भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

देउवा र खड्काले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले उक्त आदेश जारी गरेको सर्वोच्चले जनाको छ । निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरिएको सो मुद्दामा निवेदकहरूले अन्तरकालीन आदेशको माग गरेका थिए । उनीहरूले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न माग गरेका थिए ।

अदालतले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासबाट गत वैशाख ४ गते भएको आदेशलाई मुख्य आधार मान्दै नयाँ निर्णय सुनाएको हो । यसअघि निर्वाचन आयोगको २०८२ साल माघ २ गतेको निर्णय बदर गर्नुपर्ने अवस्था नभएको भन्दै संयुक्त इजलासले देउवा र खड्काको रिट निवेदन नै खारेज गरिदिएको थियो ।

पूर्ण इजलासले उक्त पुरानो आदेशले निवेदक वा विपक्षीलाई कुनै थप काम कारबाही वा निर्णय गर्न आदेश वा निर्देशन नदिएको स्पष्ट पारेको छ । ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३१ को खण्ड (घ)ले सो संहिताको दफा २२० बमोजिम पुनरवलोकनको आदेश भएकोमा त्यसको किनारा नभएसम्म फैसलाको कार्यान्वयन स्थगन गर्नुपर्ने कानूनी व्यवस्था गरेको देखिए तापनि यस अदालतको मिति २०८३ वैशाख ४ गतेको आदेशले फैसला कार्यान्वयन गर्नुपर्ने गरी कुनै आदेश निर्देश नगरी निवेदन नै खारेज गरेको समेतको स्थितिमा निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गर्न पर्नेसम्मको पूर्वावस्था प्रथम दृष्टि (प्राइमा फेसी)मा नै नदेखिएको हुनाले निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गरिरहनु परेन’, पूर्ण इजलासले गरेको आदेशमा भनिएको छ ।

सर्वोच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गरिपाऊँ भनी दायर भएको प्रस्तुत निवेदनमा मागबमोजिमको आदेश जारी गर्न आवश्यक नदेखेपछि अब यस विवादलाई कानूनबमोजिम अगाडि बढाउनसमेत आदेश दिएको छ । प्रथम दृष्टिमै अस्वीकार भएपछि महाधिवेशनको प्रक्रिया अघि बढाउन गगन थापालाई बाटो खुला भएको छ । अब कांग्रेसको महाधिवेशन निर्वाधरुपबाट अघि बढाउन सक्नेछन् ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया