काठमाडौं । १४औँ दक्षिण एसियाली खेलकुद (साग) आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने भएको छ । पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकले १४औँ साग २०८३ साल चैत २० देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । पाकिस्तानमा हुने सागमा २८ खेल समावेश गरिने भएको छ । प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाउनेछन् ।
हरेक चार वर्षमा आयोजना हुने साग पछिल्लोपटक सन् २०१९ मा नेपालमा भएको थियो । नेपालपछि पाकिस्तानले आयोजना गर्ने निर्णय भए पनि भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन । १४औँ साग आयोजनाको तयारीका लागि इस्लामाबादमा जारी बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)की सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी छन् ।
दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय कमिटी बैठकमा एनओसीका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष राजवैद्यले ओलम्पिक कमिटी तथा राखेप सदस्य श्रेष्ठले सरकारको प्रतिनिधित्व गर्नुभएको छ । बैठकमा १४औँ दक्षिण एसियाली खेलकुद (साग) २०२७ को आयोजना, तयारीको अवस्था तथा प्रतियोगितासँग सम्बन्धित अन्य महत्त्वपूर्ण विषयमा छलफल भइरहेको छ । बैठक आज (सोमबार)सम्म चल्ने जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया