काठमाडौँ, भदौ २७ गते । अवकाशको मुखमा पुगेका कतिपय कर्मचारीले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय थोरै सेवा अवधि बाँकी भएका धेरै जसो कर्मचारीले राजीनामा दिएका हुन् ।
सेवा अवधि १५ दिनदेखि बढीमा दुई वर्ष बाँकी भएका कर्मचारीले राजीनामा दिइसकेका छन् भने राजीनामा दिने क्रम पनि जारी छ । गत वैशाखदेखि साउन मसान्तसम्ममा ४८७ जना निजामती कर्मचारीले राजीनामा दिएका राष्ट्रिय किताबखानाले जनाएको छ । किताबखानाका निर्देशक सुधन ख्वाखली श्रेष्ठले यस अवधिमा राजीनामा दिने कर्मचारीमा नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्म भएको जानकारी दिनुभयो ।
राजीनामा दिँदा निवेदनमा अधिकांश कर्मचारीले घरायसी र स्वास्थ्य समस्याको कारण उल्लेख गरेका छन् तर प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकको मसौदामा कर्मचारीको ३० वर्ष सेवा अवधिको मात्र पेन्सन गणना गर्ने प्रस्ताव गरिएको चर्चाले गर्दा कर्मचारीले सेवा अवधि बाँकी हुँदै राजीनामा दिएको हुन सक्ने किताबखानाको आकलन छ ।
जल तथा मौसम विज्ञान विभागबाट केही दिनअघि मात्र राजीनामा दिएका उपसचिव माधवराज मरासिनीले आफ्नो सेवा अवधि ३५ वर्ष पूरा भइसकेको र अब केही महिना मात्र सेवा अवधि बाँकी भएकाले पदबाट राजीनामा दिएको बताउनुभयो । “बजारमा नयाँ पुस्ता सूचना र प्रविधिमा अभ्यस्त भएका धेरै व्यक्ति छन् । अब उनीहरूलाई निजामती सेवामा भित्र्याएर अलि पुराना कर्मचारी बिदा हुनु स्वाभाविक नै हुन्छ,” उहाँले भन्नुभयो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि अहिले लोक सेवा आयोगमा पठाइएको जनाएको छ । यसअघिका वर्षमा भने चार महिनाको अवधिमा १५० देखि बढीमा दुई सय जनासम्म कर्मचारीले राजीनामा दिने गरेका भए पनि यस वर्ष भने छोटो अवधिमा विगतको तुलनामा धेरै कर्मचारीले पदबाट राजीनामा दिएका किताबखानाको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले भने सेवा अवधि दुई चार महिना बाँकी भएका कर्मचारीले पदबाट राजीनामा दिँदा सरकार आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो ।
उहाँका अनुसार कर्मचारीले राजीनामा दिने विषय व्यक्तिगत स्वेच्छाको विषय हो । कतिपय कर्मचारीको व्यावहारिक समस्या, कतिपयको स्वास्थ्यमा त कतिपयको पारिवारिक समस्या र कतिपय कर्मचारीको अवकाशको सेवा अवधि कम हुँदा आफ्नो पारिवारिक व्यवस्थापन गर्नुपर्ने भएकाले पदबाट राजीनामा दिएका हुन सक्छन् ।
उहाँले भन्नुभयो, “सेवा अवधि लामो भएका कर्मचारीले राजीनामा दिए त्यसलाई वास्तविक राजीनामा मानिन्छ तर सेवा अवधि तीन, चार महिना र छ महिना बाँकी भएका कर्मचारीले दिएको राजीनामालाई के भन्ने ? उहाँहरू छोटो समय अवधिमै आउट गोइङ कर्मचारी हुनुहुन्छ ।
झनै सजिलो
सरकारले चुस्त प्रशासन निर्माण गरी सेवा प्रवाहलाई गुणस्तर र प्रविधिमैत्री बनाउने उद्देश्यले साबिकमा २१ वटा कायम रहेको मन्त्रालयलाई घटाएर अहिले १८ वटामा झारेको छ । त्यस्तै मन्त्रालयको सङ्ख्या घटाएर दरबन्दी कटौती भएकाले छोटो सेवा अवधि बाँकी भएका कर्मचारीले राजीनामा दिँदा सरकारलाई फाइदा नै हुने बुझाइ मन्त्रालयको छ ।
कार्यालयमा पदस्थापन नभई फाजिलमा बस्नुभन्दा सम्बन्धित कर्मचारीका लागि पनि राजीनामा दिनु राम्रो हो । सहसचिव अधिकारीले भन्नुभयो, “अनुभवी, लामो समयसम्म दक्षता हासिल गरेका ५० जना कर्मचारी दैनिक सेवाबाट अवकाश भए भने सरकराले राजीनामा रोक्न पुनर्विचार गर्नु पर्छ तर लामो सेवा अवधि भएका कर्मचारीले पदबाट राजीनामा दिएका छैनन् ।” गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया