काठमाडौँ, भदौ २६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित मुलुकका निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदानमा जोड दिनुभयो ।
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाका अवसरमा काठमाडौँमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले वन्यजन्तुको अवैध व्यापार अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत बढ्दो चुनौतीका रूपमा देखापरेको उल्लेख गर्नुभयो ।
वन्यजन्तु अपराध नियन्त्रणका लागि वन्यजन्तु संरक्षणसम्बन्धी निकाय, भन्सार, प्रहरी, अनुसन्धानकर्ता तथा न्यायिक संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
“दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालले दक्षिण एसियाको साझा नैतिक दायित्वअन्तर्गत एकजुट हुने र हाम्रो साझा प्राकृतिक सम्पदाको संरक्षण गर्ने क्षमता प्रदर्शन गर्दछ,” मन्त्री खनालले भन्नुभयो ।
दक्षिण एसियाली मुलुक भूगोल, पर्यावरण र इतिहासका कारण आपसमा जोडिएको उल्लेख गर्दै उहाँले हिमशृंखला, नदी प्रणाली, वन, सिमसार क्षेत्र तथा सीमापार आवतजावत गर्ने वन्यजन्तु साझा प्राकृतिक सम्पदा भएको स्पष्ट पार्नुभयो । यस्ता सम्पदाको संरक्षणका लागि सामूहिक र समन्वित प्रयास अपरिहार्य रहेको उहाँले बताउनुभयो।
नेपालले क्षेत्रीय सहकार्यलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै मन्त्री खनालले व्यावहारिक सहकार्य, आपसी विश्वास र जनताले अनुभूति गर्न सक्ने उपलब्धिमा आधारित बहुपक्षीय साझेदारी दीर्घकालीन रूपमा प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।
“नेपाल दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको सचिवालय काठमाडौँमा आतिथ्य गर्न पाएकोमा गौरवान्वित छ,” उहाँले भन्नुभयो, “यसलाई हामी केवल प्रशासनिक जिम्मेवारीका रूपमा नभई सबै सदस्य राष्ट्रको समान स्वामित्व भएको संस्थालाई सुदृढ बनाउने दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएका छौँ।”
वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्ति, सुदृढ कानुनी संरचना, प्रभावकारी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको मन्त्री खनालले उल्लेख गर्नुभयो । राष्ट्रियस्तरमा हासिल भएका संरक्षणका उपलब्धिलाई सीमापार सहकार्यबाट थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
जैविक विविधताको संरक्षण, वातावरणीय अखण्डता र संगठित अपराध नियन्त्रणका विषय आधुनिक कूटनीतिसँग समेत जोडिँदै गएको उहाँको भनाइ थियो । प्राकृतिक सम्पदाको संरक्षण सुरक्षित, समृद्ध र वातावरणीय रूपमा उत्थानशील दक्षिण एसिया निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले यस कार्यमा परराष्ट्र मन्त्रालयले सक्रिय साझेदारका रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै अवसरमा मन्त्री खनालले हालैको भोटेकोशी विपद् मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले विपद्को भयावहता सामान्य बाढीको परिभाषाभन्दा निकै ठूलो रहेको भन्दै त्यसलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिनुभयो । मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउने मित्रराष्ट्र तथा साझेदारप्रति उहाँले आभार प्रकट गर्नुभयो।
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाले संस्थागत विकासमा नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै मन्त्री खनालले महासभाले सदस्य राष्ट्रबीच मित्रता, विश्वास र साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया