काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच महिनापछि स्वदेश फर्किनुभएको छ । स्वास्थ्य उपचारको लागि गत फागुन १२ गते सिंगापुर जानुभएका देउवा हङकङ हुँदै बिहीबार नेपाल फर्किनुभएको हो । असहज परिस्थितिमा देश छाड्नुभएका देउवाको स्वदेश फर्किनेक्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । देउवाको स्वागतमा विभिन्न सांस्कृतिक झाँकीसहित कांग्रेसइतर पक्षका शीर्ष नेता, कार्यकर्ता र शुभेच्छुक विमानस्थल पुगेका थिए । विमानस्थलमा स्वागतपश्चात् देउवाको ‘रोड सो’ भएको थियो । देउवाले कारको सनरुफबाट आधा जिउ निकालेर समर्थकलाई हात हल्लाउँदै विमानस्थलबाट प्रस्थान गर्नुभएको थियो । विमानस्थलमा समर्थकहरूले बाजागाजा र नाराबाजीसहित स्वागत गरेपछि कडा सुरक्षा घेरा र सयौँ कार्यकर्ताले स्कर्टिङसहित देउवालाई इतर समूहको सम्पर्क कार्यालय पुर्याएका थिए ।
गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवा दम्पतीमाथि सांघातिक आक्रमण गरेका थिए । देउवाको बूढानीलकण्ठस्थित निवास आन्दोलनकारीको आगजनी र तोडफोडबाट ध्वस्त पारिएको थियो । त्यसपछि देउवा दम्पती गत असोजमा उपचारका लागि सिंगापुर जानुभएको थियो । पछिल्लो पटक फागुनमा भने थप उपचारका लागि सिंगापुर हुँदै उहाँ हङकङ पुग्नुभएको थियो ।
देउवाको स्वदेश फिर्ती कांग्रेसभित्रको शक्ति संघर्षका दृष्टिले अर्थपूर्ण मानिएको छ । कांग्रेसको संस्थापनइतर समूहले आज (शुक्रबार) देखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको पूर्वसन्ध्यामा देउवा स्वदेश फर्किनुभएको हो । विशेष महाधिवेशनमार्फत गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको आधिकारिकता विवाद र देउवा पक्षका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलाले पार्टीभित्रको विवादलाई थप पेचिलो बनाउने देखिन्छ । देउवाको अनुपस्थितिमा लामो समयदेखि सक्रिय रहेको पार्टीभित्रको शक्ति समीकरणमा उहाँको प्रत्यक्ष उपस्थितिले नयाँ राजनीतिक बहस जन्माउने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ । विशेषगरी कांग्रेसको नेतृत्व, आधिकारिकता र आगामी राजनीतिक रणनीतिबारे देउवा पक्षको भूमिका कस्तो हुन्छ भन्नेमा चासो बढेको छ ।
राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झण्डै साढे पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै एक अपिल जारी गर्नुभएको छ । अपिलमार्फत देउवाले आफू कुनै पद वा शक्तिको प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपिलमा देउवाले भन्नुभएको छ, ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ ।’ सभापति देउवाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको समेत टिप्पणी गर्नुभएको छ । सरकारले जनताको मतलाई कदर गर्न नसकेको र राजनीतिक आग्रह एवं पूर्वाग्रहमा मात्र केन्द्रित भएको आरोप लगाउँदै देउवाले भन्नुभएको छ, ‘ताजा जनमतबाट उदाएको सत्तारूढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन ।’ देउवाले युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीडालाई कांग्रेसले नजिकबाट बुझेको उल्लेख गर्नुभएको छ ।
‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?’
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गर्नुभएको छ । बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौँ, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौँ भन्यो । त्यहीँ पनि मुद्दा हाल्यो । फाटाहा छन् यहाँ । अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो । तैपनि बदमासी गर्यो । यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौँ । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’ देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने स्पष्ट पार्नुभयो । नेपाली जनता र नेपाली अदालतमाथि आफूलाई पूरा विश्वास रहेको उल्लेख गर्दै देउवाले भन्नुभयो, ‘सर्वोच्च अदालत पञ्चायत कालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, यो अदालतप्रति मलाई पूरा विश्वास छ ।’
पार्टीको आन्तरिक एकतामा जोड
साढे पाँच महिनापछि स्वदेश फर्किनुभएका देउवाले कांग्रेस संस्थापक नेता बीपी कोइरालाकै शैलीमा अपिल जारी गर्नुभएको छ । २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको हो । पार्टीका कार्यकर्ताहरूमा केही निराशा देखिएको स्वीकार गर्दै देउवाले उनीहरूको मनोबल बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कांग्रेसको ऐतिहासिक दायित्व अझै नसकिएको र पार्टीलाई थप सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । विनम्रता र प्रेमका साथ सेवामा तत्पर रहन्छु । २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ ।’
‘कठिन परिस्थिति भए पनि कांग्रेस अघि बढ्नुपर्छ’
देउवाले नेपाली कांग्रेसले आफ्नो राजनीतिक यथार्थका जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । ताजा जनमतबाट आएको सत्तारूढ दलले जनताको मतको सम्मान गर्नुपर्ने उल्लेख गर्दै देउवाले जनताले चाहेको परिवर्तन व्यवस्थापन प्रक्रियामा कांग्रेस सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । उहाँले कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमा ‘भ्युज’को पछि लाग्नुभन्दा कांग्रेसको दायित्व बुझेर अघि बढ्न देउवाले नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
विमानस्थलबाट सोझै इतर समूहको सम्पर्क कार्यालयमा
पूर्वसभापति देउवा संस्थापनइतर समूहको सम्पर्क कार्यालय जानुभएको छ । हङकङबाट स्वदेश फर्किएलगत्तै उहाँ चुनदेवीस्थित सम्पर्क कार्यालय पुग्नुभएको हो । नेता-कार्यकर्ता र सकमर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कर्टिङ गरेर उहाँलाई चुनदेवी पुर्याएको हो । चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरेपछि देउवाले सम्बोधन पनि गर्नुभएको थियो ।
कांग्रेसको वैधानिक सभापति देउवा नै : डा.शशांक
नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ । बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका डा.शशांकले भन्नुभयो, ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो, उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो । देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’
पार्टीमा सम्पूर्ण एकताका लागि देउवाको भूमिका निर्णायक : खड्का
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताका लागि पूर्वसभापति शेरबहादुर देउवाको निर्णायक भूमिका रहने बताउनुभएको छ । देउवालाई स्वागत गर्न विमानस्थल पुग्नुभएका पूर्वकार्यवाहक सभापति खड्काले भन्नुभयो, ‘उहाँ थप स्वास्थ्योपचारका लागि विदेश जानुभएको थियो । आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौँ । यसबाट हामी सबै खुसी र उत्साहित भएका छौँ । अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’
देउवासँग अभिभावकीय भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छौं : प्रवक्ता चालिसे
विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको कार्यसमितिले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले देउवालाई स्वदेशमा स्वागत गर्ने र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले देउवा स्वदेश फर्किनु स्वागतयोग्य कदम रहेको बताउनुभएको थियो । सभापति थापाले ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनुभएका पूर्वसभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै बिहीबार केन्द्रीय समितिको बैठक सुरु गर्नुभएको थियो । बैठकपछि प्रवक्ता देवराज चालिसेले पार्टीका लागि देउवाको अभिभावकीय भूमिका अपेक्षा गरिएको बताउनुभएको हो । ‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको पार्टीले उच्च मूल्यांकन गरेको छ । उहाँका अनुभव पार्टीका लागि अभिभावकीय भूमिकामा उपयोगी हुनसक्छ भन्ने विश्वास राखेका छौं’, उहाँले भन्नुभयो । ‘विशेष महाधिवेशनपछि कांग्रेसमा वैधानिक नेतृत्व स्थपित भएको छ, अग्रज नेता भएको नाताले वैधानिक र संस्थागत रूपान्तरणमा देउवाको अभिभावकीय भूमिकाले पार्टी सुदृढ हुने विश्वास राखेका छौं’, प्रवक्ता चालिसेले भन्नुभयो ।
देउवालाई स्वागत गर्न गगन पक्षका नेता पनि एयरपोर्टमा
साढे पाँच महिनापछि नेपाल फर्किनुभएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न एयरपोर्टमा नेता र समर्थकको बाक्लो उपस्थिति थियो । इतरपक्षका थुप्रै प्रभावशाली नेताहरू पुग्दा सभापति गगन थापा पक्षका नेतासमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विशेष महाधिवेशनमा गगन थापातिर खुल्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ एयरपोर्ट पुग्नुभएको थियो । त्यस्तै, सभापति थापाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएका अजयकुमार चौरसियासमेत देउवाको स्वागतमा एयरपोर्ट पुग्नुभएको थियो । सभापति थापा पक्षका अरू प्रभावशाली र चर्चित नेता भने स्वागतमा देखिएनन् ।
राष्ट्रिय भेला आजबाट
नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला आज (शुक्रबार) बाट सुरु हुँदै छ । भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ । तीन दिनसम्म चल्ने भेलामा आधा दर्जन प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । भेलाको उद्घाटन दिउँसो १ बजे तत्कालीन सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । भेलामा पाँच हजार नेता कार्यकर्ताहरूको उपस्थिति हुने इतर समूहको दाबी छ । पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी दुई दिन बन्दसत्र हुने बताइएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया