काठमाडौँ, ११ भदौः गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुग्नुभएको छ । उहाँ स्थलमार्ग हुँदै नुवाकोट पुग्नुभएको हो ।
गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धारकार्यको स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले विपद् प्रभावित क्षेत्रमा आवश्यक मानवीय उद्धार तथा राहतकार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सुरक्षा निकाय तथा उद्धार टोलीलाई निर्देशन दिनुभएको छ ।
यसअघि गृहमन्त्री गुरुङले काठमाडौँमै रहेर विपद् व्यवस्थापनसँग सम्बन्धित टोली तथा विभिन्न जिल्लाका सुरक्षा निकायबाट निरन्तर अवस्थाबारे जानकारी लिँदै आउनुभएको थियो । विपद् व्यवस्थापनको समग्र अवस्थालाई काठमाडौँस्थित संयन्त्रमार्फत सहज बनाउँदै उहाँ स्थलगत निरीक्षणका लागि नुवाकोट पुग्नुभएको हो ।
गुरुङ केही समय नुवाकोटमै रहेर विपद्को अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिने तयारीमा हुनुहुन्छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया