भाद्र २७, २०८३ शनिबार September 12, 2026

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

७२ वर्षको उमेरमा भुन्टी लुहारले पाइन् नेपाली नागरिकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, २७ भदौः बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकता विहीन सुस्त मनस्थितीकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । नागरिकता नहुँदा विक राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधाबाट वञ्चित हुँदै आउनुभएको थियो । न्युन आर्थिक अवस्था र सुस्त मनस्थितीका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन सक्ने अवस्था नभएपछि उनलाई विहीबार वडा कार्यालयमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घर तथा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिरहेको छ । यसअघि गएको विहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

कार्यक्रम अन्तर्गत जिल्लाभरीका नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका व्यक्तिको विवरण सङ्कलनको काम भइरहेको कार्यालयले जनाएको छ । “नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरुकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ,”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया