काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र सम्भावित हिमनदी विस्फोटबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनःउत्थानका लागि लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) ले करिब ३ करोड ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । फाउन्डेसनले २ लाख अमेरिकी डलर बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ उपलब्ध गराएको हो ।
लायन्सका अनुसार उक्त रकम स्थानीय लायन्स क्लबमार्फत प्रभावित परिवारलाई खाद्यान्न, सुरक्षित आश्रय, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ । राहतसँगै विपदबाट क्षतिग्रस्त समुदायको पुनःस्थापना, पुनर्निर्माण र दीर्घकालीन पुनःउत्थानका कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।
लायन्स इन्टरनेसनलका डाइरेक्टर राजन लाम्सालले विपद्को समयमा राहतमा ढिलाइ गर्न नहुने भन्दै प्रभावित समुदायलाई सहयोग गर्न लायन्स विश्वव्यापी रूपमा प्रतिबद्ध रहेको बताए । उनले सरकारी निकाय, सामाजिक संघसंस्था, दातृ निकाय र नागरिकबीचको सहकार्यबाट राहत अभियानलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गरे । “विपद् आउँदा सहयोग पर्खिँदैन-सहयोगको सुरुवात तपाईंबाट हुन्छ,” उनले भने ।
लायन्स क्लब्स इन्टरनेसनल र LCIF ले तत्कालीन राहतसँगै घरबार गुमाएका तथा प्रभावित परिवारलाई दीर्घकालीन रूपमा पुनःस्थापित गर्न आवश्यक सहयोग जारी राख्ने जनाएको छ । विपद्को पीडामा परेका परिवारका लागि आएको यो सहयोगले राहतसँगै पुनःजीवन सुरु गर्ने आशा र भरोसा थपेको निर्देशक लम्सालको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया