काठमाडौं । ‘जेन-जी’ आन्दोलनपछि निर्वाचनबाट नयाँ सरकार गठन भएसँगै रोजगारका लागि विदेशिनेको संख्या कम हुने आँकनल गरिएको थियो । तर, यो संख्या घट्नुको सट्टा बढ्दै गइरहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र नौ हजार ९६९ महिला छन् । गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या दुई हजार ३३१ ले बढेको हो । प्रतिशतका आधारमा यो वृद्धि ३.३० प्रतिशत रहेको विभागको तथ्यांकले देखाएको छ ।
साउनमा श्रम स्वीकृति लिनेमध्ये ४२ हजार ६९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यसले रोजगारीका लागि पहिलो पटक विदेश जानेसँगै बिदामा नेपाल फर्किएर पुनः वैदेशिक रोजगारीमै फर्कने नेपालीको संख्या पनि उल्लेख्य रहेको देखाउँछ ।
विभागका अनुसार साउनमा म्यानपावर कम्पनीमार्फत नयाँ रोजगारीका लागि विदेश जाने नेपालीको संख्या २९ हजार ४४७ रहेको छ । बिदामा नेपाल आएर पुनः रोजगारीका लागि फर्कनेको संख्या २३ हजार ६४४ रहेको छ । त्यस्तै, व्यक्तिगत रूपमा नयाँ भिसामा वैदेशिक रोजगारीमा जानेको संख्या ११ हजार ७५२ रहेको छ भने सरकार–सरकार (जि–टुजी) सम्झौताअन्तर्गत ७१२ जना विदेश गएका छन् ।
युएई नेपाली श्रमिकको प्रमुख गन्तव्य
साउनमा नेपाली श्रमिकका लागि सबैभन्दा ठूलो वैदेशिक रोजगारी गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि आठ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यी चार मुलुकमा मात्रै साउन महिनामा करिब ५० हजार नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन् । यसले खाडी मुलुक तथा मलेसिया नेपाली श्रमिकका लागि अझै प्रमुख रोजगारी गन्तव्यका रूपमा कायम रहेको देखाउँछ ।
साउनमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या अघिल्लो महिना असारको तुलनामा समेत बढेको छ । असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका थिए भने साउनमा यो संख्या बढेर ७० हजार ४४१ पुगेको हो । अर्थात् एक महिनामै श्रम स्वीकृति लिनेको संख्या एक हजार ७९ ले बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा भने कुल सात लाख ९२ हजार १८७ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।
स्वदेशमा रोजगारीको चुनौती
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर उच्च रहनुले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको अवस्थालाई समेत प्रतिविम्बित गरेको छ । युवाको ठूलो हिस्सा रोजगारी तथा आम्दानीका लागि विदेशिन बाध्य भइरहेका बेला स्वदेशमै रोजगारी सिर्जना, सीप विकास तथा उत्पादनमूलक क्षेत्रमा युवालाई आकर्षित गर्ने प्रभावकारी नीति आवश्यक देखिएको छ ।
वैदेशिक रोजगारीबाट आउने विप्रेषणले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आए पनि ठूलो संख्यामा युवा श्रमशक्ति विदेशिनु दीर्घकालीन रूपमा चुनौतीपूर्ण विषय बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया