भाद्र १०, २०८३ बुधबार August 26, 2026

ओली हटाउने एजेन्डाबाट शंकर–विष्णु ब्याक, राजनीतिक सेफल्यान्डिङको खोजी

सूचना प्रविधिसँग हुर्किएको नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्न नसकेको प्रतिवेदनको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एउटै गुटका नेता मानिन्छन् । तर, गत आमचुनाव पार्टीले नमिठो धक्का व्यहोरेपछि यी नेताहरूबीच नेतृत्व परिवर्तनको विषयलाई लिएर टकराव छ । २१ फागुन २०८२को चुनावमा एमाले ओलीलाई भावी प्रधानमन्त्री भनेर होमिएको थियो । तर, चुनावी परिणाममा ऐतिहासिक हार बेहो¥यो । यस पृष्ठभूमिमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले नेतृत्वमा परिवर्तन खोज्न थाले ।

जबकि, २०८२ पुस पहिलो साता सम्पन्न एमालेको ११औं महाधिवेशनले ओलीलाई तेस्रोपटक अध्यक्ष निर्वाचित गरेको थियो । ओलीकै टिमबाट उपाध्यक्षमा पौडेल र महासचिवमा पोखरेल दोहोरिएका थिए । त्यसबेला पनि जेनजी आन्दोलनको पृष्ठभूमि देखाएर नेतृत्व परिवर्तनको बहस चलेको थियो । तर शंकर–विष्णुले विकल्प भएकोभन्दै ओलीलाई नै अगाडि सारे । जब २१ फागुनको चुनावमा ओलीको नेतृत्व जनताबाट अनुमोदन भएन । त्यसपछि विष्णु र शंकरले ओलीको नेतृत्वमाथि अनौपचारिक रूपमा प्रश्न उठाउन थाले ।

एमालेमा सबैभन्दा पहिले नेतृत्व परिवर्तनको आवाज उठाउनेमध्ये उपाध्यक्ष पौडेल थिए । निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै उनले पार्टीको नेतृत्व, नीति, संगठन र कार्यशैली पुनर्गठन गर्नुपर्ने बताएका थिए । त्यसपछि उनी ओलीलाई राजीनामा दिन दबाब दिने र पार्टी पुनर्गठनको अभियान चलाउने प्रमुख नेताका रूपमा देखिए ।

पौडेलले नेताहरूसँगको भेटमा ‘केपी ओलीलाई राखेर अब एमाले उठ्दैन’ भन्ने निष्कर्ष सुनाउँदै ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । उनको सक्रियताकै बीच ओलीको चाहनाविपरीत सचिवालयबाट पार्टी पुनर्गठन कार्यदल गठन गर्ने निर्णयसमेत भएको हो । तर, अहिले परिस्थिति फेरिएको छ । पौडेल पक्राउ परेपछि पुनर्गठन अभियान सुस्ताएको छ । ८ असारमा सुर्खेतबाट पक्राउ परेका पौडेल २५ दिन हिरासतमा बसेर साधारण तारेखमा छुटेपछि पहिलेझैं सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् । बरु त्यसपछि ओली राजनीतिक रूपमा पुनः सक्रिय भएका छन् । पौडेल स्वयं ओलीसँगै राजनीतिक कार्यक्रममा देखिन थालेका छन् ।

पौडेलको नेतृत्व परिवर्तन अभियानमा महासचिव शंकर पोखरेल पनि महत्वपूर्ण पात्र थिए । तर, दुवैको दृष्टिकोण एउटै थिएन । पौडेल तत्काल ओलीले राजीनामा दिनुपर्ने पक्षमा देखिँदा पोखरेल भने ओलीलाई कमिटीबाट हटाएर होइन, सम्झाएर नेतृत्व पुनर्गठनको वातावरण बनाउनुपर्ने पक्षमा थिए । यद्यपि ओलीलाई निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा उनी थिएनन् ।

यस्तो पृष्ठभूमिमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदल बनेको हो । जसको सदस्य सचिवका रूपमा महासचिव पोखरेल थिए । उनैलाई कार्यदलको प्रतिवेदन लेख्ने जिम्मेवारी दिइएको थियो । सोहीमार्फत शंकरले औपचारिक रूपमै ओलीको नेतृत्वमाथि प्रश्न उठाएका हुन् ।

च्यासल र गुन्डुबीच घुमिरहेको कार्यदलको प्रतिवेदन मंगलबार अचानक सार्वजनिक भयो । जसले एउटै व्यक्ति लामो समय एउटै भूमिकामा रहँदा नेतृत्वको प्रभावकारिता क्रमशः कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ । अनि नेतृत्व रूपान्तरण हुनुपर्ने प्रस्ताव गरिएको छ ।

वरिष्ठ नेताहरूलाई निर्णयकारी भूमिकामा निरन्तर राखिरहनुभन्दा उनीहरूलाई ‘मार्गदर्शक’को सम्मानित भूमिकामा स्थापित गर्ने विकल्प अगाडि सारिएको छ । यस्तो प्रस्तावसँगै एमालेमा ओलीको नेतृत्वमाथि प्रत्यक्ष प्रश्न उठेको हो । तर, प्रतिवेदनमा ओलीको नाम लिएर नेतृत्व परिवर्तन गर्नुपर्ने भनेर स्पष्ट शब्दमा लेखिएको छैन । लामो समय एउटै भूमिकामा रहेको नेतृत्वको प्रभावकारिता, पुस्तान्तरण र वरिष्ठलाई मार्गदर्शक भूमिकामा लैजाने भनेर राजनीतिक रूपमा ओलीको नेतृत्वमाथि प्रश्न उठाइएको छ ।

आम निर्वाचनमा पार्टी संगठनात्मक रूपमा बलियो भए पनि जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकेको प्रतिवेदनको निष्कर्ष छ । एमालेको परम्परागत आधार मानिएका वर्ग र समुदाय पार्टीबाट क्रमशः टाढिँदै गएको, युवा पुस्ता पार्टीसँग जोडिन नसकेको र नयाँ पुस्ताको अपेक्षाअनुसार नीति तथा कार्यक्रम अघि बढाउन नसकिएको उल्लेख छ ।

विशेषगरी युवा र विद्यार्थी पुस्तासँग पार्टीको सम्बन्ध कमजोर हुनुमा लामो समयसम्म पार्टी र भ्रातृसंगठनका अधिवेशन हुन नसक्नु, एउटै व्यक्ति संगठनमा लामो समय रहनु तथा युवा पुस्ताको मनोविज्ञान बुझ्न नसक्नुजस्ता कारण औंल्याइएको छ । सूचना प्रविधिसँग हुर्किएको नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्न नसकेको प्रतिवेदनको निष्कर्ष छ ।

यस अवस्थाबाट अगाडि बढ्न नेतृत्व परिवर्तनसँगै आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड बनाउने, युवाकेन्द्रित अभियान सञ्चालन गर्ने, जनप्रतिनिधिलाई जवाफदेही बनाउने तथा पार्टीभित्र गुटबन्दी, नातावाद, कृपावाद अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ । अर्थात्, फेरि पनि विष्णु र शंकर ओलीको विकल्प खोज्ने तर ओलीसँग प्रत्यक्ष टकरावमा लिएर आफ्नो राजनीतिक भविष्य जोखिममा नपार्ने नीतिमा छन् ।

यसअघि विष्णु पौडेलले आफू कांग्रेसमा विश्वप्रकाश शर्माले नेतृत्वका विषयमा देखाएको त्यागको शैलीमा आफू पनि त्याग गर्न तयार रहेको, शंकर पोखरेललाई अध्यक्ष स्वीकार गरेर अघि बढ्न सकिने संकेत दिएका थिए । अर्थात्, व्यक्तिगत रूपमा अध्यक्ष बन्ने हतारभन्दा ओलीपछिको एमालेमा नयाँ नेतृत्व निर्माण गर्ने बाटो रोज्न पौडेल तयार भएका छन् ।

शंकर पोखरेल पनि ओलीको पक्षमा अडिग रहँदा ओलीसँगै राजनीतिक भविष्य सकिने बुझाइका साथ ओलीलाई नेतृत्वबाट सहमतिमै अलग गएर नेतृत्व हत्याउने दाउमा लागेका छन् । यहाँनेर विष्णु पौडेल र शंकर पोखरेल दुवै ओलीपछिको नेतृत्वमा स्थापित हुने गरी राजनीतिक सेफल्यान्डिङ खोजिरहेका छन् । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया