भाद्र ८, २०८३ सोमबार August 24, 2026

अघि बढ्यो राहदानी विधेयक, रविलाई राहत

विधेयक जस्ताकोतस्तै पारित भएर ऐन बनेर लागू भएको अवस्थामा लामिछाने दोषी ठहर भए पनि कैदको सट्टा जरिवाना मात्रै तिरे पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ संसदीय प्रक्रियामा अघि बढेको छ । यो विधेयक परराष्ट्रमन्त्री शिशिर खनालले १४ साउनमा प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् । सांसदहरूको संशोधनसहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदै छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेस गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बनेर लागू हुन्छ ।

यो संसदीय प्रक्रियामा अगाडि बढेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लागेको राहदानीसम्बन्धी मुद्दामा सहज हुनेछ ।

प्रस्तावित विधेयकमा झुटो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था हट्नेछ । प्रस्तावित व्यवस्थाअनुसार यस्तो कसुरमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्नेछन् ।

हाल प्रचलित राहदानी ऐन, २०७६ अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिन नहुने व्यवस्था छ । यस्तो कसुर गरेमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ ।

यही व्यवस्थाका कारण विधेयकको प्रत्यक्ष लाभ रवि लामिछानेलाई पुग्न सक्ने देखिएको हो । अमेरिकी राहदानी कायम रहेकै अवस्थामा नेपाली राहदानी लिएको विषयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि मुद्दा चलाउन आवश्यक नरहेको रायसहितको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयमा बुझाएका थिए ।

तर, महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मुद्दा चलाउन आदेश दिएको अवस्थामा नयाँ कानुनको प्रभाव महत्त्वपूर्ण हुन सक्छ ।

कसुर हुँदाको समयको कानुनअनुसार मुद्दा हेर्ने भए पनि सजायका हकमा पछि बनेको खुकुलो कानुन लागू हुन सक्ने विधिशास्त्रीय मान्यता छ । त्यसैले विधेयक जस्ताकोतस्तै पारित भएर ऐन बनेर लागू भएको अवस्थामा लामिछाने दोषी ठहर भए पनि कैदको सट्टा जरिवाना मात्रै तिरे पुग्छ ।

यद्यपि, लामिछानेले नयाँ कानुनको सुविधा पाउने÷नपाउने निक्र्योल सर्वोच्च अदालतको निर्णयमा निर्भर हुनेछ । महान्यायाधिवक्ताले गरेको मुद्दा नचलाउने निर्णय नै सर्वोच्चले सदर गरेमा मुद्दा अघि बढ्ने छैन र नयाँ सजायसम्बन्धी व्यवस्थाको प्रश्न पनि उठ्ने छैन ।

सरकारले भने विधेयक व्यक्ति विशेषलाई लक्षित गरेर नल्याइएको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले राहदानीसम्बन्धी प्रशासनिक समस्या समाधान गर्न विधेयकको मस्यौदा तयार पारिएको बताउँछन् । नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता मूल कागजातका आधारमा राहदानी जारी हुने भएकाले राहदानीमा झुटो विवरणसम्बन्धी कसुरलाई प्रशासनिक जरिवानामार्फत टुंग्याउने अवधारणा राखिएको उनीहरूको भनाइ छ ।

विधेयकले राहदानीसम्बन्धी अन्य व्यवस्थामा पनि परिवर्तन प्रस्ताव गरेको छ । विदेशमा रहेका नेपालीका सन्तानलाई आमाको स्वघोषणा र नेपाली नियोगको दर्ता नम्बरका आधारमा राहदानी जारी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । विदेशमा बलात्कार, सम्बन्धविच्छेदलगायत परिस्थितिमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई पहिचान र राज्यविहीनताको अवस्थाबाट जोगाउन यस्तो व्यवस्था गरिएको सरकारले जनाएको छ ।

त्यस्तै, उद्धार आवश्यक भएका वा विदेशमा अलपत्र परेका नेपालीका लागि अस्थायी राहदानीको व्यवस्था पहिलोपटक प्रस्ताव गरिएको छ । विदेशमा रहेका नेपालीलाई राहदानी तथा भिसा सेवा सहज बनाउन निजी क्षेत्रमार्फत बायोमेट्रिक विवरण संकलन गर्न सकिने प्रावधान पनि विधेयकमा राखिएको छ । यसमा नागरिकको संवेदनशील जैविक विवरणको सुरक्षा कसरी गर्ने भन्ने प्रश्न संसद्मा उठेको छ ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’
२०८३ भाद्र ८, सोमबार
सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन
२०८३ भाद्र ८, सोमबार
आजको मौसमः बागमती लगायत चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ८, सोमबार