, नागरिक अधिकारसँगै कर्तव्यको चेतना जाग्नेछ, राज्यको प्रत्येक निर्णयमा जनहित र राष्ट्रहित सर्वोच्च हुनेछ, त्यतिबेला मात्र लोकतन्त्र आफ्नो वास्तविक अर्थमा जीवन्त हुनेछ। लोकतन्त्रको शरीर संविधानले बनाउँछ, संस्था र निर्वाचनले त्यसलाई संरचना दिन्छन् तर त्यसमा प्राण भर्ने काम नागरिक चेतना, राजनीतिक नैतिकता र लोककल्याणको भावनाले गर्छ। यही प्राण नै लोकतन्त्रको आत्मा हो। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया