काठमाडौं । नेपाली कांग्रेसको इतर पक्ष (निवर्तमान सभापति शेरबहादुर देउवा समूह)ले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्वमहामन्त्री डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार बिहान बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो ।
यता, संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठकमार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । देउवा पक्षसँगको सहमतिका लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ । संशोधित तालिकाअनुसार वडा अधिवेशन २६ भदौबाट सुरु हुनेछ । आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । महाधिवेशनका अन्य प्रक्रिया भने सुरु भइसकेका छन् । सर्वोच्च अदालतले कांग्रेस विवादमा यसअघि आफैँले गरेको फैसला पुनरवलोकनका लागि २१ साउनमा आदेश दिएपछि इतर पक्षले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन रोक्नुपर्ने माग गर्दै आएको छ ।
इतर पक्षको बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता एनपी साउदले भन्नुभयो, ‘वडा तहको अधिवेशनबाटै विभाजनको अवस्था सुरु हुन्छ । त्यसैले कसले मान्यता पाउने ? भन्ने कुरा अदालतको अन्तिम निर्णय नआउञ्जेल पर्खनुपर्ने हुन्छ । दुईवटा समानान्तर महाधिवेशन हुँदा वा एक्लै गराउँदा पुनरवलोकनको प्रयोजन निष्क्रिय हुने भएकाले अधिवेशन रोकिनुपर्छ भनेर अदालत जाने निर्णय भएको हो ।’ नेता साउदका अनुसार आज (शुक्रबार) महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालतमा रिट दर्ता हुनेछ ।
संस्थापनइतर समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले पनि महाराजगञ्ज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिँदै भन्नुभयो, ‘जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ । शुक्रबारसम्म निवेदन दर्ता हुन्छ ।’ अदालतको अन्तिम फैसला आउनुअघि नै महाधिवेशन गर्ने हो भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व स्वीकार गर्नुपर्ने इतर समूहका नेताहरूको अडान छ । गत २९ देखि ३१ साउनसम्म भएको इतर समूहको राष्ट्रिय सम्मेलनले पनि पूर्वसभापति देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । अदालतको पुनरवलोकनमा अन्तिम फैसला नआउँदासम्म गगन थापा नेतृत्वले महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने इतर पक्षको दृष्टिकोण छ ।
देउवालक्षित गगनको टिप्पणी : ‘कोही छैटौँ पटक प्रधानमन्त्री हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ’
कांग्रेस सभापति गगन थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसक्दा पनि सन्तुष्ट नभएको जिकिर गर्दै भन्नुभयो, ‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ ।’ कांग्रेसका पूर्व–सभापतिसमेत रहेका देउवा पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आलोपालो प्रधानमन्त्री हुने सहमति गर्नुभएको थियो । तर, गत भदौमा भएको जेन–जी आन्दोलनका कारण ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । त्यसपछि गत फागुनमा भएको चुनावमा देउवा उम्मेदवार बन्नुभएन । यस्तै, सभापति थापाले देउवा तेस्रो पटक सभापति बन्न नपाएकोमा पनि असन्तुष्ट रहेको टिप्पणी गर्दै भन्नुभयो, ‘दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ । हामी हेर्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ ।’ देउवा दुई पटक कांग्रेसको सभापति भइसक्नु भएको छ । कांग्रेसको विधानमा तेस्रो पटक सभापति हुने व्यवस्था छैन ।
पार्टी एकतालाई मजबुत बनाउन क्रियाशील बन्न उपसभापति शर्माको आग्रह
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ । बिहीबार केन्द्रीय नीति प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्नेक्रममा स्व. प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उपसभापति शर्माले भन्नुभयो, ‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ । उहाँ एक समुद्र जस्तै हुनुहुन्थ्यो । समुद्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ । स्व. प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुनुपर्छ ।’
पार्टी मिलाउन कोसिस गर्दा गर्दा थाकिसकेँ : लेखक
कांग्रेसका नेता रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकोले अब आफू थाकिसकेको प्रतिक्रिया दिनुभएको छ । गत पुसमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद रहँदादेखि नै नेता लेखक सबैको सहमतिमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिनुभएको थियो । गत पुसमा भएको विशेष महाधिवेशन र फागुनको आमनिर्वाचनपछि पनि पार्टी एकताबद्ध बनाउन लेखकले दुवै तर्फका नेताहरूसँग संवाद गरी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । तर, अब यो प्रक्रियाबाट आफू थाकिसकेको प्रतिक्रिया दिँदै लेखकले भन्नुभयो, ‘पार्टी मिलाउन कोसिस गर्दा गर्दा थाकिसकेँ । पार्टी मिल्दैन, अब पार्टी मिलेन भने विभाजन हुने भयो । पछिल्लो समय संवादहरू भएका छन् कि छैनन् ? मलाई थाहा पनि छैन । म त धेरै कोसिस गरेर नसकेपछि थाकेर बसेको हो ।’हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया