नेपाली राजनीति र समाजमा अहिले विश्वासको संकट व्याप्त छ। यसलाई कांग्रेस, एमाले, माओवादी र मधेसवादीहरूको चुनावी नतिजाले देखायो भने लोकप्रियतावादी आन्दोलन र प्रतिक्रियाको राजनीतिबाट एकाएक उदाएको रास्वपाले विश्वास कसरी जोगाउने? भन्ने चुनौती झेलिरहेको छ। बालेन सरकारको तीव्र दौड (म्याराथन रेस) अहिले ‘सय मिटरको धावक’जस्तो देखिन्छ। हरेक लोकप्रियतावादी आन्दोलनको चुनौती सधैं हेडलाइन सिर्जना गरेर चर्चामा रहेर मात्र जनमतको ध्यानाकर्षण गराउन खोज्नु समस्या हो। राजनीति मूलतः विश्वासको खेल हो। दल वा शक्तिले जनआधार र नैतिक धरातल गुमाएपछि विश्वासको संकट उत्पन्न हुन्छ। विश्वास गुमाएको नेतृत्वले जतिसुकै ठुला भौतिक संरचना निर्माण गरे पनि त्यसले दीर्घकालीन वैधता भने पाउँदैन। पुराना दलमा निराशा छ भने रास्वपामा बहुमतको अहंकार। दुवैले इतिहासबाट शिक्षा लिएका छैनन्। पुराना दललाई इतिहास शिक्षा र रास्वपालाई अरूले गरेका गल्तीबाट जोगिने अवसर। दुवैलाई विश्वास र भरोसाको संकटको घडीमा कसरी पुनरागमन गर्ने वा कसरी जोगाउने? भन्ने चुनौती झेलिरहेका छन्। यसको उत्तर खोज्न हामीले इतिहासका पाँच राजनीतिक विचारकहरू– सुन जु, चाणक्य, निकोलाई माकियावेली, विन्स्टन चर्चिल र हेनरी किसिन्जरको अभ्यास र चिन्तन नियाल्नुपर्ने हुन्छ।
‘द आर्ट अफ वार’का लेखक सुन जु भन्छन्-‘जुन सेना (वा दल) भित्र एउटै उद्देश्यका लागि एकता हुन्छ, उसैको विजय निश्चित हुन्छ।’ विश्वास गुमेको बेला सुन जुको रणनीति ‘भ्रम निवारण’मा केन्द्रित हुनु आवश्यक हुन्छ। नेतृत्वले पहिले आफ्नै संगठनभित्र अनुशासन कायम गर्नुपर्छ। जनतामा विश्वास टुटेको छ भने साझा लक्ष्य वा बाह्य चुनौतीको ‘न्यारेटिभ कन्ट्रोल’ गरेर छरिएकालाई पुनः एक ठाउँमा ल्याउन सक्नुपर्छ। कमान्डर (नेतृत्व)ले नयाँ चुनौती झेल्न नयाँ नीति र विधि खोज्न सक्दैन भने ऊ नेतृत्वबाट हट्नुपर्छ। शक्ति फर्काउन खोज्ने दलहरूले कमान्डर फेर्नुपर्ने पनि हुन्छ। कुनै समयको सक्षम कमान्डर फेरिएको युद्धभूमिमा सधैं सफल हुन सक्छ भन्ने हुँदैन। महान् सेनापति सिजर र नेपोलियन बोनापार्टले पनि पराजय भोग्नुपर्यो। चाणक्य भन्छन्– शासकको पहिलो धर्म जनताको सन्तुष्टि हो। विश्वासको संकट आउनुमा आफ्नै वरपरका ‘स्वार्थी समूह’ जिम्मेवार हुन्छन्। विश्वास पुनर्स्थापना गर्न नेतृत्वले आफ्ना अलोकप्रिय निर्णयको निर्मम समीक्षा गर्दै भ्रष्ट सहयात्रीहरूलाई सार्वजनिक दण्ड दिन सक्नुपर्छ। जनताले आफ्नै मान्छेमाथि कारबाही भएको देखेपछि मात्र नेतृत्वको नियतमा पुनः विश्वास पलाउन थाल्छ। राजनीतिमा ‘त्याग’बिनाको ‘विश्वास’ असम्भव हुन्छ। जनता नेतृत्वको शब्द होइन, उसको त्याग र कठोर निर्णयको परिणाम हेर्छन्। हिजो पुराना दलहरूले जसरी भ्रष्टहरूको संरक्षण गरे, अहिले रास्वपाका केही सांसदहरू पनि शंकाको घेरामा छन्। सुकुम्बासी केसमा सरकारको दोहोरो मापदण्ड देखा परिसक्यो। सहकारी विषयमा दोहोरो मानक तयार गर्ने ओली सरकारझैं विषयान्तरको दबाबमा नयाँ भाष्य निमार्ण गर्ने दबाब बालेन सरकार अहिले झेल्न सुरु गरिसक्यो।
माकियावेलीका अनुसार राजनीतिक शक्ति सधैं ‘परिणाममुखी’ हुनुपर्छ। विश्वास गुमेको अवस्थामा रक्षात्मक हुनुभन्दा आक्रामक हुनु उत्तम हुन्छ। यस्तो बेला गरिने कुनै एक साहसिक कार्यले पुरानो छवि मेटाएर नयाँ शक्तिशाली छविको निर्माण गर्छ। ‘जनताले सधैं विजेता र दृढनिश्चयी नेतृत्वलाई पछ्याउँछन्।’
विन्स्टन चर्चिल भने विश्वास फर्काउन फरक सल्लाह दिन्छन्। दोस्रो विश्वयुद्धको कठिन मोडमा उनले बेलायती जनतालाई झुटो आशा दिएनन्। उनले ‘रगत, कडा परिश्रम, आँसु र पसिना’को कुरा गरे। जब विश्वासको संकट हुन्छ, तब चिल्ला कुरा गर्नुभन्दा सत्य बोल्नु बढी प्रभावकारी हुन्छ। चर्चिलको अभ्यासले सिकाउँछ कि नेतृत्वले आफ्ना गल्तीहरू इमानदारीपूर्वक स्वीकार गरी जनतासँग प्रत्यक्ष संवाद गर्दा गुमेको साख पुनः प्राप्त हुन सक्छ।’ के पुराना दल यस्तो परीक्षाको सामना गर्न तयार छन् ?
हेनरी किसिन्जर यथार्थवादी र साना उपलब्धिका पक्षधर रहे। आधुनिक कूटनीतिका पर्याय किसिन्जरका राजनीतिलाई ‘सम्भावनाको कला’ भन्थे। विश्वासको संकटलाई रातारात हटाउन सकिँदैन, त्यसैले उनले क्रमिक उपलब्धिको सिद्धान्तमा जोड दिए। ठुला बाचा गर्नुभन्दा साना तर ठोस कामहरू फत्ते गरेर आफूलाई परिणाम दिन सक्ने शक्तिका रूपमा स्थापित गर्नु नै विश्वास आर्जन गर्ने व्यावहारिक बाटो हो।
यी पाँचै राजनीतिक शास्त्रीहरूको सारलाई मिसाउँदा विश्वासको पुनप्र्राप्ति प्राविधिक कार्य मात्र नभई गहिरो मनोवैज्ञानिक र नैतिक प्रक्रिया हो। गल्तीबाट सिक्ने, नेतृत्वमा शुद्धीकरण ल्याउने र जनताको हितलाई सर्वोपरि राख्ने हो भने गुमेको विश्वासलाई मात्र होइन, नयाँ उचाइको जनमतलाई समेत फर्काउन वा जोगाउन सकिन्छ।
शक्तिको खेल आदर्शको मञ्चन मात्र होइन। इतिहासमा एउटा निर्मम सत्य छ– शक्ति पाउनुभन्दा त्यसलाई टिकाउनु कयौं गुणा कठिन हुन्छ। शासकमा असुरक्षाको भाव पैदा भएपछि पहिलो प्रहार विपक्षीमाथि नभई आफ्नै निकटस्थ वा सत्ताको सिँढी चढाउने साथीहरूमाथि हुने गर्छ। असुरक्षित सोच्न थालेपछि विवेकको ठाउँ शंका र भ्रमले लिन्छ। उसले आफ्ना इमानदार सल्लाहकारहरूको तर्कलाई ‘षड्यन्त्र’ देख्दै चाकडीबाजहरूको मधुर स्वरलाई मात्र सत्य मान्न पुग्छ। आउन सक्ने सम्भावित संकट टार्न शासकले काल्पनिक शत्रु तयार गरेर नेतृत्वसँग फरक मत राख्नेहरू सबैभन्दा पहिल निसानामा पर्छन्। शासकलाई ‘हो मा हो’ मिलाउनेहरू मन पर्छन् तर ‘आलोचक चेत’ भएका सहकर्मीहरू असुरक्षित मनोविज्ञानका लागि ठुलो चुनौती बन्छन्। इतिहासका उदाहरणहरूले यसलाई प्रस्ट पार्छन्। जोसेफ स्टालिनको ‘ग्रेट पर्स’ र एडोल्फ हिटलरको ‘नाइट अफ द लङ नाइभ्स’ यसकै उदाहरण हुन्। हिटलरलाई रोहमको बढ्दो शक्तिले आफ्नो नेतृत्वलाई चुनौती दिनेछ भन्ने सधैं त्रास रहन्थ्यो। हाम्रै इतिहासका कोत पर्व र भण्डारखाल पर्व त्यसकै निर्मम उदाहरण हुन्। शान्तिपूर्ण कोतपर्व नियाल्न वर्तमान पार्टी भित्रका खेल र झेल नियाले पुग्छ। असुरक्षित महसुस गर्ने शासकले ‘लिगलिजम’को सहारा लिन्छ। अर्थात्, आफूलाई मन नपर्ने व्यक्तिलाई तह लगाउन वा आफ्ना कमजोरी ढाकछोप गर्न अनुकूलका ऐन–नियम बनाउने वा संशोधन गर्ने। यसका साथै प्रशासन, प्रहरी र न्यायालयमा आफ्नो व्यक्तिगत बफादारी देखाउने ‘यस–म्यान’हरू भर्ती गरिन्छ। संसदीय व्यवस्थामा बहुमत जनमतको कदर हो तर असुरक्षित शासकका लागि यो निरंकुशताको लाइसेन्स बन्न पुग्छ।
संविधानको मर्मभन्दा पनि अक्षरको छिद्र खोजेर सत्ता लम्ब्याउने खेल हुनु र संख्याको दम्भमा प्रतिपक्षी वा आफ्नै पार्टीका नेताहरूलाई पाखा लगाउनु असुरक्षाकै पराकाष्ठा हो। पूर्वप्रधानमन्त्री केपी ओलीकै कार्यशैलीको निरन्तरता अहिले बालेन सरकारले लिँदै छ। आफ्नो असफलता लुकाउन ‘विगतका सरकारले सबै बिगारे’ भन्ने भाष्य निर्माण गर्नु पपुलिस्ट शासकहरूको साझा चरित्र हो। यसले जनताको ध्यान महँगी र भ्रष्टाचारबाट मोडिदिन्छ र विरोधीहरूलाई कारबाहीको डर देखाएर रक्षात्मक बनाउँछ। मनोत्रास सत्ता समीकरणको अस्थिरताबाट पनि जन्मिन्छ । जब सत्ता ढल्ने डर हुन्छ, शासकले आफ्नै पार्टीभित्रका सम्भावित उत्तराधिकारीलाई ‘साइज’मा राख्न खोज्न प्रोपोगान्डाको सहारा लिन्छ। अहिले त ह्यास टयाग र अल्गोरिदम हतियार बनेको छ।
नेतृत्वको नैतिक पुँजी र इक्षाशक्ति राजनीतिको प्रमुख हतियार हो। नैतिक पुँजी भनेको कुनै पनि नेताको चरित्र, इमानदारी र निष्कलंक छवि हो। यो बैंकमा जम्मा गरिएको नगदजस्तै जति धेरै हुन्छ, जनताले त्यति नै बढी भरोसा गर्छन्। जब जनतालाई लाग्छ कि नेताले आफ्नो व्यक्तिगत स्वार्थभन्दा देश र समाजको हितलाई माथि राख्छ, तब उसलाई जनताको स्वतःस्फूर्त समर्थन प्राप्त हुन्छ। इच्छाशक्ति भनेको निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने साहस हो। राजनीतिमा केवल योजना बनाएर पुग्दैन, त्यसलाई पूरा गर्ने अडान चाहिन्छ। कतिपय अवस्थामा लोकप्रिय नभए पनि देशका लागि आवश्यक कठोर निर्णयहरू लिनुपर्ने हुन्छ। यस्तो बेला नेताको इच्छाशक्तिले नै नतिजा निकाल्छ। कर्मचारीतन्त्रको सुस्तता, भ्रष्टाचार र विरोधीहरूको अवरोधलाई चिरेर अगाडि बढ्न दृढ इच्छाशक्ति अनिवार्य हुन्छ।
राजनीतिमा संसद्को बहुमत, सेना, प्रहरी वा सत्ताको शक्ति अस्थायी हुन्छन् तर नैतिक पुँजी र इच्छाशक्ति स्थायी हतियार हुन्। केवल डन्डा वा डरको भरमा गरिने शासन टिक्दैन। नैतिक पुँजी भएको नेताले नैतिक शासन गरेमा जनताले मनैदेखि स्विकार्छन्। इतिहासमा ठुला परिवर्तनहरू ठुला हतियारले होइन, नेताहरूको अदम्य इच्छाशक्तिले भएका छन्। इच्छाशक्ति नभएको नेता जतिसुकै विद्वान् भए पनि ऊ एउटा असहाय शासक मात्र बनेर रहन्छ। नैतिक पुँजी भएका जनताले विश्वास गरेका नेतृत्वसँग इच्छाशक्तिले विश्वासलाई परिणाममा बदल्छ। यी दुईको संगम नै सफल राजनीतिको असली सूत्र हो। यी दुई कुराको अभाव नै ‘विश्वासको संकट’ र ‘शासकीय मनोत्रास’ जन्मन्छ।
असुरक्षित शक्तिको चरित्र शंकालु हुन्छ। आलोचक चेत जीवित हुनु भनेको शासकको पहिलो निसानामा पर्नु हो। सत्ता असुरक्षित भएपछि यसले तर्क र सत्य सुन्न सक्दैन। आफ्नै साथीहरूलाई सिध्याएर र काल्पनिक शत्रु खडा गरेर केही समयका लागि सत्ता त जोगिएला तर यस्तो जगमा उभिएको शक्ति ढिलोचाँडो आफ्नै बोझले ढल्ने निश्चित हुन्छ। हामीले कांग्रेस र एमालेको हविगत तथा माओवादीको शृंखलाबद्ध विभाजन देखिसक्यौं। इतिहास साक्षी छ-जसले आफ्ना विवेकशील सहकर्मीलाई सिध्याउँछ, उसले अन्ततः आफ्नै पतनको बाटो खन्छ। नागरिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया