मंग्सिर २, २०८३ बुधबार November 18, 2026

होर्मुज खुलाउनेबारे इरान-ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’

पछिल्ला दिनमा अमेरिकी सेनाले होर्मुज हुँदै जहाज आवागमन सहज बनाउन सहयोग गरिरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान। इरानका विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’को व्यवस्थापन तथा जलमार्ग सञ्चालनबारेओमानसँग भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको मङ्गलबार बताउनुभएको छ ।

इरानी विदेश मन्त्रालयका अनुसार, जापानी विदेशमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा अराघचीले ‘स्ट्रेट अफ होर्मुज’बारे इरान र ओमानबीच जारी वार्ताको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै महत्वपूर्ण प्रगति भएको बताएको हो ।

‘स्ट्रेट अफ होर्मुज’सँग जोडिएका दुवै तटीय राष्ट्र इरान र ओमानले पछिल्ला केही सातादेखि जलमार्गबाट हुने जहाज आवागमनको व्यवस्थापनबारे छलफल गर्दै आएका छन् । तेहरानले अस्थायी रूपमा जहाज आवागमन सञ्चालन गर्ने व्यवस्थामा सहमति जुटाउने दिशामा प्रगति भइरहेको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिकासँग युद्ध सुरु भएपछि इरानी सेनाले विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ हुँदै हुने जहाज आवागमनमा प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा अमेरिकी सेनाले होर्मुज हुँदै जहाज आवागमन सहज बनाउन सहयोग गरिरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार औसतमा प्रति रात ३० वटा जहाज पार गराइँदैछ ।

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले हरेक रात पाँच–छ वटा जहाज पार गराउने प्रयास गरे पनि “सामान्यतया ती जहाज ठोक्किने” गरेको दाबी गर्नुभएको छ ।

तेहरानले उक्त जलमार्ग पार गर्ने जहाजले पहिले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । युद्धअघिको जस्तो निर्वाध जहाज आवागमनको व्यवस्था तत्काल पुनःस्थापना नगर्ने उसले स्पष्ट पारेको छ ।

इरानले जलमार्गको प्रयोग गर्ने जहाजबाट सेवा शुल्क उठाउने प्रयाससमेत गरेको छ । तर अमेरिकासहित क्षेत्रका विभिन्न देशले उक्त कदमको कडा विरोध गरेका छन् ।

इरानी अधिकारीले हालै इरान र ओमानबीच जलमार्ग व्यवस्थापनसम्बन्धी सम्झौता आगामी दिनमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।

यद्यपि, तेहरानले अमेरिकाले आफ्ना प्रमुख माग पूरा नगरेसम्म होर्मुज जलमार्ग पूर्ण रूपमा पुनःखुला नगर्ने अडान दोहोर्‍याएको छ ।

ती मागमा इरानमाथिका तेल प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनेलगायत विषय छन् । (रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार