भाद्र २२, २०८३ सोमबार September 7, 2026

भोटेकोशी बाढी: अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार

भग्नावशेषबाट १०औं र ११ औं दिनमा जीवितै उद्धार भएपछि अन्य बेपत्ता भेट्टिनेमा आफन्त आशावादी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सीमापारिबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाको १३औं दिनको काजकिरिया सोमबार पूरा हुँदै छ। बाढीमा बेपत्ता केहीको कुशको शव बनाएर अन्त्येष्टिसहित आफन्त किरियामा बसेका छन्। बाढीमा बेपत्ता कतिपय सम्पर्कमा नआएपछि मृत्यु भएको ठानेर कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो।

बाढीले बगाएर बगरमा परिणत बेत्रावती बजारका २६ घरका ५७ सदस्य बेपत्ता छन्। उनीहरूका आफन्त काठमाडौंको धुम्बाराही र शोभाभगवती क्षेत्रमा काजकिरियामा छन्। धुम्बराहीमा १६ परिवार र शोभाभगवतीमा १० परिवारका आफन्त किरियामा छन्। ठाउँ अभावमा कतिपय परिवार एकै ठाउँमा बसेर काजकिरिया गर्न बाध्य छन्। सास र लाससमेत फेला नपरेपछि कुशको सब बनाएर अन्तिम संस्कारको कर्म गरिरहेको आफन्त बताउँछन्।

ठाउँ अभावमा केही फरक किसिमले किरिया कर्म भइरहेको छ। सामान्यतः एक मृतकका किरियापुत्री एउटा कोठामा बस्थे तर बाढीमा आफन्त गुमाएका तीन/चार परिवारसमेत एउटै कोठामा आपसमा मिलेर किरियाकर्ममा छन्।

बाढीग्रस्त क्षेत्रमा पनि किरिया बस्ने ठाउँ अभाव देखिएको छ।

बाढीले आफ्नो थातथलो बगाएपछि धेरैजसो परिवार काठमाडौं र अन्य स्थानमा काजकिरियामा छन्। बाढीले धेरैको ज्यान लिएकाले ठाउँ अभावमा एउटै कोठामा मिलेर बसेर किरिया गर्नुपरेको मृतकका आफन्त बताउँछन्।

बेत्रावतीमा बुबाआमा, काकाकाकी र बहिनीसहित घरका ५ जना सदस्य गुमाएका निराजन पौडेलले काठमाडौंको तारकेश्वर नगरपालिका सुनौलो बस्तीस्थित किरियापुत्री भवनको एउटा कोठामा दुई परिवार मिलेर किरिया बस्नुपरेको बताए। उनले बेत्रावतीबाट बाढीले बगाएका आफन्तलाई जिउँदो भेटाउन नसकेपछि मृत्यु भएको ठानेर कुशको शव बनाएर अन्तेष्टि गरी किरियामा बसेको बताए।

बेत्रावतीको एउटै घरका सातजना बाढीमा बगेका छन्। उनीहरूको शव नपाइएपछि एक वृद्धा धुम्बाराहीमा क्रियामा बसेकी छन्। उनीहरूलाई खाना पकाउने भाँडासमेत पर्याप्त छैनन्। ओछ्याउने म्याट तथा अन्य न्यानो कपडा पनि पर्याप्त छैनन्।

बाढीमा बेपत्ता भनिएका चारजनाको ११ औं दिनमा चारतले घरको भग्नावशेषबाट जीवितै उद्धार भएको छ। उद्धार हुनेमा बेत्रावतीकी ६४ वर्षीया पछि चण्डिका श्रेष्ठ पनि छन्। त्यो घरलाई बाढीले जगभन्दा ५० मिटर तल पुर्‍याएको छ। श्रेष्ठको मृत्यु भएको ठानेर छोरा किरियामा बसेका थिए। चण्डिका आफ्नै घरको भग्नावशेषमा जीवितै भेटिएपछि पुरोहितको सल्लाहमा किरिया फुकाइएको छ।

श्रेष्ठको काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। भग्नावशेषबाट आवाज आएपछि उद्धारकर्मी परिचालित भएका थिए। छिमेकी सरिता डंगोलले ‘भग्नावशेषबाट बचाओ, बचाओ’ भन्ने आवाज सुनेपछि प्रहरीलाई खबर गरेको बताइन्।

बाढीले बगाएर पुरेको घरको चौथो तलाबाट उनलाई निकालिएको थियो। चण्डिकाका पति आनन्द भने अझै बेपत्ता छन्। त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार सञ्जयकुमार साह र कबिर महर्जन तथा शनिबार बेत्रावतीबाट श्रेष्ठ र माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ प्राविधिकको जीवितै उद्धार भएको हो। उद्धारपछि काठमाडौंमा उनको उपचार भइरहेको छ।

भग्नावशेषबाट १०औं र ११ औं दिनमा जीवितै उद्धार भएपछि अन्य बेपत्ता भेट्टिनेमा आफन्त आशावादी बनेका छन्। कतिपय परिवार आफन्त सम्पर्कमा नआएपछि किरिया गर्ने कि अझै बाटो हेर्ने भन्ने अन्योलमा छ। सरकारी तथ्यांक अनुसार अझै ५ हजार हाराहारी सम्पर्कमा छैनन्।

बेत्रावतीमा ६४ वर्षकी चण्डिकाको जीवितै उद्धार भएपछि उद्धार टोलीले आफ्नो रणनीतिमा केही परिवर्तन गरेको छ। यो घटनापछि बाढीले पुरेका आवासीय घरमा पनि खोजी केन्द्रित गरिएको छ। विभिन्न क्षेत्रमा उद्धार टोलीले खोजी जारी राखेको छ।

‘सर्वस्व गुमाएँ’

बाढीको भूमरीबाट मुस्किलले बाँचेका बेत्रावतीका ज्ञानकुमार डंगोलले आँखैअगाडि घरका सबैलाई बाढीले बगाएपछि सर्वस्व गुमाएको बताए। उनका बुबाआमा, पत्नी, दाजुभाउजू र आफ्ना दुई छोराछोरी र दाजुका दुई छोराछोरीलाई बाढी बगाएको छ। उनले आफू पनि करिब १५ मिनेट बाढीमा बगेपछि छालले किनारतर्फ उछिट्टाएर बाँचेको बताए।

बाढीबाट बाँचेका डंगोलको हात भाँचिएको छ र शरीरका विभिन्न भागमा चोट छन्। १० जनाको परिवारमा आफू र दाजुको एउटा छोरा मात्र बचेको उनले बताए। बाढीमा बगेका उनका आफन्तको अवस्था खुल्न सकेको छैन। उनले भने, ‘न सास न लास। केही पाएको छैन।’ उनले थपे, ‘म त बाँचें। एक्लै के गरौं। मैले सर्वस्व गुमाएँ।’

डंगोललाई सबैभन्दा ठुलो पछुतो परिवारका सदस्यलाई बाढीबाट बचाउन नसकेकोमा छ। तान्दातान्दै बाढीले परिवारका सदस्यलाई लगेको र अन्त्यमा आफूलाई पनि बगाएको बताउँदै उनले भने, ‘म त बाढीले बगाए पनि बाँचे।’ नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया