भरतपुर । चितवनको भरतपुरमा विद्युतीय कारमा अचानक आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने स्थानीय वसन्तचोकमा आज बिहान करिब ६ बजे बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
आगलागी भएपछि कारभित्र रहेका एक जना व्यक्ति जलेको अवस्थामा फेला परेका छन्। घटनामा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।
आगलागीका कारण कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनापछि स्थानीयवासी तथा सम्बन्धित सुरक्षा निकाय घटनास्थलमा पुगेका थिए। कारमा कसरी आगलागी सुरु भयो भन्ने विषयमा भने प्रारम्भिक विवरण खुल्न बाँकी रहेको छ।
आगलागीका कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताइएको छ। मृतकको पहिचान तथा घटनाको थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया