काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गत कात्तिक १०मै सक्रिय राजनीतिबाट बिदा लिएका थिए । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सक्रिय राजनीतिबाट बिदा लिएका नेता देउवा करिब १० महिनापछि जबर्जस्त सभापतिकै दाबीसहित राजनीतिमा फर्किने प्रयासमा छन् ।
सिंगापुर र हङकङको लामो बसाइ र स्वस्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवा चुनदेवीस्थित आफ्नै समूहका नेताहरूले व्यवस्थापन गरेको सम्पर्क कार्यालयमा सभापतिको नेमप्लेटसहितको च्याम्बरमा बसे । समर्थक नेता–कार्यकर्ताले अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो तामझाम र बाजागाजासहित देउवालाई सम्पर्क कार्यालयमा ल्याएका थिए ।
आन्तरिक विवादको चरमोत्कर्षमा रहेको नेपाली कांग्रेसको सभापतिमा साढे ९ महिनापछि दुईजनाको दाबी देखिएको हो । विशेष महाधिवेशनले नयाँ नीति र नेतृत्व परिवर्तन गरेपछि पार्टी विधान र निर्वाचन ऐनअनुसार निवर्तमान सभापति बनेका शेरबहादुर देउवा पुनः सभापतिको ‘नेमप्लेट’ लेखेर सम्पर्क कार्यालयमा पदासीन भएपछि कांग्रेसमा नयाँ तरंग उत्पन्न भएको छ । तर, उनी पार्टी कार्यालय गएर पुरानो च्याम्बरमा भने बस्न पाएका छैनन् ।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पद छाड्न चर्को दबाब दिएपछि उनले खड्कालाई कार्यवाहक सुम्पिँदै सक्रिय राजनीतिबाट बिदा लिएको सन्देश दिएका थिए । यो बीचको अवधिमा कांग्रेसको आन्तरिक झगडा थप पेचिलो बन्दै गयो । पछिल्लोपटक फागुन १३मा थप स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा करिब ६ महिनापछि शुक्रबार स्वदेश फर्किएका हुन् । नेपाल फर्किएलगत्तै देउवा आफूनिकट नेताहरूले व्यवस्थापन गरेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको च्याम्बरमा बसेका हुन् ।
देउवाले विमानबाट झरेसँगै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको सन्देश दिएका थिए । सरकारलाई जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्न आग्रह गर्दै उनले राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहनसमेत सुझाव दिए । ‘जनतामा अहिले परिवर्तनको ठुलो आकांक्षा देखिएको छ,’ उनले भनेका छन्, ‘त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो । आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन ।’ परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै देउवाले आफूहरू अन्धाधुन्ध नदौडिने, विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरणलाई अघि बढाउने बताएका थिए । तर, उनको भनाइ र वास्तविक व्यवहारमा भने फरक देखिएको छ । उनी सभापति लेखिएको च्याम्बरमा बस्नुका साथै भाषणमा समेत कडा रूपमा प्रस्तुत भए ।
उता, सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति गगन थापा नेतृत्वको कांग्रेस क्रियाशील छ । देउवाको स्वदेश फिर्ती र सभापतिकौ रूपमा गरिएका आसनसँगै नेपाली कांग्रेसमा दुई कार्यालय र दुई सभापतिको समानान्तर अभ्यास सुरु भएको हो । योसँगै कांग्रेसमा शक्ति संघर्ष र धु्रवीकरणको दबाब बढेको विश्लेषकहरू बताउँछन् । देउवा पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले समेत देउवा नै सभापति भएको दाबी गरेका छन् । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उनले दाबी गरे । ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ,’ उनले भने, ‘अहिले पनि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’
इतरसमूहमा लामो समयदेखि कसलाई नेतृत्व मान्ने भन्ने अन्योलकै बीच साउन ९ गतेको बैठकले पूर्वमहामन्त्री शशांक कोइरालालाई टिमको संयोजक तोकिएको थियो । चुनदेवी कांग्रेस बैठकबाट संयोजकको भूमिका पाएका नेता कोइरालाले शुक्रबार राष्ट्रिय भेलाको संयोजन गरेका छन् । सोही भेलालाई सम्बोधन गर्न देउवासमेत आइपुगेका हुन् ।
देउवाको सक्रियतासँगै उनको समूहका नेताहरू र गत १४औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका नेता डा.शेखर कोइरालासमेत एकाकार भएका छन् । यसले संस्थापनसँगको बार्गेनिङ बढाउन र आफ्नो टिम बलियो बनेको देउवा समूहका नेताहरूको विश्वास छ । विशेष महाधिवेशनपछि थप झमेलामा रहेको कांग्रेसको आधिकारीकता विवाद माघको अन्तिम साता नै टुंगिएको थियो । यद्यपि पार्टीको आधिकारिकता विवादका सम्बन्धमा निर्वाचन आयोग र सर्वोच्चले गरेको आदेशप्रति चित्त नबुझेको भन्दै अन्तिम परीक्षणको माग गरेको देउवा पक्षलाई सर्वोच्चले पुनःपरीक्षणको निस्सा दिएको छ ।
अदालतको निस्सा र देउवाको आगमनपछि संस्थापनइतर पक्षका नेताहरूमा उत्साह थपेको देउवानिकट नेता गुरु बरालले बताए । उनले मध्यान्हसँग भने, ‘सर्वोच्च अदालतको विशेष महाधिवेशनको पक्षमा गरेको फैसलामा त्रुटिपूर्ण छ र दलीय ऐन–कानुनबामोजिम छैन भन्ने आशयका साथ पुनः परीक्षणको निस्सा दिएपछि हामीले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई स्वतः सभापति मानेका हौं ।’ देउवाको आगमन र अदालतको निस्साले आमकांग्रेसजनमा स्वस्फूर्त उत्साह थपेको उनको दाबी छ । यद्यपि पार्टी कार्यालयमा जाने आँट भने नेताहरूले गरेका छैनन् ।
सभापति गगन थापाले पार्टी कार्यालयमा भएको केन्द्रीय समितिको बैठकमा पूर्वप्रधानमन्त्री तथा पूर्वसभापतिको हैसियतमा देउवालाई नेपालमा स्वागत गरेको बताएका थिए । स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । ‘हामीले देउवाको राजनीतिक योगदानको प्रशंसा गर्दै पार्टीको वैधानिक परिवर्तनलाई संस्थागत गर्न र समयसापेक्ष तथा गतिशील कांग्रेस निर्माणमा निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छौं,’ उनले भने ।
कांग्रेस संस्थापन पक्षले १५औं महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ । तर, देउवा समूहले विशेष महाधिवेशनबाट आएको नेतृत्वको निर्णय नमान्ने दाबी गर्दै आएको छ । आगामी महाधिवेशनका सन्दर्भमा पार्टीको क्रियाशील सदस्यता अध्यावधिकको विषयलाई संस्थापनइतरले मूल मुद्दा बनाएका हुन् । विशेषबाट आएको नेतृत्वले पार्टी कब्जा गरेको उक्त समूहका पूर्वकेन्द्रीय सदस्य उषा राउत मिश्राले बताइन् । १५औं महाधिवेशनको प्रक्रिया र तालिका सर्वस्वीकार्य हुनुपर्ने भन्दै उनले भनिन्, ‘गत माघमै नियमित महाधिवेशनको आवश्यक तयारी अघि बढेको र क्रियाशील सदस्यतासमेत नवीकरण भइसकेको अवस्थामा विशेष महाधिवेशनका नाममा पार्टीलाई हाइज्याक गर्ने काम भयो ।’ सानेपा पक्षका कांग्रेसले नै कांग्रेस फुटाउन खोजेको उनको आरोप छ । ‘हामी पार्टी टुक्र्याउने पक्षमा छैनौं, तर त्यसो भन्दैमा अध्यावधिक नगरे कांग्रेस नै रहँदैनौ भन्दैमा लत्रिएर जाने अवस्था रहँदैन,’ उनले मध्यान्हसँग भनिन् ।
नेपाली कांग्रेस सहज परिस्थितिमा स्थापित भएको पार्टी नभई देशमा अप्ठ्यारो अवस्था आउँदा स्थापना भएको उनले बताइन् । उनले भनिन्, ‘अहिले पनि कांग्रेसले नै नेतृत्व लिनुपर्ने परिस्थिति आएकाले देउवालाई फेरि सक्रिय राजनीतिमा माग भएको हो ।’ शुक्रबारको राष्ट्रिय भेलाको सन्देश पनि पार्टी एकता र नियमित महाधिवेशनको नै भएको मिश्राले दाबी गरिन् ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया