बैसाख ५, २०८३ शनिबार April 18, 2026

उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको ज्यान गयो

रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।

शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका-८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो।

रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिए।

‘हामी दुवै जना सडक निर्माणका लागि गएका थियौँ, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो’, मृतकका बुबा रामबहादुर मगरले भने।

स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए। उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो।

जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय भुट्टारको टोली घटनास्थल पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ। घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन्।

आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो।

घटनास्थल सदरमुकामबाट करिब ४५ किलोमिटर र भुट्टारबाट छ किलोमिटर टाढा रहेको छ। विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया