भाद्र ८, २०८३ सोमबार August 24, 2026

देउवाले बढाए सक्रियता

निवर्तमान सभापति शेरबहादुर देउवा दोस्रो पटक आइतबार चुनदेवीस्थित इतर पक्षको सम्पर्क कार्यालयमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मत्थर हुने संकेत अझै देखिएको छैन । विवाद बढ्दै जाँदा विभाजनको जोखिम बढेको संस्थापन र इतर दुवै पक्षका नेताहरू बताउन थालेका छन् । संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । विवाद समाधानको सम्भावना कायमै रहेको भन्दै संस्थापन पक्षले वडा तहको अधिवेशनको मिति केही पर सारेको छ । इतर पक्ष भने सहमतिका लागि सभापति गगन थापाले नै सक्रियता नदेखाएको आरोप लगाइरहेको छ ।

इतर पक्षले महाधिवेशन प्रक्रिया स्थगितको माग गर्दै फेरि अदालतको ढोका ढकढक्याउने तयारी गरेको छ । संस्थापन र इतर पक्ष आमनेसामने भइरहेको बेला निवर्तमान सभापति शेरबहादुर देउवाले राजनीतिक सक्रियता बढाउनुभएको छ । सिंगापुर र हङकङमा पाँच महिना उपचार गरी साउन २८ गते स्वदेश फर्किनुभएका देउवा लगातार नेता/कार्यकर्ताहरूसँगको छलफल व्यस्त देखिनुभएको छ । छलफलको लागि देउवालाई भेट्न अस्थायी निवास चुनदेवी जाने नेता/कार्यकर्ताको संख्या दिनहुँ बाक्लो देखिने गरेको छ ।

कुनै समय देउवाका निकै विश्वास पात्र नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले आइतबार निवर्तमान सभापति देउवासँग छलफल गर्नुभएको छ । देउवालाई भेट्न उहाँको निवास चुनदेवी पुग्नुभएका मल्लले पार्टीको आन्तरिक विवाद समाधानको लागि अविभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५औँ महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको जानकारी दिँदै मल्लले भन्नुभयो, ‘सबैलाई मिलाएर पार्टीको १५औँ महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवार निर्वाह गर्न मैले आग्रह गरेँ । देउवा त्यस कुरामा अत्यन्तै सकरात्मक रहेका पाएँ ।’

पूर्वसभापति मल्लसँगको छलफलमा सभापति देउवाले विवाद समाधानका लागि सभापति गगन थापासँग छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । देउवाको भनाइ उद्धृत गर्दै मल्लले भन्नुभयो, ‘मैले सबै साथीहरूसँग यसबारे छलफल गरिरहेको छु । अब छिट्टै पार्टी सभापति गगन थापालाई बोलाएर यसबारे निर्णायक छलफल गर्नेछु । एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेछु ।’ मल्ल देउवाको गृहजिल्ला डडेल्धुरामा दुई पटक पार्टी सभापति बन्नुभएको थियो । तर, पछिल्लो समय पूर्वसभापति देउवासँग सम्बन्धमा दूरी बढेको थियो ।

विवाद मिलाउन तीन प्रस्ताव

नेपाली कांग्रेसको जारी विवाद समाधानका लागि पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव राख्नुभएको छ । आइतबार बिहान देउवासँग भएको भेटमा विवाद समाधानका लागि तीन प्रस्ताव अघि सारेको जानकारी दिँदै नेता महरले भन्नुभयो, ‘लामो समय उपचार गराएर फर्किनुभएपछि पूर्वसभापतिलाई भेट्न गएको थिएँ । पार्टीलाई मिलाएर लानुपर्छ भन्ने प्रस्ताव गरेको छु । पार्टी मिलाउन तीनवटा प्रस्ताव गरेको छु । उहाँ (देउवा) ले पनि ठीक हो ठीक हो भन्नुभएको छ ।’ महरले तत्काल सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच छलफल गरी पार्टीको विवाद मिलाउने विषयलाई पहिलो विकल्पमा सुझाउनुभएको छ ।

दोस्रो विकल्पस्वरूप गगन र देउवा दुवैले नेतृत्व छोडेर तेस्रोको नेतृत्व स्वीकार्ने र १५औँ महाधिवेशन गर्ने विषय प्रस्ताव गरिएको छ । तेस्रोमा अदालतको निर्णय जे आए पनि मान्ने र अघि बढ्ने प्रस्ताव राखेको महरले जानकारी दिनुभएको छ । यसअघि महरले सभापति थापाको सम्पर्क कार्यालय ज्ञानेश्वरमा भएको भेटवार्तामा पार्टीको बृहत् एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवासँग तीन विकल्पमा सहमति खोज्न सुझाव दिनुभएको थियो । जवाफमा थापाले देउवासँग भेटवार्ताका लागि आफू तयार रहेको भन्दै अनौपचारिक रूपमा संवाद भइरहेको जानकारी दिनुभएको थियो ।

दोस्रो पटक चुनदेवीस्थित सम्पर्क कार्यालयमा

निवर्तमान सभापति शेरबहादुर देउवा दोस्रो पटक आइतबार चुनदेवीस्थित इतर पक्षको सम्पर्क कार्यालय जानुभएको छ । पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी आफू नेतृत्वको पक्षले स्थापना गरेको सम्पर्क कार्यालयमा जानुभएका देउवाले नेता कार्यकताहरूसँग भेटघाट गर्नुभएको छ । यसअघि साउन २८ गते स्वास्थ्य उपचारपछि नेपाल फर्किएलगत्तै देउवा सिधै चुनदेवीस्थित कार्यालय पुग्नुभएको थियो । विशेष महाधिवेशनपछि पार्टीको सत्ता गुमाउनुभएका देउवा समूहका नेताहरूले १५औँ महाधिवेशनको तयारी र समन्वयका लागि स्थापना गरेको कार्यालयमा पुग्नुभएको थियो ।

देउवा स्वास्थ्य उपचार गरेर स्वदेश फर्केपछि पार्टी कार्यालय सानेपा भने पुग्नुभएको छैन । देउवाका लागि चुनदेवीमा बेग्लै कोठा छ । उक्त कोठाको टेबुलमा ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको नेमप्लेट पनि छ । उक्त नेमप्लेट अरू नेतालाई जानकारी नदिई आफूले राखेको पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले साउन २९ को संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा सार्वजनिक गर्नुभएको थियो । देउवा आइतबार चुनदेवी कार्यालय पुग्दा उक्त कोठा र टेबुलमा ‘शेरबहादुर देउवा, सभापति’ लेखेको नेमप्लेट कायमै रहेको देखिएको छ । सम्पर्क कार्यालयमा देउवाले नेता कार्यकर्तासँग पार्टीको आन्तरिक विवाद र कसरी अगाडि बढ्ने भन्ने विषयमा संक्षिप्त छलफलसमेत गर्नुभएको बताइएको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया