काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित प्राकृतिक प्रकोपबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिसँगै अर्बौंको बीमा दाबी पर्ने आंकलन गरिएको छ । नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण भएको क्षतिको करिब २६ अर्ब बराबरको बीमा दाबी पर्ने देखिएको छ ।
प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण प्रभावित भएको कुल बिमितको संख्या पाँच सय ८३ र अनुमानित दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ रहेको छ । सबैभन्दा धेरै दाबी रकम द ओरिएन्टल इन्स्योरेन्समा १३ अर्ब चार करोड २१ लाख रुपैयाँ बराबरको दाबी रहेको छ भने युनाइटेड अजोड इन्स्योरेन्समा चार अर्ब ९७ करोड ४८ लाख, सानिमा जिआइसी इन्स्योरेन्समा दुर्ई अर्ब १० करोड २८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा एक अर्ब ८८ करोड ७३ लाख, शिखर इन्स्योरेन्समा एक अर्ब ८७ करोड ५४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख र नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँ रहेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख, प्रभु इन्स्योरेन्समा तीन करोड १२ लाख, राष्ट्रिय बीमा कम्पनीमा ७६ लाख, नेसनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार र नेपाल माइक्रो इन्स्योरेन्समा पाँच लाख रुपैयाँ बराबरको बीमा दाबी पर्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको बीमा लेखअनुसार इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत बिमित संख्या ५२ रहेको छ भने सम्पत्ति बीमा संख्या एक सय १३, मोटर बीमा तीन सय १३, परिवहन बीमा ४७, अन्य बीमा ५४ र स्वास्थ्य बीमा चारवटा रहेका छन् । सबैभन्दा बढी क्षति इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ सर्वाधिक २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको क्षति दाबी गरिएको छ भने सम्पत्ति बीमातर्फ दुई अर्ब ३४ करोड ६२ लाख २० हजार, मोटर बीमातर्फ एक अर्ब ५५ करोड नौ लाख ३९ हजार रुपैयाँको दाबी परेको छ । परिवहन बीमातर्फ ८९ करोड ७७ लाख ३७ हजार, अन्य बीमातर्फ ५२ करोड ९२ लाख ९२ हजार र स्वास्थ्य बीमातर्फ चार करोड १६ लाख रुपैयाँको दाबी रहेको छ । सडक, पुललगायतका सरकारी भौतिक पूर्वाधारमा पनि अर्बौंको क्षति भएको छ ।
१७ वटा बैंकका शाखाहरूमा क्षति
पछिल्लो विवरणअनुसार प्राकृतिक विपत्तिका कारण बैंकिङ प्रणालीमा अर्बौंको क्षति पुगेको छ । बाढीबाट नुवाकोट र रसुवा जिल्लामा रहेका विभिन्न १७ वटा बैंकका शाखाहरूमा क्षति भएको छ । १७ वटा बैंक शाखाको कुल ५५ करोड ६८ लाख ७० हजार पाँच सय १७ रुपैयाँ बराबरको स्थिर सम्पत्ति नष्ट भएको बताइएको छ । सबैभन्दा बढी क्षति कृषि विकास बैंकको त्रिशूली शाखामा देखिएको छ, जहाँ ५० करोड रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको बताइएको छ ।
त्यस्तै सिटिजन्स बैंकको देवीघाट शाखामा एक करोड २० लाख, लक्ष्मी सनराइज बैंकको टिमुरे शाखामा ८६ लाख, हिमालयन बैंकको बेत्रावती शाखामा करिब ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । टिमुरेमा रहेका ग्लोबल आइएमई, माछापुच्छ्रे, नबिल, एनआइएमबी र सानिमा बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बैंकका भल्टमा रहेको करोडौं रुपैयाँ नगद पनि बाढीले बगाएको छ ।
बैंकहरूका अनुसार १७ वटा शाखाको भल्टमा कुल १७ करोड २४ लाख ५७ हजार तीन सय ७४ रुपैयाँ नगद थियो । ती सबै हराएका वा नष्ट भएका छन् भने काउन्टरमा रहेको एक करोड १७ लाख ७१ हजार एक सय ९५ रुपैयाँ पनि बाढीले बगाएको छ । १७ वटा शाखाहरूमा कुल ७८ हजार दुई सय चार निक्षेप खाता छन् भने दुई हजार एक सय २५ कर्जा खाता छन् । ती शाखाबाट बैंकहरूले कुल चार अर्ब ४३ करोड १८ लाख १० हजार चार सय २८ रुपैयाँ निक्षेप परिचालन गरी दुई अर्ब ४२ करोड ८० लाख ९० हजार चार सय ७० रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसैगरी विभिन्न बैंकमा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन छन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया