भाद्र ७, २०८३ आइतबार August 23, 2026

नेपालबाट अन्तर्राष्ट्रिय बजारमा घ्यू निर्यात सुरु

दुबर्ईमा सफल परीक्षण भएपछि अन्य मध्यपूर्वी देशहरूमा पनि विस्तार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालबाट पहिलोटक औचारिकरूपमा अन्तर्राष्ट्रिय बजारमा घ्यू निर्यात सुरु भएको छ । पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था(डिडिसी) ले डिडिसी घ्यू दुबर्ई निर्यात सुरु गरेको हो । डिडिसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुबर्ई पठाइएको हो । त्यहाँ रहेका स्थानीय वितरकमार्फत घिउ बजारमा पुर्‍याइनेछ । दुबर्ईमा सफल परीक्षण भएपछि अन्य मध्यपूर्वी देशहरूमा पनि विस्तार गरिने र डिडिसीका अन्य दुग्धजन्य उत्पादन पनि क्रमिकरूपमा निर्यात सुरु गर्ने डिडिसीको तयारी छ ।

डिडिसीका अनुसार हाल पहिलो खेपमा १२ सय जार घिउ दुबर्ई पठाइनेछ । प्रतिजार तीन सय ५० मिलिलिटरका दरले करिब छ सय केजी घिउ निर्यात गरिएको छ । जसको लागत मूल्य करिब पाँच लाख ५० हजार नेपाली रुपैयाँ रहेको छ । दुबर्ईका लागि विशिष्ट प्रकारको सिसाको जारमा घिउ प्याकेजिङ गरी पठाइएको हो । दुबर्ईमा एउटा ठूलो डिपार्टमेन्ट स्टोर उद्घाटन हुन लागेको र त्यहाँ माग आएकाले हवाई मार्गबाट सामान पठाइएको भए पनि आगामी दिनमा कन्टेनरमार्फत् ठूलो परिमाणमा पठाइने डिडिसीले जनाएको छ । नेपालको निर्यातकर्ता कम्पनी ‘रातो र चन्द्र सूर्य’ मार्फत् घिउ निर्यात गरिएको हो । निर्यात गर्नुअघि दुबईमा आवश्यक पर्ने गुणस्तरसम्बन्धी सम्पूर्ण परीक्षण र प्रक्रिया पूरा गरिएको छ ।

नेपालमा हाल डिडिसीको घ्यू बट्टामा प्रतिलिटर १३ सय रुपैयाँ र पाउचमा प्रतिलिटर १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । दुबर्ईमा हुने बिक्री मूल्य भने त्यहाँको ढुवानी खर्च र अन्य करहरूका आधारमा निर्धारण हुने बताइएको छ । डिडिसी र रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीको सम्झौताअनुरूप पहिलो लटमा छ सय केजी घिउ निर्यात हुने कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले जानकारी गराउनुभएको छ ।

आयात निर्यात दुवै बढ्दोक्रममा

चालु आर्थिक २०८३/८४ वर्षको पहिलो महिना साउनमा आयात ३१.०४ र निर्यात ६१.७२ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांकअनुसार साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा यस्तो निर्यात २३ अर्ब ९३ करोड थियो ।

एक वर्षमै निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढे पनि आयात पनि बढेकाले व्यापार घाटा बढेर गएको छ । चालु आर्थिक वर्षको साउन एक खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको साउनमा एक खर्ब ४३ अर्ब चार करोडको आयात भएको थियो । साउन व्यापार घाटा एक खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही महिना व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड थियो । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालमा करिब पौने दुर्ई अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा विभिन्न प्रकारका विद्युतीय तीनपांग्रे तथा अन्य विद्युतीय सवारीसाधन गरी कुल एक अर्ब ८४ करोड ३२ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भएको हो । ती विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब १४ करोड ४६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सबैभन्दा धेरै चीनबाट अनएसेम्बल्ड विद्युतीय तीनपांग्रे सवारीसाधन एक हजार एक सय ७१ थान आयात भएका छन् भने पाँच सय १७ थान विद्युतीय तीनपांग्रे सवारीसाधन तथा अन्य विद्युतीय सवारीसाधन चार सय ८९ थान आयात भएका छन् । भारतबाट दुई सय थान विद्युतीय तीनपांग्रे सवारीसाधन र एक सय ९९ थान अन्य विद्युतीय सवारीसाधन आयात भएका छन् ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया