बैसाख १०, २०८३ बिहिबार April 23, 2026

गगन-विश्व आलोक : नन्दकृष्ण जोशी

कांग्रेसको आधार क्षेत्र मानिएको सुदूरपश्चिम र मधेस प्रदेशमा सोचेजस्तो मत नआउनु भनेको जनताले परिवर्तन चाहेर नै हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चार महिनापछि सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकताबारे ऐतिहासिक फैसला गरेको छ। फैसलाअनुसार विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा समूहलाई वैधता कायम गर्दै गत माघ ४ गते यसका विरुद्ध असहमति जनाउँदै तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिटलाई खारेज गरिदिएको छ। यो ऐतिहासिक फैसला न्यायाधीशद्वय सारंगा सुवेदी र भूपध्वज निरौलाको निर्णयले गरेको हो।

कानुनी रूपमा वैधता पाएको गगन–विश्व समूहको काँधमा अब गरुंगो जिम्मेवारी थपिएको देखिन्छ। कठिन अवस्थामा गुज्रिरहेको कांग्रेससामु छिट्टै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता एकातिर छ भने पार्टीभित्रका असन्तुष्टिका स्वरहरू मत्थर गरी एकताको महाधिवेशनको रथ हाँक्नु अर्कातिर छ।

यसैगरी थोरै संख्याको उपस्थिति भए पनि संसद्मा कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका सशक्त रूपमा उठाउनुपर्ने टड्कारो देखिन्छ। यिनै समसामयिक विषयमा केन्द्रित रही आजको लेख लेख्ने प्रयास गर्दै छु।

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईका पालामा २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारको नीति तथा कार्यक्रम संसद्मा असफल भएपछि कांग्रेस दुई खेमामा विभाजित भयो। जसलाई छत्तिसे र चौरहत्तरेका रूपमा चित्रित गरिन्छ। गिरिजाबाबुले त्यसबेला आफ्नो समूहको राजधानीको राष्ट्रिय सभागृहमा छुट्टै भेला बोलाए।

साउन १२ गते बोलाएको सो भेलामा संस्थापक नेता किशुनजीलाई निम्ता थिएन। पार्टी फुटको सँघारमा पुगेको संकेत पाएपछि उहाँ आफैं सो भेलामा जानुभयो । धेरैका कुरा सुन्नुभयो, कतिपयले उहाँलाई अपशब्द पनि प्रयोग गरे। यी सबै क्रियाकलाप तमासापूर्ण थिए। अन्तमा सम्बोधनको क्रममा उहाँले पार्टीमा देखिएको अन्तरविरोधको कारक तत्त्व आफू स्वयम् भएको, जसको जिम्मेवारी आफैंले लिने तर नेपाली जनताको जीवन्त पार्टी फुट्न नदिने भनी अडान लिनुभयो। मध्यावधि चुनावमा गए पनि पार्टी विभाजन हुनबाट बच्यो। त्यहींबाट बिपी, गणेशमानले जन्माएको लोकतान्त्रिक पार्टीभित्र पुनः विग्रह सुरु भयो। पहिलो मतभेद २०१४ सालमा बिपी र सुवर्णशमशेरबिच भएको थियो, जसलाई बिपी स्वयंले मत्थर पार्नुभएको थियो।

यसैगरी २०५९ असार ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समूहले आफूमाथि लागेका आरोपको खण्डन गर्दै पार्टीको कारबाहीपछि काठमाडौंको नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेला बोलाए। सो भेलामा पार्टी सभापति गिरिजाप्रसाद कोइराला र केन्द्रीय सदस्य रामचन्द्र पौडेल (हाल राष्ट्रपति) लाई पनि निम्तो दिइएको थियो तर उहाँ सो भेलामा जानुभएन। पार्टी एक भएर जाने वा पृथक् रहेर समानान्तर पार्टी गठन गर्ने भन्ने व्यापक राजनीतिक बहस चल्यो। चिरञ्जीवी वाग्ले, विमलेन्द्र निधि, स्व. होमनाथ दाहाल, स्व. खुमबहादुर खड्कालगायत नेताको सल्लाहअनुसार शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भयो। २००७, २०४६ सालको क्रान्ति सफल पार्ने पार्टी र २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व लिने पार्टीका शीर्षस्थ नेताको सभा–समारोहमा उपस्थिति कति अर्थपूर्ण र मर्यादित हुन्छ भन्ने दृष्टान्त माथिका दुईवटा उदाहरणले देखाएको छ।

गत पुसको अन्तिम साता गगन थापा र विश्वप्रकाश शर्माको पहलमा भृकुटीमण्डपमा विशेष भेलामा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा आफैं वा प्रतिनिधि पठाएर उपस्थिति जनाएको भए सायद निर्वाचन परिणाम अहिलेको जस्तो पक्कै आउने थिएन। अझ पार्टीभित्रको ध्रुवीकरण बाहिरिने थिएन भनी कतिपय राजनीतिक विश्लेषकहरू  बताउने गर्छन्।

सम्मानित सर्वोच्च अदालतको गत ४ गतेको निर्णयपछि संस्थापन पक्ष इतर समूहमा किंकर्तव्यविमूढ अवस्था देखा परेको छ। पूर्णबहादुर खड्काको नेतृत्वमा राजधानीमा असन्तुष्ट पक्षको भेलामा नेताहरूका आआफ्ना विचार बाहिरिए। चुनावमा नराम्रो हार बेहोरेका बेला, सर्वोच्च अदालतले उचित फैसला गरेको अवस्थामा लोकतन्त्रको बचाउन र २०७२ सालमा जारी संविधान कार्यान्वयन गराउनमा पनि अग्रणी भूमिका खेलेको जेठो पार्टीभित्र किन कचिंगल भइरहन्छ? कांग्रेसका शुभेच्छुकहरूले अब सुन्न, देख्न र भोग्न चाहेका छैनन्।

उहाँहरूलाई लाग्दो होला, आफूभन्दा कनिष्ठ युवालाई कसरी नेता मानेर हिँड्ने ? स्वघोषित सभापति, उपसभापति भएकालाई कसरी स्विकार्ने भन्ने पनि लाग्दो होला तर त्यस्तो होइन, कांग्रेसरूपी विशाल नदीमा धेरै पानी बगिसक्यो, समय पनि धेरै अघि बढिसक्यो। गगन–विश्वले नदीमा चलाएको डुंगा किनारामा पुगिसक्यो, गन्तव्य भेटिसक्यो। डुंगामा सवार सबै यात्री सकुशल पारि पुगिसके, अब फर्किनेवाला छैनन्। नियमित महाधिवेशनको कार्यतालिका यही वैशाखबाट सुरु भएर असोजको मध्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तयार भइसकेको छ। बिपी विचारलाई शिरोधार्य गर्ने नेता–कार्यकर्ताले सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक निर्णय पालना गर्नुबाहेक दोस्रो विकल्प अब रहेन। सर्वोच्च अदालतको निर्णय मान्ने तर पार्टीभित्रका केही मतभेदबारे असहमति जनाउने भन्ने तर्क पनि पाच्य हुन्छ र? पार्टीभित्र नै यी विषयबारे संवाद गरे भइहाल्छ। देउवा पक्षमा लागेका पुराना नेताहरूको ठुलै पंक्ति संस्थापन पक्षमा नदेखिँदा कताकता राजनीतिक अभाव त देखिन्छ।

यसैगरी गगन–विश्वले आगामी महाधिवेशन कार्यतालिकाअनुसार कसरी गाउँ, वडा, पालिका र जिल्लाभरि मनमुटावरहित कामको थालनी गर्न सकिन्छ? यसबारे बृहत् छलफल गरी रुखको एउटै छहारीमुनि काम गर्न सकिन्छ भन्नेबारे भेला गराउनु  उपयुक्त होला।

कांग्रेस वादविवाद र संवादको साझा लोकतान्त्रिक चौतारी हो, सबैलाई थाहा भएको विषय हो। विगत वर्षहरूमा यी कार्यहरू पार्टीमा देखापर्दै आएकाले सच्चा लोकतन्त्रवादीले यसबारे झस्कनुपर्ने अवस्था देखिन्न। वर्तमान सभापति थापाले ‘जरा अभियान’ नामकरण गर्दै पार्टीमा शुद्धीकरणको थालनी विशेष गरी युवा पुस्ता र वर्षौंदेखि त्याग गरेकाका लागि उपयुक्त कार्यक्रम हो जस्तो लाग्छ। रुखको जरामा सफा पानी र मल हाले मात्र हरियाली छाउने हुँदा फोहोर पानीको प्रयोग वरपिपलमा नगरियोस्।

विगत तिस वर्षदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको नेतृत्व पंक्तिमा पुगुन्जेल गगन–विश्वप्रकाशलाई जनमानसले राम्ररी नियालिरहेका छन्। एकलव्य भएर पार्टीमा लोकतन्त्र रक्षार्थ दुवैजना राम–लक्ष्मण भएर उभिएको देख्दा वर्तमान र भावी पिँढीले भरोसाका नजरले हेरेका छन्। हिजो संसद्को उपस्थितिमा होस् या सडकमा, पार्टीको नेतृत्व तहमा पुग्दा होस् या जेनजीका भावना मुखरित गर्दाको अवस्थामा होस्, दुवैजनाको बोली र व्यवहार फेरिएको छैन। नेता होस् या नातापर्ने होस्, भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने जोसुकै पदीय दायित्व वहन गरिसकेकाको सम्पत्ति जाँच गरिनुपर्छ भन्ने मान्यता गगनले विगत वर्षदेखि उठाउँदै आएको विषय हो। अहिलेको सरकारले पनि तिनै कुरा अगाडि सारेको छ। लोकतन्त्र बचाउनका लागि आफू ज्वारमा डुब्न पनि तयार हुनुपर्छ भन्दै आएका गगन–विश्वको २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन सफल पार्न आगोको भुंग्रोमा पनि बसेको इतिहास हिजो जस्तै लाग्छ तर इतिहास बनिसकेको छ।

कांग्रेसको आधार क्षेत्र मानिएको सुदूरपश्चिम र मधेस प्रदेशमा सोचेजस्तो मत नआउनु भनेको जनताले परिवर्तन चाहेर नै हो। कांग्रेसले विगत ३५ वर्षदेखि अक्सर एउटै व्यक्तिलाई बारम्बार चुनावमा मौका दिई अरू त्यागी नेताहरूलाई किनारा लगाउनुको परिणाम गत फागुन २१ गते गगनको हस्ताक्षरसहितको टिकट लिएर चुनावी मैदानमा उभिएकाहरूका लागि त्यति सहज थिएन। यसैगरी सम्भ्रान्त कांग्रेसको विगतको रवैयाबाट मुक्ति पाउनका लागि जनताले विकल्पको बाटो रोजेका रहेछन् भन्ने कुरा जगजाहेर नै छ।

लोकतन्त्र बचाउन यतिबेला कांग्रेस लागेको देखिन्छ। भ्रष्टाचारको आरोप लागेका देउवा दम्पतीलाई सरकारले पक्राउ पुर्जी जारी गरेको छ। उहाँहरू हाल उपचारका लागि विदेशमा रहनुभएकाले होला सायद, गगनले यसबारे बोल्न हतार नगरेका होलान्, लिखित रूपमा पनि कुनै प्रतिक्रिया बाहिरिएको छैन।

धेरैलाई थाहा नहुन सक्छ, उपसभापति विश्वप्रकाश शर्मा केवल नेता मात्र नभई असल गायक, संगीतकार र गीतकार पनि हुन्। उनले दिएका संगीत र स्वर कर्णप्रिय र अर्थपूर्ण छन्। कलाक्षेत्रमा लागेको सर्जक निकै संवेदनशील हुन्छन्। राष्ट्र, राष्ट्रियता र समाजलाई हेर्ने दृष्टिकोण निकै फरक हुन्छ। लाखौं लोकतन्त्रवादीहरूले कांग्रेसका आँखाका दुई नक्षत्र गगन–विश्वलाई सम्मानपूर्वक हेरेका छन्। कांग्रेसको इतिहासमा यस्ता होनहार पात्र बिरलै भेटिएलान्। यो सामाजिक न्यायको प्रणाली पार्टीको बृहत्तर हितका लागि एकता कायम गरिनुपर्छ।

पञ्चायतकालमा कठोर यातना पाएका, पटकपटक लोकतन्त्र रक्षार्थ सतीसालझैं उभिएका पूर्णबहादुर खड्का, बलबहादुर केसी, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतलाई पनि साथैमा लिएर पार्टीको आगामी गन्तव्यमा पुग्नु गगन थापा र विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, गुरु घिमिरे, प्रदीप पौडेललगायत नेताहरूको कर्तव्य हुन आउँछ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लियो
२०८३ बैसाख १०, बिहिबार
गगन-विश्व आलोक : नन्दकृष्ण जोशी
२०८३ बैसाख १०, बिहिबार
सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक
२०८३ बैसाख १०, बिहिबार
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
२०८३ बैसाख १०, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
२०८३ बैसाख १०, बिहिबार
इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा
२०८३ बैसाख १०, बिहिबार
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
२०८३ बैसाख १०, बिहिबार