भाद्र २४, २०८३ बुधबार September 9, 2026

भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस तीव्र

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा वन तथा वातावरण क्षेत्रमा नयाँ ढङ्गले नीति निर्माण तथा योजना कार्यान्वयन हुन थालेको छ ।

नीतिगत सुधारदेखि जलवायु वित्त परिचालन, वन व्यवस्थापन, डढेलो नियन्त्रण, वन्यजन्तु संरक्षण र सेवा प्रवाहमा प्रविधिको प्रयोगसम्मका कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार, नीतिगत एवम् कानुनी सुधारमा जोड दिइएको छ । जलवायु परिवर्तनसँग जुध्न अन्तरराष्ट्रिय सहयोग जुटाउने, वन व्यवस्थापन, वातावरण संरक्षण, वन्यजन्तु संरक्षण तथा सेवा प्रवाह सुधारका विभिन्न काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

“वन तथा वातावरण क्षेत्रको सुधारका लागि यस अवधिमा वन तथा वातावरण क्षेत्रलाई परिणाममुखी बनाउने उद्देश्यले नीतिगत र संस्थागत सुधारका काम अघि बढाइएको छ,” उहाँले भन्नुभयो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले कृषि तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला, जलवायु अनुकूल कृषि, विपद् जोखिम व्यवस्थापन, महिला किसानको सशक्तीकरण तथा जलवायुजन्य हानि र नोक्सानी व्यवस्थापनलगायतका क्षेत्रमा प्राविधिक सहयोग विस्तारका लागि खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालसमक्ष पेस गरिएको प्रस्ताव स्वीकृत भएको जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रालय र कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) नेपालबीच १२ मिलियन अमेरिकी डलर बराबरको जलवायु उत्थानशील धान उत्पादन तथा उत्पादकत्व वृद्धि परियोजनासम्बन्धी सम्झौता भएको छ ।

उक्त परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा कार्यान्वयन गरिनेछ ।

विकास आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति तथा वन क्षेत्रको जग्गा प्रयोगसम्बन्धी प्रक्रिया सहज बनाउन केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत वन ऐन, २०७६ संशोधन भई कार्यान्वयनमा छ ।

सहसचिव ढकालका अनुसार सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणलाई सहज बनाउने उद्देश्यले वातावरण संरक्षण ऐन तथा नियमावली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा नियमावलीका मस्यौदा तयार भएका छन् ।

कार्बन अभिलेख प्रणालीमार्फत कार्बन व्यापारलाई सहज

मन्त्रालयले वन विनाश र वन क्षयीकरण न्यूनीकरण (रेड) कार्यक्रम कार्यान्वयन केन्द्रलाई परिमार्जन गरी कार्बन व्यवस्थापन तथा रेड फरेष्ट्री केन्द्र बनाएको छ ।

केन्द्रका प्रुमख नवराज पुडासैनीले कार्वन व्यापारलाई सहजीकरण हुने र निजी क्षेत्रलाई आकर्षण गर्ने गरी कार्बन नियमावली स्वीकृत भएको जानकारी दिनुभयो । “कार्बन अभिलेख प्रणालीमार्फत कार्बन व्यापारलाई सहज बनाइएको र यसका लागि सम्बन्धित मन्त्रालय तथा निजी क्षेत्रलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो ।

सन् २०२१ देखि तराईका १३ जिल्ला (रौतहटदेखि कञ्चनपुरसम्म) सम्म नतिजामा आधारित ‘रेड प्लस’ कार्यक्रम कार्यान्वयन गरेको थियो । पहिलो चरण (सन् २०१८–२०२१ डिसेम्बर सम्म) मा १८ लाख ८८ हजार टन कार्बन उत्सर्जन कटौती गरी रु एक अर्ब ३४ करोड बराबरको कार्बन लाभ प्राप्त गरेको थियो ।

यस्तै, आगामी दिनमा एक हजार २०० सामुदाायिक वनले कार्बनको पैसा पाउने गरी कार्यक्रम स्वीकृत भएको छ । प्रमुख पुडासैनीका अनुसार, निजी क्षेत्रका १० संस्था कार्बन व्यापारमा जान इच्छुक छन् ।

यस्तै, ३०३ गरिबमुखी कबुलियती वनलाई कार्बन व्यापारको प्रावधानमा जान स्वीकृत गरिएको छ । कार्बन व्यापारबाट नेपालले प्राप्त गर्ने रकम वन विकास, वन व्यवस्थापन तथा समुदायको जीविकोपार्जनमा प्रयोग गरिनेछ । त्यसका लागि बाँके, बारा, रुपन्देही र चितवनका चार डिभिजन वन कार्यालयमा कार्बनसम्बन्धी इकाइ गठन गरिएको छ । ती कार्यालयका कार्बनसम्बन्धी सम्पर्क व्यक्ति तथा सामुदायिक वनका पदाधिकारीलाई वन विकास, व्यवस्थापन तथा समुदायको जीविकोपार्जन प्रवद्र्धनसम्बन्धी तालिम दिइएको छ ।

स्वदेशी काठ प्रवद्र्धन

वन विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानका अनुसार एक वर्षको अवधिमा वन व्यवस्थापन मार्गदर्शनदेखि सरकारी भवन र सामुदायिक भवनमा अनिवार्य रुपमा स्वदेशी काठ प्रयोग गर्ने गरी मापदण्ड तय गरिएको छ । उहाँका अनुसार सशस्त्र वनरक्षक नियमावलीको मस्यौदा तयार भई सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

वन पैदावारको राजस्व पुनरालोकनका लागि छलफल सुरु भएको छ । वन डेढेलो व्यवस्थापन केन्द्र स्थापना भएको छ । फेवा संरक्षित जलाधार क्षेत्रको पुनःस्थापना, पहिरो व्यवस्थापन, पानीका मुहान संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलनका लागि कार्ययोजना तयार भएको छ । आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालन गरिनेछ ।

जलवायु वित्त परिचालनमा महत्वपूूर्ण उपलब्धि

अन्तरराष्ट्रिय जलवायु वित्त परिचालनतर्फ पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । मन्त्रालयका अनुसार हरित जलवायु कोष र अनुकूलन कोषमार्फत क्रमशः ८५ लाख र ५० लाख अमेरिकी डलर बराबरका दुई ठूला अनुदान आयोजना सुरक्षित भएका छन् ।

अनुकूलन कोषबाट नेपालमा कार्यान्वयन हुने जोखिममा रहेका समुदायको खाद्य प्रणाली उत्थानशील बनाउने आयोजनाका लागि १० मिलियन अमेरिकी डलर स्वीकृत भएको छ । उक्त आयोजना विश्व खाद्य कार्यक्रमले कार्यान्वयन गर्नेछ ।

त्यस्तै, नेपाल र बंगलादेशमा कार्यान्वयन हुने जलस्रोत व्यवस्थापन तथा जलवायु उत्थानशीलतासम्बन्धी क्षेत्रीय आयोजनाका लागि १२ मिलियन अमेरिकी डलर स्वीकृत भएको छ । उक्त आयोजना विश्व मौसम सङ्गठनले कार्यान्वयन गर्नेछ ।

बागमती र मधेस प्रदेशमा स्थानीय तहमा जलवायु अनुकूलनका लागि पाँच मिलियन अमेरिकी डलरको आयोजना अवधारणापत्र स्वीकृत भएको छ । उक्त आयोजनाको विस्तृत योजना तयार गर्न एक लाख ५० हजार अमेरिकी डलर स्वीकृत भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस गरिएको छ । जलवायु परिवर्तन नीतिलाई समयसापेक्ष बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।

खडेरी व्यवस्थापन आयोजना अवधारणापत्र

त्यस्तै, दक्षिण एसियामा खडेरी व्यवस्थापनसम्बन्धी कार्यक्रम अगाडि बढ्दैछ । सो कार्यक्रम बङ्गलादेश, भूटान, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कामा कार्यान्वयन हुने छ । सो कार्यक्रममा ३० मिलियन अमेरिकी डलर खर्च गरिनेछ । सो आयोजनाको अवधारणापत्र स्वीकृत भई विस्तृत आयोजना तयार गर्न ३९ हजार अमेरिकी डलर स्वीकृत भएको छ ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि मधेस र लुम्बिनी प्रदेशका २२ जिल्लामा चार महिनाका लागि ११० जना अग्नि नियन्त्रक नियुक्त गरी परिचालन गरिएको छ । वन डढेलो रोकथाम तथा नियन्त्रणमा परिचालन हुने समुदाय र कर्मचारी गरी ४९९ जनाको वन डढेलो जीवन बिमा गरिएको छ ।

अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि विशेष सवारीसाधन तथा बाँकेमा ट्याङ्कर र मोटरसहितको वन डढेलो नियन्त्रण ट्याक्टर सञ्चालनमा ल्याइएको छ ।

इआइएमा झन्झटिलो प्रावधानको अन्त्य

यस्तै, पूर्वाधार तथा भौतिक विकाससम्बन्धी १० वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तथा पाँच वटा आयोजनाको कार्यसूची र सर्त स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न २६ वटा आयोजनाका लागि राष्ट्रिय वनको २७५ दशमलव २४ हेक्टर जग्गाको भोगाधिकार प्रदान गरिएको छ । सो वन क्षेत्रमा रहेका ३० हजार ५३२ वटा रूख तथा पोल हटाउन पनि अनुमति दिइएको छ ।

वन्यजन्तुको व्यावसायिक पालनसम्बन्धी आयोजना स्वीकृत

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस अवधिमा वन्यजन्तुको व्यावसायिक पाालनका लागि दुई वटा आयोजना स्वीकृत गरेको छ ।

लाङटाङको गत्लाङ क्षेत्रमा डढेलोबाट क्षति पुगेको वनमा ‘ड्रोन’मार्फत वृक्षरोपण गर्ने उद्देश्यले अवधारणापत्र स्वीकृत गरिएको छ । संरक्षित क्षेत्र कार्यालयबाट मानव–वन्यजन्तु द्वन्द्वका तीन हजार १७३ घटनाबाट प्रभावित परिवार तथा समुदायलाई रु चार करोड २७ लाख ८४ हजार ७४९ राहत वितरण गरिएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय प्राविधिक समिति गठन गरिएको छ । उक्त समितिले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रममा सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि काम गर्नेछ ।

कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टास्क फोर्स) ले प्रतिवेदन बुझाएको छ । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनका लागि प्रतिवेदनमा प्रस्तुत सुझावको अध्ययन गरी आवश्यक कदम चालिने बताउनुभएको छ ।

राष्ट्रिय बाघ तथा सिकार प्रजाति सर्वेक्षण २०२६ अन्तर्गत बाघ तथा सिकार प्रजातिको क्यामेरा राखेर निगरानी गर्ने कार्य सम्पन्न भएको छ । सन् २०२२ मा ३५५ बाघ रहेकामा हाल बढेर ४२९ पुगेको छ ।

पारिस्थितिकीय पुनःस्थापना तथा वन्यजन्तुको बासस्थान सुधारका लागि १४ हजार बिरुवा रोपण गरिएको छ । मिचाहा प्रजातिबाट प्रभावित ३६ हेक्टर घाँसेमैदान पुनःस्थापना तथा चार वटा ठूला संरक्षण पोखरी निर्माण गरिएको छ । यसबाट वन्यजन्तुका लागि पानीको स्थायी व्यवस्था हुनाका साथै स्थानीय रोजगारी सिर्जना भएको मन्त्रालयले जनाएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत १४१ वटा वन्यजन्तुको उद्धार तथा १०० वटा सिकारीबाट सुरक्षित राख्ने गोठ निर्माण गरिएको छ । सामुदायिक हात्ती सचेतना कार्यक्रम सञ्चालन गरिएको तथा मानव–बाँदर द्वन्द्वसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी नीतिगत सुझाव दिइएको छ ।

प्रस्तावित बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्रका लागि मस्यौदा प्रस्ताव तयार गर्ने प्रक्रियाका लागि आवश्यक सहजीकरण गरिएको छ । उक्त क्षेत्रमा एसियाली विकास बैङ्कको सहयोगमा समुदायमा आधारित पर्यटन प्रवद्र्धन परियोजना सुरु भएको छ ।

पर्यटन तथा स्थानीय जीविकोपार्जनतर्फ अन्नपूर्ण संरक्षण क्षेत्रमा ७० प्रतिशत पर्यटक अनुमतिपत्र ‘अनलाइन’बाट उपलब्ध गराइएको छ । १६ किलोमिटर पदमार्ग मर्मत गरिएको तथा २४ मध्ये २३ वटा कार्यालयमा निगरानी क्यामेरा जडान गरिएको छ ।

मनास्लु तथा गौरीशङ्कर संरक्षण क्षेत्रमा ११ वटा पदमार्ग निर्माण तथा पुनःसंरचना गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गरिएको छ । त्यस्तै, ८४ वटा नयाँ व्यवसायलाई अनुदान वितरण तथा हस्तकला र उत्पादनको बजार विस्तारसम्बन्धी तालिममार्फत स्थानीय आयआर्जनमा सहयोग पु¥याइएको छ ।

हाते प्रविधिबाट ३५ लाख थान ‘सन्चो’ उत्पादन

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गण्डकीको छाङ्गोला वनको ०.८३ हेक्टरमा जडीबुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापनाका लागि स्थल सफाइ गरिएको जनाएको छ । आगलागीबाट क्षति भए पनि हातबाट चलाउने प्रविधि प्रयोग गरी ३५ लाख थान ‘सन्चो’ उत्पादन गरिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा रु एक करोड १९ लाख क्युबिक फिट काठ उत्पादन भई रु २४ करोड राजस्व रकम जम्मा भएको छ ।

वातावरण संरक्षण ऐन संशोधनको अन्तिम तयारी

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण ऐन २०७६ संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि थानकोट, चितवनलगायत विभिन्न स्थानमा छड्के अनुगमन तथा नियमित परीक्षण गरिएको थियो ।

कूल ३१७ वटा सवारी साधन परीक्षण गर्दा ९२ वटा अर्थात् २९ प्रतिशत तोकिएको मापदण्डअनुरूप नभएको पाइएको र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

यसैगरी, औद्योगिक भट्टीबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइ, वायु गुणस्तर, इँटा उद्योगबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइ, उद्योगमा जडान भएका ब्वाइलरबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइ र सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०८२ नेपाल राजपत्रमा प्रकाशित भएका छन् ।

सुवेदीका अनुसार हाल कायम रहेका ३० वटा वायु प्रदूषण मापन केन्द्र बढाएर ५६ पु¥याउने, काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना परिमार्जन गरी कार्यन्वयन हुन लागेको छ । यस्तै, वायु गुणस्तरको राष्ट्रिय कार्याजना तय हुँदैछ ।

जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले ‘औद्योगिक प्रतिष्ठानबाट निष्कासन गरिने फोहोर पानीसम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदा तयार भएको सुवेदीले जानकारी दिनुभयो । यसैगरी, सीमापार प्रदूषणबारे अध्ययन भइरहेको उहाँको भनाइ छ ।

भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस

कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पारेको प्रभावबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएको छ ।

उहाँले गत साता तिमोर–लेस्तेको डिलीमा आयोजना भएको अति कम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी गराउनुभएको थियो ।

मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित अति कम विकसित मुलुकलाई जलवायु न्यायका लागि एकजुट भएर आवाज उठाउन आह्वान गर्नुभएको थियो ।

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना भएको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालले भोटेकोशी बाढीको उदाहरण दिँदै उच्च जोखिममा रहेका, पर्वतीय क्षेत्र भएका र कम विकसित देशले सोझै अनुदान सहयोग पाउनुपर्नेमा जोड दिने तयारी गरेको छ । प्रगति ढकालरासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
२०८३ भाद्र २४, बुधबार
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस तीव्र
२०८३ भाद्र २४, बुधबार
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
२०८३ भाद्र २४, बुधबार
बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
२०८३ भाद्र २४, बुधबार
होर्मुज खुलाउनेबारे इरान-ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’
२०८३ भाद्र २४, बुधबार
भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी
२०८३ भाद्र २४, बुधबार