भाद्र २४, २०८३ बुधबार September 9, 2026

भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी

भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका १३ जनामध्ये जवान साजन कुँवरको शव भेटिएको छ भने अन्यको अत्तोपत्तो छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । रसुवास्थित चीनतर्फको ढोका हरेक दिन बिहान साढे ७ बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले ७ बजे ड्युटी लिइसकेको हुन्थ्यो। भदौ १० गते सदा झैं सीमा सुरक्षा कार्यालय (बिओपी) टिमुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्री १० जनाको टोली लिएर सीमा सुरक्षामा खटिएका थिए। उनीहरूमध्ये सात जना भन्सार क्षेत्र र तीन जनाले अन्य पोस्टको जिम्मेवारीमा थिए। अवस्था सामान्य नै थियो तर पौने ९ बजेतिर माथिबाट ठुलो आवाजसहित आएको बाढीले चीन–नेपाल दुवैतर्फ तहसनहस बनायो। बाढीले बगाएको पुलभन्दा करिब एक सय मिटरजति माथिको माथि ड्युटीमा रहेका सहायक हवल्दार रोशन बुढाथोकीबाहेक सबै बाढीमा बिलाए।

उक्त बिओपीमा खटिएका सहायक निरीक्षक रामबहादुर थापाले बाढीको कुनै पनि संकेत नमिलेको र क्षणभरमै विभिन्न संरचना ध्वस्त पारेको तर त्यही बिओपी मात्रै बाँकी रहेको बताए। सीमा क्षेत्रमा रहेका निरीक्षकसहित सबै बेपत्ता मात्रै भएनन्, त्यो क्षेत्रमा बाँकी त्यही बिओपी र १५ जना थिए तर सहायक निरीक्षक थापाले परिस्थिति नियन्त्रण बाहिर जान दिएनन् र अन्य सबै साथीसहित स्थानीयलाई पनि सुरक्षित स्थानमा लगे। माथिबाट आएको बाढीबारे जानकारी दिँदादिँदै मैलुङस्थित हाइड्रो पावरको सुरक्षाका लागि खटिएका अन्य चार सशस्त्र प्रहरीलाई पनि त्यही भेलले बेपत्ता बनायो। सबै परिस्थिति देखेका उनले सीमा सुरक्षाको जिम्मेवारी छाडेनन् बरू सम्हालिएर कोही नभएको टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा जुटे।

भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका १३ जनामध्ये जवान साजन कुँवरको शव भेटिएको छ भने अन्यको अत्तोपत्तो छैन। निरीक्षक अम्बिर खत्री, नायब निरीक्षक प्रकाश बहादुर न्यौपाने, वरिष्ठ हवल्दार राजकुमार थापा र मोहन नाथ योगी, सहायक हवल्दारहरू विष्णुबहादुर रिजाल, कामबहादुर गुरुङ बेपत्ता छन्।

त्यस्तै सशस्त्र सहायक हवल्दार युवराज भण्डारी, सन्तोष पुडासैनी, विनिता बोहोरा, कृष्णकुमार कार्की, आशिष पौडेलसँगै जवानहरू अनबहादुर कुमाल पनि बेपत्ता छन्। संगठनकै जनशक्ति गुमाउँदा पनि बाढीले सबै संरचना बगाएको टिमुरेमा पुगेर सशस्त्रले झन्डा गाडेर सीमा सुरक्षा गरिरहेको छ। बाढीपछि सशस्त्र प्रहरीको करिब ४२ सय जनशक्ति धादिङ, नुवाकोट र रसुवा क्षेत्रमा परिचालन गरिएको छ। जसमा ७७४ जना विशेष तालिमप्राप्त जनशक्तिलाई भग्नावशेष तथा रसुवाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार विशेष तालिम प्राप्तबाहेक अन्य स्वास्थ्य टोली कुकुरसहित जीवित तथा मृत व्यक्तिको खोजीका लागि परिचालित छ। भग्नावशेषभित्रको उद्धारका लागि विशेष जनशक्ति रहेको सशस्त्रले आफ्नो संगठन भित्र भएको मानवीय क्षतिभन्दा नागरिकको जीवन सुरक्षाका लागि राहत र खोज उद्धारमै केन्द्रित गरेको डिआइजी कार्कीले बताए।

सचेत गराउँदै हिँड्दा बगायो साथी तर छाडेको छैन जिम्मेवारी

भदौ १० गते टिमुरेमा खटिएका सशस्त्र प्रहरी बलले मात्रै होइन, त्यहीँ रहेका अधिकांशले बाढीबाट जोगिने मौका पाएनन्। नेपाल प्रहरीका २८ जना बेपत्ता भएकोमा तीन जनाको मृत्यु भएको छ। प्राकृतिक विपत्तिमा पनि आफ्नो कर्तव्य पालनामा जुट्छ भन्ने उदाहरण नेपाल प्रहरी पनि बनेको छ।

टिमुरेमा बाढी आएको जानकारी दिँदै हिँडेका सहायक निरीक्षक समबहादुर थापासहितलाई त्यही भेलले बगायो। प्रहरी चौकी वेत्रावतीमा कार्यरत अर्का सहायक निरीक्षक रामकाजी पौडेल र अस्थायी प्रहरी पोस्ट मैलुङका नायब निरीक्षक मदनराज स्याङ्बो जलविद्युत् आयोजनामा काम गर्नेहरूलाई जानकारी गराउँदा गराउँदै आफैं बगे। आफ्नो जनशक्ति गुमाए पनि नेपाल प्रहरीले जिम्मेवारीलाई त्यो शोकको प्रभावमा पर्न दिएको छैन।

अहिले विभिन्न स्थानमा भेटिएका शव संकलन गर्ने र त्यसको तथ्यांक राख्ने, शव आफन्तहरूलाई पहिचान गराउने, डिएनए परीक्षणका लागि आवश्यक नमुना संकलनदेखि सवारी व्यवस्थापनसहितको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरी खटिएको छ। खोज तथा उद्धारका लागि तालिमप्राप्त कुकुरसहितको छुट्टै जनशक्ति पनि परिचालित छ। बाढीप्रभावित क्षेत्रमा चार हजार ७७१ जना नेपाल प्रहरी खटिएका छन्।

दैनिक शान्तिसुरक्षाको पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले विपत्तिकै मौका छोपेर आपराधिक फाइदा उठाउने, भ्रम फैलाउने सूचना दिने र सामाजिक सञ्जालबाट घृणा र गाली गर्नेको खोजीको विषयलाई पनि नेपाल प्रहरीले प्राथमिकतामा राखेको छ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अहिले प्रहरीसँगै विपद् व्यवस्थापन गर्न सक्ने टोलीलाई रसुवा, नुवाकोट, धादिङमा केन्द्रित गरिएको छ। ‘हामी आफ्नै सुरक्षाकर्मी गुमाउनुपर्दाको पीडामा छौं तर पनि आफ्नो कर्तव्य पूरा गर्न कुनै सम्झौता गरेका छैनौं,’ उनले भने।

४५ जना गुमाएको सेना सुरुङदेखि हवाई उद्धारमा सक्रिय

भोटेकोसीको बाढीले तीन वटै सुरक्षा निकायलाई एकसाथ क्षति पुर्‍याएको छ। सबैभन्दा बढी जनशक्ति नेपाली सेनाले गुमाएको छ। सेनाका स्याफु्रबेंसीदेखि मैलुङसम्मका बेसमा रहेका अधिकृत र जवान गरी ४५ जना बेपत्ता छन्। उनीहरूको खोजी जारी छ। हाइड्रो र राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका सैनिक ब्यारेक नै बगाएको छ भने त्यहाँ कार्यरत सेना पनि बेपत्ता छन्। जुन ठाउँमा सेना गुमेका छन् त्यही ठाउँमा सेनाले विद्युत् आयोजनाहरूमा फसेका नागरिकहरूको उद्धारका लागि कुनै कसर बाँकी राखेको छैन।

अहिले रसुवा र नुवाकोट क्षेत्रका जलविद्युत् आयोजनाहरूका सुरुङमा फसेकाको खोज तथा उद्धारका लागि सेनाको आफ्नो विशेष फौज नै परिचालन गरिएको छ। यसकारण तीन जनाको जीवितै उद्धारमा सफलतासमेत मिलेको छ भने अन्यको खोजी जारी छ।

सेना विशेष गरेर हवाई र स्थलमार्फत खोज र उद्धारमा खटिएको छ भने राहत ढुवानी पनि सेनाले जिम्मेवारी निर्वाह गरिरहेको छ। सुरुङभित्रको खोजीका लागि विपद् उद्धार गणको जनशक्ति परिचालन गरेको सेनाले अन्य खोज र राहत ढुवानीका लागि समेत गरेर नौ हजार ३०० जना सेना परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

अन्तर्राष्ट्रिय उद्धार टोलीसँग समन्वय, आफ्नो जनशक्ति परिचालन गरेर सेनाले अहिलेको बाढीमा सकेसम्म जीवन बचाउने प्रयास गरिरहेको प्रवक्ता बस्नेतको भनाइ छ। भोटेकोसी बाढीले तीन वटै सुरक्षा निकायलाई एकसाथ मानवीय भौतिक क्षति गरे पनि उनीहरूले आफ्नो काममा कुनै सम्झौता गरेका छैनन्। अहिले पनि २० हजारभन्दा बढी सेना बाढी प्रभावित क्षेत्रमा परिचालित छन्। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
२०८३ भाद्र २४, बुधबार
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस तीव्र
२०८३ भाद्र २४, बुधबार
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
२०८३ भाद्र २४, बुधबार
बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
२०८३ भाद्र २४, बुधबार
होर्मुज खुलाउनेबारे इरान-ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’
२०८३ भाद्र २४, बुधबार
भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी
२०८३ भाद्र २४, बुधबार