काठमाडौं : चियाका लागि नेपाल आत्मनिर्भर मुलुक हो । चिया सहकारी खोलेर व्यावसायिक विकासमा लागेका किसानका लागि चिया उद्योग रोजगारीसँगै आम्दानीको बलियो माध्याम बन्दै गएको छ । तर, नेपाली चियाको बजार अभावले चिया व्यवसायी चिन्तित छन् ।
२०५१ सालबाट प्रारम्भ भएको चिया सहकारी अभियान ६०को दशकपछि धमाधम दर्ता हुने र सहकारीमार्फत व्यावसायिक बन्दै गए । त्यसपश्चात् किसानको बगैंचादेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने नेपाली चियाको यात्रामा सहकारी महत्त्वपूर्ण आधार बन्न पुग्यो ।
देशभर करिब १८ देखि २० हजार किसानले सहकारीमार्फत वा निजी लगानीमा व्यावसायिक चिया खेती गर्दै आएका छन् । अहिले १ सय १० चिया सहकारी सञ्चालनमा छन् भने कम्तीमा साढे ९ हजार किसान सदस्य छन् । साना किसानको छरिएको उत्पादनलाई एउटै प्रणालीमा ल्याउन सहकारी संरचना चियाको क्षेत्रमा महत्त्वपूर्ण माध्यम बनेको चिया सहकारी केन्द्रीय संघका महासचिव नवीन राईले बताए । ‘नेपालमा चियाको सम्भावना राम्रो छ,’ उनले भने, ‘चिया सहकारीले किसानलाई संगठित गरेर उत्पादनको आधार तयार गरिसकेका छन् । अब किसानले कच्चा पत्ती बेच्ने सहकारीबाट आफ्नै ब्रान्डको चिया बेच्ने उद्यमतर्फ फड्को मार्नुपर्नेछ ।’ सरकारले अनुदानभन्दा पूर्वाधार र बजारमा लगानी गर्ने, गैरसरकारी संस्थाले परियोजनामुखी सहयोगभन्दा दीर्घकालीन व्यावसायिक क्षमता विकासमा जोड दिनुपर्ने राईले बताए ।
‘अहिले १ सय १० चिया सहकारी सञ्चालनमा छन्,’ संघका महासचिव राईले भने, ‘ती सहकारीमा कम्तीमा ९ हजार किसान सदस्यकै रूपमा जेडिएका छन् । सहकारीमा आबद्ध किसानले उत्पादन गरेको चिया विश्वबजारसम्म आकिर्षित हुन थालेको छ ।’ सहकारीको कारोबार केवल हरियो पत्ती बिक्रीमा सीमित नराखी प्रशोधन, प्याकेजिङ र ब्रान्डिङतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड छ । चियाको उत्पादन, प्रशोधन, ब्रान्डिङ र निर्यातमा सहकारीको भूमिका बढ्दै जाँदा बजार विविधीकरण, गुणस्तर प्रमाणीकरण र सरकारी सहयोग नभएको राईले दाबी गरे ।
२०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित पाँचवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरेका थिए । किसान तहमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ जारी भएसँगै चिया उत्पादनका क्षेत्रमा व्यावसायिक विकासको प्रारम्भ भयो । ०४६–४७ सालदेखि ५०–५२ सालबाट विस्तारै अपडेट हुँदै गएको चिया उद्योग अहिले आर्थिक सम्भावना र रोजगारीको बलियो आधार बनेको छ । नेपालको तराई र पडाहका विभिन्न क्षेत्रमा चियाको व्यावसायिक खेती विस्तार हुँदै गएको छ ।
भारतीय बजारको भर
नेपालमा उत्पादित ७० प्रतिशत चिया भारतीय बजारमा निर्यात हुन्छ । यहाँ वार्षिक ३ करोड किलो अर्थात् (तीन हजार मेट्रिकटन) तयारी चिया उत्पादन हुने गरेको छ । नेपालीहरू चियाका पारखी नभएका कारण गाउँ घरमा चिया भन्दा मही, दही र दूध बढी खपत हुने गरेको पाइन्छ । करिब १ करोड केजी चिया पनि नेपालमा खपत हुँदैन । बाँकी चिया भारतसहित तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । यद्यपि करिब ७० प्रतिशत नेपाली चियाको बजार भारत नै हो । भारतले बेलाबखत चिया आयातामा रोक लगाएका कारण चिया व्यवसायी मारमा छन् ।
उक्त समस्याबाट मुक्त हुन नेपाल सरकारले तेस्रो मुलुकमा निर्यातको वातावरण बनाउनुपर्ने व्यवसायी तथा चिया सहकारी अभियान्ताहरूको माग छ । युरोप, अमेरिका, क्यानडासहितका तेस्रो मुलुकमा करिब १० देखि १५ प्रतिशत मात्रै चिया निर्यात हुने गरेको छ । ‘मुख्य बजारमा इन्ट्री भएन भने त यहाँ गाह्रो भइहाल्छ,’ सहकारी संघका महासचिव राई भन्छन्, ‘भारतले नेपाली चिया निर्यातमा रोक लगाउँदा नेपाली चिया किसानहरू मारमा पर्ने गरेका छन् । १ केजी तयारी चिया बन्नलाई करिब ५ केजी हरियो पत्ती आवश्यक पर्दछ ।’ निर्यात रोकिँदा सिधै किसानको मूल्य रोक्ने उनको भनाइ छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र व्यवसायीहरूको तथ्यांकअनुसार नेपालमा वार्षिक प्रतिव्यक्ति ३५० ग्राम चिया खपत हुन्छ । नेपाली बजारमा सबैभन्दा बढी सिटिसी चिया खपत हुने गरेको छ । सिटिसी चियामा आत्मनिर्भर रहेको नेपालमा उत्पादित चियाको करिब ५० प्रतिशत स्वदेशभित्रै खपत हुने तथ्यांकमा उल्लेख छ । त्यस्तै, अर्थोडक्स र ग्रिन टी नेपालको पहाडी भेगमा उत्पादन हुने उच्च गुणस्तरको चिया हो । जसको ठुलो हिस्सा (करिब ९५ प्रतिशतभन्दा बढी) विदेश निर्यात हुने गर्दछ । नेपालका सहरी क्षेत्र र पर्यटकीय स्थलहरूमा यसको आन्तरिक व्यापार भने राम्रो देखिएको छ । सिटिसी चियाको आधा उत्पादन डोमेस्टिक खरिद हुने गरेको र आधा भारतीय बजारका लागि निर्यात हुने गरेको व्यवसायीहरूको दाबी छ । मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया