असार ५, २०८३ शुक्रबार June 19, 2026

राजनीतिक चुनौती, निर्वाचनको निकास : ध्रुवहरि अधिकारी

युद्धको मोर्चामा जे जसो भए तापनि थाइल्याण्डको अन्तरिम सरकार ८ फेब्रुअरीका लागि तय भएको आमनिर्वाचन रोक्ने पक्षमा चाहिँ देखिँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केही सातायता दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका केही मुलुक अन्तर्राष्ट्रिय शीर्षक बनेका छन् । कुनै सहमति वा सहकार्य अथवा सम्पन्नताका सन्दर्भमा होइन । अन्योल र अनिश्चयका साथ साथै आर्थिक असुरक्षासँग गाँसिएका मामिलाका कारणले । अफगानिस्तान र बंगलादेश त सार्क परिधिमै परे । सार्कको सचिवालय भएको देश नेपाल फागुन २१ गतेको प्रतीक्षामा छ जुन दिनको निर्वाचनपछि मुलुक क्रमशः राजनीतिक स्थिरतातर्फ उन्मुख हुने अपेक्षा छ । अर्को सार्क–राष्ट्र छ भारत जसको सुदूरपूर्वी इलाकासँग जोडिएको मुलुक हो म्यान्मा । सन् १९८९ सम्म बर्माको नामले चिनिने गरेको यस देशमा पनि गत आइतबार चुनाव आरम्भ भएको र तीन चरणमा गरी माघ ११ (२५ जनवरी २०२६) गते सम्पन्न हुने कार्यक्रम छ । तत्पश्चात् त्यहाँ लोकतान्त्रिक वातावरण निर्माण हुने अनुमान गरिँदै छ । बंगलादेशमा चुनावको दिन भनेर १२ फेब्रुअरीलाई तोकिएको छ ।

दक्षिण–पूर्वको साँघु

म्यान्मा नेपालको जस्तै भारत र चीनसँग सिमाना जोडिएको देश हो । थपमा बंगलादेश, थाइल्याण्ड र लाओस पनि म्यान्माका सँधियार हुन् । अर्को शब्दमा, म्यान्मा दक्षिण एसियालाई दक्षिणपूर्वी एसियासित गाँस्ने साँघु पनि हो । र, सार्कको दाँजोमा निकै क्रियाशील संगठन मानिन्छ ‘आसियान’ जसमा म्यान्मा र दक्षिणपूर्वी एसियाका १० अन्य देश सदस्य छन् । सुन, बहुमूल्य चमकदार पत्थर, नीलम, मुगा, माणिक (रुबी) आदि वस्तु तथा खनिज तेल र ग्यासका भण्डारसमेतका प्राकृतिक स्रोत र कृषि पैदावारका कारण सम्पन्न मुलुक शासन–व्यवस्थामा बरोबर आउने अस्थिरताको चपेटामा परेको दशकौं भयो । खास गरेर सन् १९९० यताको कालखण्डमा पटक–पटकको सैनिक हस्तक्षेपले त्यहाँको लोकतान्त्रिक प्रणालीलाई चुनौती दिँदै आएको छ । त्यसको प्रत्यक्ष असरबाट जनता प्रताडित छन् ।

शान्तिका अग्रदूत बुद्धका अनुयायी (बौद्धमार्गी) हरूको बाहुल्य भएको देश म्यान्मा अशान्त स्थितिमा छ । विशेषतः सन् २०२१ मा सैनिक तख्तापलटमा नेतृ आङ सान सू चीको सरकार विस्थापित भएयताको राजनीतिक स्थिति असहज छ । म्यान्मा अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएको जस्तो देखिन्छ । हुन त संयुक्त राष्ट्रसंघमा म्यान्माको सदस्यता कायम छ, तर त्यस विश्वमञ्चमा म्यान्माको आधिकारिक प्रतिनिधित्व भने पुरानो सरकारकै राजदूतबाट भइरहेको अवस्था छ । यो परिस्थिति एक हदसम्म अफगानिस्तानको राष्ट्रसंघीय सदस्यतासँग मिल्दोजुल्दो छ । अर्थात् विडम्बनायुक्त । लोकतन्त्र र मानव अधिकारबारे सर्वत्र चिन्ता छ । यस्तो पृष्ठभूमि भएकाले म्यान्माको सैनिक सरकार मातहतको निर्वाचन स्वच्छ र विश्वसनीय हुनेमा शङ्का प्रकट गरिएको हो ।

रखाइन र रोहिँग्या

म्यान्मालाई गृहयुद्धको चपेटमा पारेको रखाइन (साबिकमा अराकान) प्रान्तका दुई चुनौतीले होः १.रोहिंग्या मुसलमानको अल्पसंख्यक हैसियत र २. बौद्धमार्गी बाहुल्य भएको हुनाले तिनले त्यस प्रान्तमा स्वायत्तता पाउनु पर्छ भन्ने माग । पहिलो बुँदामा, सयकडौं वर्षदेखि बसोबास गर्दै आएका रोहिंग्या समुदायका मानिसलाई सन् १९८२ मा नयाँ कानून बनाई नागरिकताविहीन तुल्याइएपछि अवस्था बिग्रँदै गएको हो । पछि सैनिक कारबाहीमा मारिने र लखेटिने सिलसिला पनि चर्कियो, र सन् २०१७ पछि तीव्र हुँदै गयो । २७० किलोमिटर लामो सीमाक्षेत्र छ म्यान्मा र बंगलादेशबीच । त्यही भूभाग छिचोलेर १० लाखभन्दा बढी रोहिंग्या मुसलमान बंगलादेशका शरणार्थी शिविरमा पुगेका हुन् । त्यहाँबाट पनि अनधिकृत रूपमा भारत छिर्नेहरूकै संख्या समेत दशौं हजार भएको अनुमान छ । अनि अव्यवस्थित् भारत–नेपाल सिमाना नाघेर नेपाल पस्नेहरूको गन्ती समेत हजारमा हुन लागेको स्थिति छ । म्यान्माभित्रै आन्तरिक रूपमा विस्थापित भएकाहरूको पीडा बेग्लै छ । सरकारी सेना र अराकान विद्रोहीहरू माझको द्वन्द्वले पारेको सामाजिक र आर्थिक असरको छुट्टै आयाम छ । राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई चलायमान हुन दिएको छैन । लगानी र उत्पादनका क्षेत्रहरू बाँझा भएर रहेका छन् । यिनै पक्षहरूलाई सुल्झाउने ध्येयले वर्तमान सैनिक सरकारले निर्वाचनको माध्यमबाट गैरसैनिक शासन–संयन्त्रको आवरण दिन चाहेको जानकारहरूको मूल्याङ्कन छ ।

नागरिक सरकार

निर्वाचनमा ५७ दल सहभागी हुँदैछन् जसमध्ये ६ दलले देशका सबै क्षेत्रमा उम्मेद्वार उठाएका छन् । केन्द्रको संसद्का दुई सदनका साथै प्रान्तीयसभा समेतमा गरेर जम्मा ११ सय स्थानको लागि प्रतिनिधि छानिनु पर्ने हुन्छ यद्यपि कतिपय क्षेत्रमा तत्काल मतदान गराउन गाह्रो छ । १८ वर्ष पुगेका तीन करोड ४० लाख मतदातामध्ये कति प्रतिशतले भोट खसाल्छन् त्यो अड्कलको विषय छ । देशको जनसंख्या पाँच करोडमाथि छ ।

सेनाप्रमुख वरिष्ठ जर्नेल मिन आङ ल्याङ हाल ‘कार्यवाहक’ राष्ट्रपति छन्, चुनावको नतीजापछि गैरसैनिक पहिरनको राष्ट्रपति हुने तयारीमा देखिन्छन् । आइतबार मतदानमा सामेल भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेनाको रेखदेखमा हुने निर्वाचन स्वच्छ हुने आश्वासन दिए, अन्यथा सेनाको छवि नै धमिलिन जाने उनको कथन छ । बाक्लो चर्चामा आएको युनियन सोलिड्यारिटी एण्ड डेभलपमेण्ट पार्टी (यूएसडीपी) सेनाको रणनीति अनुकूल चल्ने हुनाले उसकै नेतृत्वमा ‘नागरिक सरकार’ बन्ने अड्कल गरिँदै छ । गएको जुलाईमा संकटकाल हटाइएकोले देशभर होलोपन आएको सेनाको दाबी रहँदै आएको छ ।

घटनाक्रमलाई नजिकबाट नियालिरहका पश्चिमी विश्लेषकहरूले यस कुरालाई ध्यानमा राखेर यसपल्टको निर्वाचन ‘वैधानिकता’ प्राप्त गर्ने उद्देश्यले मात्र आयोजना गरिएको हो भन्दै आएका छन् । हजारौं आलोचक र अभियन्ताहरूलाई थुनामा राखेर र सञ्चारकर्मीलाई समेत अनेक किसिमका बन्देजमा राखेर गरिने चुनावले वैधानिकता नपाउने निचोड राष्ट्रसंघ समेतका निकायहरूको छ ।

सन् २०२१ मा सेनाले शासन–व्यवस्था आफ्नो हातमा लिएसँगै गिरफ्तार गरिएकी नेतृ आङ सान सू ची नजरबन्दमै छिन् र उनको नेतृत्वको नेसनल लिग फर डेमोक्य्रासी (एनएलडी) छिन्नभिन्न अवस्थामा छ, पार्टीको मान्यता नवीकरण हुन सकेको थिएन । अन्य कतिपय दलहरूको हालत पनि त्यही छ । विगत वर्षहरूका द्वन्द्व र प्राकृतिक विपद्को क्रममा ३६ लाख नर–नारी आन्तरिक रूपमा विस्थापित भएको आँकडा ओझेलमा परेको छैन । यसपालि आसियानको तर्फबाट निर्वाचन–पर्यवेक्षक नखटाइएकाले चुनावी धाँधलीबारे प्रश्न उठाउनेहरूलाई बल पुगेको छ । चीन, भारत, रुस, भियतनाम र कजाखस्तानले पठाएका चुनाव पर्यवेक्षकहरू बेलैमा म्यान्मा पुगेको प्रसङ्गलाई सैनिक सरकारले जोडतोडले प्रचार गरिरहेको छ ।

सहयोगमा अभिरुचि

यथार्थमा, म्यान्माको सैनिक नेतृत्वलाई चीन र रुस दुवैतिरको गतिलै आड–भरोस छ । हातहतियारको आपूर्तिमा दुवै देशको सहयोग रहिआएको छ । गएको जून महिनामा रुससँग म्यान्माको एक सम्झौता भयो जस अनुसार रूसका ऊर्जा कम्पनीहरूलाई लगानीको अवसर उपलब्ध भएको छ । चीन त झण्डै २२ सय किलोमिटर सिमाना जोडिएको छिमेकी नै भयो । हालका कार्यवाहक राष्ट्रपति गत अगष्टमा शांघाई सम्मेलनताका चीनमा आमन्त्रित पनि थिए । चीनको अभिरुचि म्यान्मा लयमा फर्कियोस् र त्यहाँ स्थायित्व आओस् भन्नेमा छ भनेर बेलायतको ‘द गार्डियन’ अखबारले पश्चिमा सोच प्रतिध्वनित हुने राय छापेको छ । औपचारिक तहमा चीनको समर्थन सैनिक सरकारप्रति छ तापनि अनौपचारिक हिसाबले सीमावर्ती क्षेत्रहरूमा चीन–विरोधी भावना नभड्कियोस् भन्ने आशयका साथ कतिपय रैथाने समुदायलाई पनि चीनले सहयोग गर्ने गरेको चर्चा पनि गार्डियन छापामा उल्लेख भएको छ ।

४ जनवरी सन् १९४८ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको म्यान्माले आरम्भमा बेलायतको संसदीय ढाँचा अपनाएको थियो । सन् १९४७ मा नयाँ संविधानको मसौदा सू चीका पिता आङ सानको नेतृत्वमा भएको हो तर स्वतन्त्रता घोषणा हुनुअगावै उनको हत्या भयो । जे होस्, स्वतन्त्र भएपछिको पहिलो १२ वर्ष त्यहाँ संसदीय पद्धति क्रियाशील रह्यो । आरम्भमा साओ श्वे संवैधानिक राष्ट्रपति रहे भने ऊ नू अधिकारसम्पन्न प्रधानमन्त्री थिए–सन् १९६२ को मार्चसम्म । अपदस्थ हुनुभन्दा केही महिना पहिले उ नू नेपाल आएका थिए ।

लोकतन्त्रको बाटो

सन् १९६२ मा जनरल ने विनले पहिलो पटक सैनिक हस्तक्षेप गरेपछिको म्यान्मामा लोकतन्त्रको बाटो अवरुद्ध भयो । त्यस बखत उनको सोचको ‘सैनिक–समाजवादी पद्धति’ लागु गरियो । पछि अर्थात् सन् १९९० मा सेनाले नै गराएको निर्वाचनले लोकतन्त्रमाथिको अवरोध हटाउन सक्थ्यो, तर त्यस चुनावमा सर्वाधिक मत पाएको सू ची नेतृत्वको दललाई सरकार गठन गर्न दिइएन । प्रक्रिया बिथोल्ने हिसाबले ‘त्यो निर्वाचन त नयाँ संविधान तर्जुमा गर्ने ध्येयले मात्र गराइएको थियो’ भन्ने तर्क दिइयो । निकट विगतको घटनाक्रम केलाउँदा म्यान्मामा सन् २०१५ को निर्वाचनपछि फेरि एक निर्णायक मोड आएको देखिन्छ ।

सू चीको दल (एनएलडी) ले ८० प्रतिशत सीटमा विजय हासिल गरेको हुनाले त्यसलाई सत्तारुढ हुन रोक्न त मिलेन, तर सू चीलाई ‘राष्ट्रपति’ हुनबाट भने रोकियो नै । किनभने सन् २००८ मा जारी भएको संविधानले विदेशी पति वा पत्नी हुनेलाई त्यो पद हासिल गर्न नदिने रहेछ । तसर्थ ‘स्टेट काउन्सेलर’ दर्जा लिएर सू चीले कार्यकारी अधिकार सहितको सरकारप्रमुख बन्ने अवसर पाइन् । तदनुसार मार्च २०१६ मा उनको सरकारले शपथ लियो ।

गैरसैनिक सरकारले आर्थिक र सामाजिक पक्षमा रूपान्तरण गराउने दीर्घकालीन ‘दिगो विकास योजना’ लाई अगाडि बढायो । यस योजनाको विस्तृत चर्चा शअन् टर्नेलद्वारा लिखित ‘बेष्ट लेड प्लान्स’ नामक पुस्तकमा भेटिन्छ । अष्ट्रेलियाका अर्थशास्त्री टर्नेल

सू ची सरकारको ‘विशेष आर्थिक सल्लाहकार’ थिए । यस्तैमा नयाँ कार्यकालको लागि सन् २०२० मा निर्वाचन भयो तर सू चीको सरकारले बहुमत पाएर पनि सरकारलाई निरन्तरता दिन भने पाएन । किनभने निर्वाचनमा धाँधली भएको थियो भन्ने सिकायत सेनाले नै ग-यो, र आएको परिणामलाई मान्यता दिएन । अचानक १ फेब्रुअरी २०२१ का दिन सू ची र उनको सरकारका सदस्यहरू सैनिक हिरासतमा परे । आर्थिक सल्लाहकार टर्नेल पनि गिरफ्तार भए, र ६५० दिन बन्दीजीवन बिताउन बाध्य भए । पछि अष्ट्रेलिया सरकारको कडा कूटनीतिक दबाबपछि थुनामुक्त गरिए । सू ची बन्दी अवस्थामै छिन्, उनको स्वास्थ्य ठीक छ भन्ने सैनिक प्रशासकको दाबी छ ।

अन्त्यमा

थाइल्याण्ड र कम्बोडिया पनि सीमा–विवाद सुल्झाउन सकिरहेका छैनन् । दक्षिणपूर्वी एसियाका यी दुई देश गत शनिबार नयाँ युद्धविरामका लागि सहमत त भए, तर त्यसको पालना नभएको शिकायत दुबै पक्षबाट आइरहेका छन् । सीमावर्ती बस्ती लडाञीको प्रत्यक्ष असरमा परेका छन् । हजारौं मानिस घरद्वार छोडेर हिँड्न विवश भएका छन् । सैनिक, गैरसैनिक जोसुकै पनि हताहतमा परेको समाचार विश्वभर प्रवाह भइरहेको छ । गत जुलाईमा सशस्त्र द्वन्द्व चर्किंदा मलेसिया समेतको मध्यस्थतामा युद्धविराम भएको थियो जसको श्रेय लिन अमेरिकी राष्ट्रपति ट्रम्प निकै अगुताएका थिए । यस पटकको ‘रचनात्मक भूमिका’ मा चीनका परराष्ट्रमन्त्री वाङ ई थिए परन्तु त्यसको जस लिने दौडमा कोही देखिएको छैन ।

महìवपूर्ण कुरो, युद्धको मोर्चामा जे जसो भए तापनि थाइल्याण्डको अन्तरिम सरकार ८ फेब्रुअरीका लागि तय भएको आमनिर्वाचन रोक्ने पक्षमा चाहिँ देखिँदैन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार