भाद्र ८, २०८३ सोमबार August 24, 2026

वाम एकताको राग, आफ्नै घरमा नेतृत्वको दाग

कम्युनिस्ट पार्टीभित्र अहिले सबैभन्दा पेचिलो प्रश्न पुस्तान्तरणकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपालको कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै वाम एकताको बहस फेरि तीव्र बनेको छ । तर विडम्बना के छ भने एकताको आवश्यकता औँल्याइरहेका प्रमुख कम्युनिस्ट दलहरू आफैँ भने नेतृत्व, पुस्तान्तरण, संगठन र कार्यशैलीको विवादमा अल्झिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठ्नुपर्ने बताउनुभएको छ ।

प्रचण्डका अनुसार सरकार निर्माण र परिवर्तनमा मात्र केन्द्रित हुँदा आन्दोलन कमजोर बनेको हो । अब उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित आन्दोलनमार्फत कम्युनिस्ट शक्तिलाई पुनर्गठित गर्नुपर्ने उहाँको भनाइ छ ।

‘सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो,’ प्रचण्डले भन्नुभएको छ । विगतमा एमालेसहित विभिन्न कम्युनिस्ट शक्तिबीच भएको सहकार्य र एकताबाट शिक्षा लिएर विगतका कमजोरी नदोहो¥याउने गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ ।

तर प्रचण्डले वाम एकताको आह्वान गरिरहँदा उहाँकै नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीभित्र पनि पुस्तान्तरण र संगठन पुनर्गठनको प्रश्न उठिरहेको छ । पार्टीले यसअघि नै सबै कमिटीमा ५० प्रतिशतसम्म युवा र नवयुवालाई नेतृत्वमा ल्याउने निर्णय गरिसकेको छ । पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठन र वाम ध्रुवीकरणलाई पनि प्राथमिकतामा राखिएको छ ।

उता नेकपा एमालेभित्र नेतृत्व पुनर्गठनको बहस झन् पेचिलो बनेको छ । गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी कमजोर भएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टीको कार्यशैलीमाथि प्रश्न उठाउँदै दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूले पुनर्गठनको आवाज उठाइरहेका छन् ।

महासचिव शंकर पोखरेलले तयार पारेको निर्वाचन समीक्षा प्रतिवेदनमा पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा प्रतिनिधि परिषद् अधिवेशनको विकल्प अघि सारिएको छ । त्यसमा नेतृत्वको कार्यकाल र उमेर हद पुनःस्थापना तथा ‘एक व्यक्ति, एक पद’को व्यवस्था गर्नुपर्ने सुझावसमेत रहेको छ ।

तर अध्यक्ष ओली भने तत्काल नेतृत्व पुनर्गठन आवश्यक नभएको भन्दै पार्टीमा विकल्प खोज्नेमाथि जाइलाग्ने क्रमलाई तीव्रता दिन थाल्नुभएको छ । उहाँले पार्टी पुनर्गठनको समय नभई ‘पुनर्जागरण’को समय भएको बताउँदै आउनुभएको छ । नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेभित्रको विवाद थप सतहमा आएको छ ।

एमालेका उपमहासचिव योगेश भट्टराईले भने पार्टी समयअनुकूल परिवर्तन हुनुपर्ने धारणा लामो समयदेखि राख्दै आउनुभएको छ । यसअघि उहाँले उपयुक्त समय आएपछि पार्टीको नेतृत्व परिवर्तन हुने सङ्केत गर्दै भन्नुभएको थियो– ‘हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौँ । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
त्यस्तै एमाले महासचिव पोखरेलले नेतृत्वमा कार्यकाल र उमेर हदको व्यवस्था गर्दा युवालाई पार्टीमा भविष्य देखिने र नयाँ पुस्ता आकर्षित हुने धारणा अघि सार्नुभएको छ । यसले एमालेभित्र पुस्तान्तरणको बहस अब व्यक्तिगत असन्तुष्टिभन्दा संस्थागत सुधारको मुद्दा बन्न थालेको छ ।

पुराना अनुहार, नयाँ सङ्कट

राजनीतिक विश्लेषकहरूको बुझाइमा नेपालको कम्युनिस्ट आन्दोलनको समस्या केवल पार्टी विभाजन वा एकताको अभावमा सीमित छैन । नेतृत्वको पुस्तान्तरण, आन्तरिक लोकतन्त्र, संगठनको पुनर्गठन र जनतासँगको सम्बन्ध कमजोर हुनु मूल समस्या हो ।

राजनीतिक विश्लेषक राजकुमार रुपाखेतीका अनुसार हिजो ओलीको पक्षमा रहेका कतिपय नेताहरू नै अहिले नेतृत्व पुनर्गठनको पक्षमा खुलेर आउनुले एमालेभित्र असन्तुष्टि छताछुल्ल भएको छ । उहाँका अनुसार नेतृत्व हस्तान्तरणको प्रश्नलाई लामो समय बेवास्ता गर्दा पार्टीभित्रको शक्ति संघर्ष अझ तीव्र बन्न सक्छ।

अर्का राजनीतिक विश्लेषक रेशम घर्तीका अनुसार पुरानो पुस्ताको नेतृत्व मोह र नयाँ पुस्ताको बढ्दो आकांक्षाबीचको द्वन्द्वले कम्युनिस्ट पार्टीहरूको सङ्कटलाई गहिरो बनाइरहेको छ । जनताको पक्षमा प्रभावकारी काम गर्न नसक्दा कम्युनिस्ट दलप्रतिको आकर्षण घटेको र विशेषगरी युवापुस्तामा निराशा बढेको उहाँको विश्लेषण छ ।

यो सङ्कटको सङ्केत एमालेभित्र गरिएको एक सर्वेक्षणले पनि देखाएको छ । एमाले नेतृत्व पुनर्गठनबारे गरिएको सर्वेक्षणमा ८७ दशमलव ६ प्रतिशत सहभागीले नयाँ नेतृत्व आवश्यक रहेको मत दिएका थिए भने ओलीकै नेतृत्व ठीक रहेको पक्षमा १० दशमलव ५ प्रतिशत मात्र मत आएको थियो ।

नेपालका कम्युनिस्ट शक्तिहरूबीच एकताको चर्चा नयाँ होइन । सत्ता बाहिर हुँदा एकताको आवश्यकता महसुस गर्ने, सत्तामा पुगेपछि शक्ति संघर्षमा फस्ने प्रवृत्ति कम्युनिस्ट राजनीतिमा पटक–पटक दोहोरिएको छ । गत वर्ष माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । तर नयाँ संरचना बनेपछि पनि नेतृत्व, संगठन र कार्यशैलीको प्रश्न समाप्त भएको छैन ।

एमाले महासचिव पोखरेलले समेत अहिले प्राथमिकता कम्युनिस्ट पार्टीबीचको एकता नभई जनतासँगको सम्बन्ध सुधार र पार्टी पुनर्गठन भएको बताउनुभएको छ । उहाँका अनुसार विगतमा नेताहरूको तहमा गरिएको एकता सफल हुन नसकेको अवस्थामा अब कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनु आवश्यक छ । यसले वाम एकताको बहसको अर्को महत्वपूर्ण पक्ष उजागर गर्छ, नेताहरू मिल्दैमा कम्युनिस्ट एकता टिक्दैन ।

कम्युनिस्ट पार्टीभित्र अहिले सबैभन्दा पेचिलो प्रश्न पुस्तान्तरणकै देखिन्छ । दशकौँदेखि पार्टी नेतृत्वमा रहेका नेताहरूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण नगरेको गुनासो युवा नेताहरूमा बढ्दै गएको छ । नेकपाले सबै तहका कमिटीमा ५० प्रतिशतसम्म युवालाई नेतृत्वमा ल्याउने निर्णय गर्नु त्यसैको एउटा सङ्केत हो । एमालेमा पनि कार्यकाल र उमेर हदको बहस पुनः सुरु भएको छ ।

तर पुस्तान्तरण केवल उमेर घटाउने विषय होइन । नेतृत्वसँगै निर्णय प्रक्रियामा सहभागिता, विचार निर्माण, संगठन सञ्चालन र जिम्मेवारी हस्तान्तरणको संस्थागत प्रणाली आवश्यक हुन्छ । प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न सहकार्य र संघर्षमा जोड दिनुभएको छ । एमालेभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस चर्किएको छ । दुवै घटनाले एउटा समान प्रश्न जन्माएको छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउने हो भने पहिले पार्टीभित्रको लोकतन्त्र र नेतृत्व संस्कार सुधार्नु पर्ने आवाज बलियो बन्दै गएको छ ।

जनताबाट टाढिँदै गएको राजनीतिक शक्ति केवल अर्को पार्टीसँग एकता गरेर पुनर्जीवित हुँदैन । जनतासँगको सम्बन्ध, सुशासन, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र स्पष्ट राजनीतिक दृष्टिकोण पुनस्र्थापित गर्न सक्नुपर्छ । अन्यथा वाम एकताको नारा फेरि पनि सत्ता समीकरणको अर्को अध्यायमै सीमित हुनेछ । अहिलेको कम्युनिस्ट आन्दोलनका लागि वास्तविक चुनौती कति पार्टी एक ठाउँमा आउँछन् भन्ने होइन, कति नयाँ राजनीतिक संस्कार निर्माण गर्न सक्छन् भन्ने हो ।नेपाल समचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया