काठमाडौँ, भदौ २० गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको सङ्ख्या र रकम निरन्तर बढ्दो छ ।
बाढीपछिको उद्धारका लागि सरकारले बाढी आएकै दिन अर्थात् भदौ १० गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसयता कोषमा दैनिक औसत ६० करोड रुपियाँभन्दा बढी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म उक्त कोषमा ११ अर्ब एक करोड २३ लाख रुपियाँ सङ्कलित छ । यो रकम विदेशबाट डलर खातामा प्राप्त रकमसहितको हो । कोषमा सङ्कलित कुल रकममध्ये दुई अर्ब आठ करोड रुपियाँ पहिलेकै बचत थियो । बाढीपछि भने कोषमा दस अर्ब एक करोड रुपियाँ सङ्कलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ । पहिलेकै बचत र बाढीपछि कुल १२ अर्ब एक करोड रुपियाँ सङ्कलन भए पनि मन्त्रालयले विपत् व्यवस्थापनका लागि कोषबाट एक अर्ब रुपियाँ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ । उक्त हस्तान्तरणपछि कोषमा ११ अर्ब रुपियाँ कायम भएको हो । मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न नौ वटा बैङ्कमा रहेको खातामा शुक्रबारसम्म आठ अर्ब २० करोड रुपियाँ कायम छ । त्यस्तै हिमालयन र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा विश्वभरबाट बाढीपछि एक करोड ९८ लाख अमेरिकी डलर अर्थात् दुई अर्ब ९९ करोड रुपियाँ सङ्कलन भएको छ ।
कोषमा सङ्कलित रकम व्यक्तिगत र संस्थागततर्फको योगदान हो । विभिन्न मुलुकले बाढीपछि नेपालका लागि ठुलो रकम सहयोग गर्ने घोषणा गरिरहेका छन् । त्यस्तै विश्वका चर्चित र ठुला कम्पनीहरू पनि बाढीपछिको राहत तथा उद्धारका लागि नेपाललाई सहयोग गर्न इच्छुक रहेको जनाएका छन् ।
एप्पलका पूर्वसिइओ टिम कुकले सामाजिक सञ्जाल एक्समार्फत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै महिन्द्रा गु्रपका अध्यक्ष आनन्द महिन्द्राले पनि नेपालका लागि आफ्नोतर्फबाट गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता एक्समार्फत व्यक्त गर्नुभएको छ । विदेशमा रहेका नेपालीले पनि कोषमा रकम जम्मा गर्न विभिन्न अभियान सञ्चालन गरिरहेका छन् ।
नेपालभित्र बैङ्क, वित्तीय तथा बिमासँग सम्बन्धित संस्थाहरू, जलविद्युत् आयोजना, कर्पोरेट हाउस र व्यक्तिगत रूपमा पनि ठुलो रकम योगदान गर्ने क्रम निरन्तर छ ।
एनभिडियाले दियो डेढ अर्ब
विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी एनभिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड अमेरिकी डलर अर्थात् डेढ अर्ब रुपियाँ योगदान गरेको छ । कम्पनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले उक्त रकम हिमालयन बैङ्कको खातामा जम्मा गरिदिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । कोषमा संस्थागत रूपमा उपलब्ध गराइएको यो नगद सहयोग अहिलेसम्मकै उच्च हो ।
अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा क्लारामा मुख्य कार्यालय रहेको एनभिडिया मुख्य रूपमा कम्प्युटर चिप निर्माता कम्पनी हो । यसबाहेक कम्प्युटर हार्डवेयर निर्माण गर्ने र कृत्रिम बौद्धिकताको क्षेत्रमा पनि एनभिडियाले काम गर्दै आइरहेको छ । करिब ४२ हजार कर्मचारी रहेको एनभिडियाको बजार मूल्य ५५ खर्ब १६ अर्ब डलर रहेको छ ।
कोषमा उक्त बराबरको रकम योगदान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत एनभिडिया र अध्यक्ष हुआङलाई धन्यवाद दिनुभएको छ । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया