काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुनेगरी समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
तर, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र देउवाबीच औपचारिक संवाद नभएको करिब एक वर्ष भयो । गत भदौ २३को जेनजी आन्दोलनपूर्व एमालेसँगको सत्तासहकार्यमा रहँदा बेलाबखत थापा र देउवाबीच संवाद हुने गरे पनि त्यसयता औपचारिक भेट भएको छैन ।
यद्यपि, टेलिफोन संवाद भने आवश्यकताअनुसार बेलाबेलामा भइरहेको सभापति थापानिकटका नेताहरूले दाबी गरेका छन् । आन्तरिक राजनीतिक समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय–समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए । ‘जेनजी आन्दोलको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो, उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन । तर, पार्टीभित्रका समस्या सामाधानका सवालमा बेलाबखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए ।’
आन्तरिक असमझदारी संवादबाटै समाधान खोजिनुपर्ने नेताहरूको बाहिरी रटान कायम छ । तर, शीर्ष तहमा हुने संवादको भने अभाव खड्किएको छ । संस्थापन र संस्थापनइतर समूह दुवै आ–आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि विवाद थप जटिल बन्दै जाँदा संस्थापनइतर समूहले राष्ट्रिय भेला नै गर्न पुग्यो । उक्त भेलामा निवर्तमान सभापति देउवाको सहभागिताले समूहले राहतको महसुस गरेको छ । भेलामा सहभागी देशभरका कार्यकर्ताको उल्लेख्य उपस्थितिले नेताहरूमा ऊर्जा थपिएको देखिन्छ । तर, आन्तरिक विवाद समाधानमा यो भेला थप बाधक बन्ने कतिपयको बुझाइ छ ।
आन्तरिक विवाद समाधानका लागि संस्थापन र इतर समूहबीच पटक–पटक संवाद भए पनि दुवै पक्षले अघि सारेका प्रस्तावमा सहमति जुट्न सकेको छैन । उपसभापति विश्वप्रकाश शर्माले विवाद समाधानका लागि सातबुँदे प्रस्ताव अघि सारेका थिए । त्यसको प्रत्युत्तरमा संस्थापनइतर समूहले पाँचबुँदे प्रस्ताव प्रस्तुत गरेको थियो । संस्थापन पक्षको सातबुँदे र इतर समूहको पाँचबुँदे प्रस्तावबीच केही विषयमा समान धारणा देखिए पनि महाधिवेशनको कार्यतालिका, विभाग गठन, निर्णय प्रक्रियालगायत निर्णायक राजनीतिक मुद्दामा संवाद हुन सकेको छैन । नेताहरूबीच संवादहीनताको अवस्थाले सहमति जुट्न नसकेपछि कांग्रेस विग्रहको मोडमा पुगेको छ ।
आन्दोलनपछिको अवस्था
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा उपचारका क्रममा गत कात्तिक १०मै सिंगापुर गएका थिए । २८ दिनपछि मंसिर १८मा स्वदेश फर्किए । त्यसबेला कार्यवाहक सभापतिको जिम्मा लिएका पूर्णबहादुर खड्का समूह र वरिष्ठ नेता शेखर कोइराला–गगन थापा समूहबीच मतभेद चर्किएको थियो । शेखर–गगनले निर्वाचनअघि नै नियमित महाधिवेशनको एजेन्डा नछाड्दा तत्कालीन संस्थापन पक्षका नेताहरूले निर्वाचनपछि महाधिवेशन गर्ने अड्डी कसिरहे । पार्टीभित्र चुलिँदै गएको आन्तरिक समस्या देउवाले नै मिलाउने संस्थापन पक्षको अपेक्षा थियो । तर, देउवाले सबै अधिकार पूर्णबहादुरलाई दिएकाले उनीसँगै कुरा गर्न भनेपछि थापा समूहले विशेष महाधिवेशनलाई निर्विकल्प घोषणा गरेको महामन्त्री गुरु घिमिरेले बताए । ‘पुस २७मा समेत सभापति देउवालाई विशेष महाधिवेशनको उद्घाटनमा ल्याउने हाम्रो प्रयास असफल भएपछि ५७ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा हलबाट नीति र नेतृत्व फेरेका हौं,’ घिमिरेले मध्यान्हसँग भने ।
देउवा स्वयंले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका कारण सबै राजनीतिक मुद्दामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगै संवाद गर्ने गरेको गगननिकट नेताहरू बताउँछन् । तर, खड्काको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले कर्बि ५० दिनसम्म १५औं महाधिवेशनको एजेन्डामा सहमति जुटाउन नसकेपछि थापा–शर्माले विशेष महाधिवेशनलाई प्राथमिकता दिए । विशेष महाधिवेशनपछि पार्टीको संरचनाबाहिर रहन पुगेका देउवा र सभापतिको आशनमा पुगेका गगनबीच संवाद हुन सकेन ।
गगनसँग टिकट, देउवालाई सभापति
विशेष महाधिवेशनपश्चात् पार्टी संरचनाबाहिर पुगेका देउवा समूहका अधिकांश नेताले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाइरहे । तर, निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि गत फागुन २१को प्रतिनिधिसभा निर्वाचनमा सबैले थापालाई सभापति स्वीकार गरेका थिए । पछि सर्वोच्च अदालतले पनि थठापालाई नै आधिकारिकता दियो । थापाकै हस्ताक्षरको टिकट लिएर चुनावमा गएका देउवा पक्षका अधिकांश नेता निर्वाचनमा पराजित भए । उनीहरूमध्ये अधिकांश फेरि वर्तमान नेतृत्वविरुद्ध एकताबद्ध बनेका छन् । निर्वाचनपछि शेरबहादुर देउवालाई नै जबर्जस्त सभापति बनाउनेहरूमा डा.शेखर कोइराला, डा.प्रकाशशरण महत, डा.मीनेन्द्र रिजाल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउद, डिना उपाध्यायलगायत छन् ।
संस्थापन पक्ष पार्टीलाई पुनर्जागृत बनाउने अभियानमा लागेको छ । पार्टीको १५औैं महाधिवेशन असोजको १७–१९मा गर्ने कार्यतालिका सार्वजनिक गरेर महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ । ‘हामी तोकेकै मितिमा महाधिवेशन गर्न चाहन्छौं । सबै पक्षलाई समेटेर एकता कायम गर्ने र विधानका परिधिभित्र रहेर पार्टीलाई संस्थागत तथा व्यवस्थित बनाउन चाहन्छौं,’ सहमहामन्त्री डिला संग्रौलाले बताइन् । यद्यपि, इतर समूहले सानेपाबाट निर्णय भएर अघि बढेका महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय भेला आयोजना गरेर देउवालाई नै पार्टी सभापति भएको सन्देश दिएका छन् ।
बिहीबार सिंगापुरबाट नेपाल आएका देउवालाई चुनदेवीस्थित सम्पर्क कार्यालयमा सभापतिकै हैसियतमा राखेको यो समूहले शुक्रबारको औपचारिक कार्यक्रममा पार्टी सभापतिकै रूपमा सम्बोधन गर्यो । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा राष्ट्रिय भेलालाई देउवाले पार्टी सभापतिको हैसियतमा प्रमुख अतिथि बनेर उद्घाटन गरे । भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले देउवा नै सभापति भएको र उनकै नेतृत्वमा १५ महाधिवेशन हुने दाबी गरेका हुन् । तर, संस्थापन पक्षले भने यो घटनालाई राजनीतिक नैतिकताको प्रश्न उठाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीको विधान, निर्वाचन आयोग, अदालत सबैले विशेष महाधिवेशनलाई मान्यता दिएर आमनिर्वाचनमा गइसकेको अवस्थामा स्वघोषित सभापति बन्नु राजनीतिक नैतिकता नभएको बताए । उनले भने, ‘तत्कालीन सभापति देउवा र सो समूहका नेताहरूले समेत थापालाई सभापति स्वीकार गरेर चुनाव लडे, फेरि देउवालाई सभापति भन्नु र देउवा स्वयंसमेतले आफैंलाई सभापति घोषणा गर्नु लज्जास्पद हो । यो राजनीतिक नैतिकता र कानुन पालनाको प्रश्न पनि हो ।’
नेताहरूको एकताको रटान
राष्ट्रिय भेला आयोजक समितिका संयोजक एवं पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन् । भेलाको उद्घाटन समारोहमा डा.कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको दाबी गरे । ‘कांग्रेस एकढिक्का भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यही नै भेलाको मुख्य उद्देश्य हो,’ उनले भने । उनले यसो भन्दै गर्दा फेरि पनि देउवा नै सभापति भएको दोहोर्याए । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल हुने र पार्टी एकता हुने उनको जिकीर छ । एकताको रटान दोहोर्याएका नेता कोइरालाले मूल नेतृत्वसँग भने अहिलेसम्म संवादको वातावरण बनाउन सकेका छैनन् ।
सोही कार्यक्रममा नेता डा.शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू विश्वस्त रहेको बताए । ‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । कांग्रेसलाई हामी मिलाउँछौं,’ इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मलाई विश्वास छ नेपाली कांग्रेस एकढिक्का हुन्छ र हुन्छ भन्ने कुरामा म विश्वस्त छु । यो देशको निम्ति एकढिक्का हुन जरुरी छ ।’
१४औं महाधिवेशनमा देउवासँगै सभापतिमा भिडेका उनले आफू पार्टी विभाजन रोक्ने प्रयासमा निरन्तर लागेको दाबी गरे । आन्तरिक एकता गरेर कांग्रेसले अन्य राजनीतिक पार्टीहरूलाई समेत राष्ट्रिय एकताको सूत्रमा जोड्ने काम गर्दै आएको उनको दाबी छ । ‘नेपाली कांग्रेस मात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिँडेको पार्टी हो । हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं,’ उनले भने ।
त्यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई आफ्नो गल्ती सच्याउन सुझाव दिए । हठका कारण इतिहासमा ठुलाठुला शासकहरूको पतन भएको स्मरण गराउँदै उनले थापालाई नसच्चिए पतन निश्चित रहेको चेतावनीसमेत दिए । ‘मानिसको जीवनमा गल्ती हुन्छ, तर त्यसलाई सच्याउन सक्नुपर्छ,’ उनले भने, ‘दुनियाँमा ठुलाठुला शासकहरू आफूले गरेको गल्ती नसच्याउने हठका कारण पतन भएका छन् । गगनजी, सच्याउने अवसर अझै तपाईंलाई छ ।’
विशेष महाधिवेशनको वैधानिकता सम्बन्धमा सिटौलाले संवैधानिक निकायहरूको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । ‘विधि र प्रक्रिया नपुर्याई विशेष महाधिवेशन गरेको कागज बोकेर गगन थापाहरू निर्वाचन आयोग पुगेपछि सभापति शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई सोध्दै नसोधी आयुक्तहरूले बहुमतका आधारमा निर्णय गरिदिनुभयो । यो कसैको लहडमा गरिएको निर्णय जस्तो देखियो,’ उनले भने ।
त्यस्तै, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीलाई एक ढिक्का राख्न संवाद र सहकार्यको विकल्प नरहेको बताइन् । पार्टीलाई एउटा घर र परिवारसँग तुलना गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस एउटा परिवार हो । यो परिवारभित्र उत्पन्न हुने कलहले केवल पार्टीलाई मात्र होइन, सिंगो मुलुकलाई नै ध्वस्त बनाउन सक्छ ।’ उनले पार्टीका नेताहरूलाई आन्तरिक विवाद सुल्झाएर राष्ट्रिय हितमा केन्द्रित हुन आग्रह गरिन् । ‘पार्टी एकता आजको अपरिहार्य आवश्यकता हो । हामीले आपसी संवाद र सहकार्यका माध्यमबाट पार्टीलाई एकताबद्ध राख्नैपर्छ,’ उनले भनिन् ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया