ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशसभाका चारजना सांसदसहित विभिन्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा पार्टी कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता मनिष सुमनका अनुसार पार्टी निर्णयविपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि अनुशासनसम्बन्धी कारबाही गरिएको हो ।
निष्कासनमा पर्ने लुम्बिनी प्रदेशसभा सदस्यहरूमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिक तर्फबाट निर्वाचित हेमा बेल्वासे केसी, बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहनुभएको छ । जसपा नेपालका अनुसार यी चारैजना सांसदले पार्टीको नीति तथा निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका थिए । उनीहरूले सरकारमा सहभागी भएर पार्टी निर्देशनको अवज्ञा गरेको पनि पार्टीको आरोप छ ।
सरकारको पक्षमा मतदान गरेपछि कारबाही
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको विज्ञप्तिअनुसार लुम्बिनी प्रदेश सरकारसम्बन्धी निर्णयमा पार्टीको निर्देशनविपरीत भूमिका निर्वाह गरेपछि चारै सांसदलाई कारबाही गरिएको हो । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकारमा सन्तोषकुमार पाण्डेय र भण्डारीलाल अहिर मन्त्रीका रूपमा सहभागी हुनुहुन्छ । प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदा जसपा नेपालले पार्टीका सांसदलाई सरकारको पक्षमा मतदान नगर्न निर्देशन दिएको भए पनि अम्बिका काफ्लेबाहेक चारजना सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिनुभएको थियो । पार्टीले उक्त कदमलाई अनुशासन उल्लंघनका रूपमा लिँदै कारबाही गरेको जनाएको छ ।
कारबाहीमा परेका सांसदहरूको प्रदेशसभा सदस्य पद रिक्त गराउन सम्बन्धित प्रदेशसभामा छिट्टै पत्राचार गर्ने निर्णयसमेत जसपा नेपालले गरेको छ । लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँचजना सांसद छन् । चार जनामाथि कारबाही भएपछि प्रदेशसभामा पार्टीको प्रतिनिधित्वमा समेत ठूलो असर पर्ने देखिएको छ ।
अन्य प्रदेशका जनप्रतिनिधिमाथि पनि कारबाही
जसपा नेपालले लुम्बिनीका चार सांसदलाई मात्र नभई अन्य प्रदेश तथा स्थानीय तहमा पार्टीको निर्णयविपरीत गतिविधि गर्ने जनप्रतिनिधि र पार्टी कार्यकर्तामाथि समेत कारबाही गरेको जनाएको छ । पार्टीका अनुसार सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका प्रदेशसभा सदस्यलाई समेत साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ ।
कोशी प्रदेशमा समानुपातिकतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य निर्मला तावासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिमाथि पनि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरिएको जसपा नेपालले जनाएको छ ।
गत प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गर्ने जनप्रतिनिधि र पार्टी कार्यकर्तामाथि छानविन तथा कारबाही गर्ने निर्णयअनुसार पछिल्लो कदम चालिएको पार्टीको भनाइ छ ।
यसले पार्टीभित्र अनुशासन कायम गर्ने प्रयासका रूपमा जसपा नेपालले आफ्नो कदमलाई व्याख्या गरे पनि निर्वाचित जनप्रतिनिधिको राजनीतिक भविष्य र उनीहरूको पदसम्बन्धी कानुनी प्रक्रियालाई लिएर आगामी दिनमा थप बहस हुने देखिएको छ । बैठकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै, जसपाले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत तथा समर्थन गर्दै अग्रगामी मोर्चाले घोषणा गर्ने सम्पूर्ण कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय पनि गरेको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया