भाद्र १४, २०८३ आइतबार August 30, 2026

पुनर्निर्माणमा मात्रै खर्ब बढी खर्च लाग्ने अनुमान

बाढीका कारण रसुवा जिल्लामा मात्र सञ्चालनमा रहेका पाँच तथा निर्माणाधीन तीन गरी आठ जलविद्युत् आयोजना प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि पुनर्निर्माणमा सात खर्ब बढी नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणमा चारदेखि पाँच अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको बताउनुभएको हो । जुन, नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत हो । नेपालको कुल अर्थतन्त्र हाल ७० खर्ब हाराहारी छ । पुनर्निर्माणमा २०७२ सालको भूकम्पभन्दा केही कम खर्च लाग्ने उहाँको अनुमान छ । ‘प्रारम्भिक अनुमान चारदेखि पाँच अर्ब डलरको बीचमा छ । यो केवल अनुमान हो’, वाग्लेले रोयटर्ससँग कुरा गर्दै भन्नुभयो, ‘सन् २०१५ को भूकम्पको लागि हामीलाई चाहिनेभन्दा धेरै कम आवश्यक पर्नेछ । क्षति र क्षतिको आँकलन भइरहेको छ ।’

०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा नौ अर्ब लडर खर्च गरिएको थियो । यसपालिको बाढीमा किन त्योभन्दा कम खर्च हुने आँकलन गरियो भन्नेबारे उहाँले केही खुलाउनुभएको छैन । भूकम्पमा करिब नौ हजार मानिसहरूले ज्यान गुमाएका थिए भने पाँच लाखभन्दा बढी घरहरू ध्वस्त भएका थिए । बाढीले रेमिट्यान्स, पर्यटन र जलविद्युत्मा निर्भर अर्थतन्त्रलाई ठूलो धक्का दिने रोयटर्सले जनाएको छ । जसले राष्ट्रिय उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने विद्युत परियोजनाहरूलाई क्षति पुर्‍याउनेछ ।

बाढीले रसुवा, धादिङ र नुवाकोटका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । सरकारको प्रारम्भिक अनुमानअनुसार पूर्वाधार क्षेत्रमा मात्रै बाढीले अर्थतन्त्रमा दुई खर्बमाथिको क्षति गरेको छ । बाढी बस्तीसहित सडक र पुलबाहेक ऊर्जा र पर्यटनमा अकल्पनीय क्षति गरेको छ । बाढीले तीन दर्जन बढी पुल बगाएको छ । बेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरूपमा बगाएको छ । रसुवागढी भन्सार पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ । केही विद्युत् गृहमा पनि क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा जिल्लामा मात्र सञ्चालनमा रहेका पाँच तथा निर्माणाधीन तीन गरी आठ जलविद्युत् आयोजना प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ४३१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ४७० मेगावाट छ । प्रभावित आयोजनामा माथिल्लो त्रिशूली-१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना छन् । नुवाकोटमा सञ्चालनमा रहेका चार तथा निर्माणाधीन दुई गरी ६ आयोजना पनि बाढीबाट प्रभावित भएका छन् ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया