काठमाडौं । बुधबार बिहानसम्म भोटेकोशी आफ्नै लयमा बगिरहेको थियो । रसुवाको टिमुरे, रसुवागढी र स्याँफ्रुबेँसीका मानिसहरू आ-आफ्नै दैनिकीमा थिए । तर, करिब पौने ९ बजेतिर उत्तरतिरबाट अकस्मात आएको बाढीले सबैथोक उल्टाइदियो । डाँडाकाँडा थर्काउने आवाजसहित आएको बाढीले केही मिनेटमै दर्जनौँ बस्तीसहित सडक, पुल, प्रहरी चौकी, भन्सार यार्ड र जलविद्युत् संरचनालाई ध्वस्त बनायो । विनाशकारी बाढीले रसुवामा मात्रै होइन नुवाकोट हुँदै धादिङको तल्लो तटीय क्षेत्रसम्म अकल्पनीय क्षति पुर्याएको छ । रसुवामा बगेको पानी त्रिशूलीमा मिसिँदा नुवाकोट र धादिङसम्म विध्वंश मच्चाएको हो ।
मानवीय क्षतिको अवस्था त झन् भयाभह छ । कम्तीमा हजारको संख्यामा मानिसहरू बेपत्ता भएको अनुमान गरिएको छ । बुधबार अबेरसम्म प्राप्त विवरणअनुसार रसुवागढी भन्सारमा रहेका तीन सयभन्दा बढी गाडी बगेका छन् । कम्तीमा १९ पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ । दर्जनौँ घर, व्यापारिक संरचना र सुरक्षाका आधारभूत संरचना नदीको भेलसँगै बगेका छन् । १२ जलविद्युत् तथा सौर्य आयोजनामा क्षति पुग्दा ४३१ मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ । तिब्बततर्फ थुनिएको नदीको बाँध अचानक फुटेको, हिमताल फुटेको वा हिमपहिरोले नदी थुनेर एक्कासि निकास पाएको हुनसक्ने प्रारम्भिक अनुमान छन् । वास्तविक कारण अझै अनुसन्धानकै क्रममा छ ।
उद्धारका लागि नेपाली सेनाका हेलिकप्टर र ड्रोन परिचालन भएका छन् । केही घाइतेहरूलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । अस्पतालहरूमा आपत्कालीन शैय्या छुट्याइएको छ । तर, बाढीले सडक र पुल नै बगाइदिएपछि उद्धारको बाटोसमेत अवरुद्ध भएको छ । बिहान ९ बजेतिर अकस्मात आएको बाढी भोटेकोशीमा प्रवेश गरेपछि तीव्र गतिमा दक्षिणतर्फ फैलिएको थियो । बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदीसम्म पुगेपछि नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत तल्लो तटीय क्षेत्रमा क्षति पुर्याएको थियो । तिब्बततर्फबाट छोटो समयमा ठूलो परिमाणमा पानी प्रवेश गर्नु, पानीको सतह एकाएक बढ्नु तथा नदीमा ठूलो वेगसहित बहाव आउनुले उच्च हिमाली क्षेत्रमा रहेको हिमताल वा हिमनदीजन्य जलस्रोतबाट आकस्मिक पानी निकास भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, बाढीको वास्तविक स्रोत र कारण औपचारिक रूपमा पुष्टि हुन बाँकी छ ।
तिब्बती क्षेत्रमा भूकम्पले हिमपहिरो झरेपछि बाढी आएको प्रारम्भिक सूचना छ : परराष्ट्रमन्त्री खनाल
तिब्बती क्षेत्रमा आएको भूकम्पपछिको हिमपहिरोका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताउनुभयो । सरकारको तर्फबाट संसद्लाई घटनाबारे जानकारी दिँदै खनालले बाढीका कारण नेपालको रसुवाको टिमुरे, स्याँफ्रुबेसी र नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायत क्षेत्रमा क्षति पुगेको जानकारी दिनुभयो । ‘प्रारम्भिक सूचनाअनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ’, मन्त्री खनालले भन्नुभयो, ‘त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ घटनामा ठूलो मानवीय क्षति भएको छ । यद्यपि, के–कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको उहाँको भनाइ छ ।
एक वर्षपछि फेरि झन् ठूलो महाविपत्ति
उपलब्ध स्याटेलाइट तस्वीरको तुलनात्मक अध्ययन गर्दा भोटेकोशी नदीमा ठूलो बाढी आउनुअघि नै तिब्बततर्फको माथिल्लो हिमनदी क्षेत्रमा पानीको प्रवाह सक्रिय भएको संकेत देखिन्छ । प्रारम्भिक भौगोलिक तथा रिमोट सेन्सिङ विश्लेषणअनुसार उक्त सम्भावित सक्रिय जलप्रवाह क्षेत्र भोटेकोशी नदीसँगको सम्बन्धित बिन्दुबाट करिब ३५ देखि ३८ किलोमिटर माथिल्लो भागमा रहेको देखिन्छ । विशेषगरी हिमाली क्षेत्रमा हिमतालको सतहमा अचानक परिवर्तन, तालबाट पानी बाहिरिने नयाँ निकास मार्ग, हिमनदीको सतहमा पानी जम्मा हुनु वा पुरानो जलमार्ग सक्रिय हुनुजस्ता अवस्थाले छोटो समयमा ठूलो बाढी सिर्जना गर्न सक्छन् ।
यसअघि गत वर्षको जुलाईमा रसुवाको रसुवागढी क्षेत्रमा विनाशकारी बाढी आएको थियो । गत वर्षको बाढीबारे गरिएको स्याटेलाइट तथा जल विज्ञानसम्बन्धी अध्ययनले तिब्बतमा रहेको परेपु/पुरुगु क्षेत्रको हिमनदीको सतहमाथि बनेको हिमतालबाट पानी आकस्मिक रूपमा बाहिरिएर लेहेंदे नदी हुँदै भोटेकोशीमा प्रवेश गरेको निष्कर्ष निकालेको थियो ।
पोहोर पनि यस्तै बाढीले १८ जनाभन्दा बढीलाई सुतिरहेकै ठाउँबाट बगाएर बेपत्ता पारेको थियो । नेपालतिर पर्ने भोटेकोशीको सिरानमा पनि वर्षा भएको थिएन । तर, बुधबार बिहान एक्कासि यस्तो विनाशकारी बाढी आइदियो, जुन सबैका लागि अप्रत्याशित र अकल्पनीय थियो ।
रसुवा नेपालको उत्तरी सीमामा चीनको तिब्बत स्वायत्त क्षेत्रसँग जोडिएको हिमाली जिल्ला हो । यसको उत्तरतिर तिब्बत पर्छ भने पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ र दक्षिणमा नुवाकोट जिल्ला छन् । नेपालको हिमाली जिल्लामध्ये क्षेत्रफलका हिसाबले रसुवा सबैभन्दा सानो जिल्ला हो । सानो भए पनि रसुवाको भूगोल निकै उचाइयुक्त र जटिल छ । जिल्लाको भूभाग तल्लो पहाडी क्षेत्रदेखि अग्ला हिमालसम्म फैलिएको छ । सदरमुकाम धुन्चे करिब एक हजार ९५० मिटरको उचाइमा छ भने जिल्लाको उत्तरी भागमा चीनतर्फ जाने बाटो हिमाली भूभाग हुँदै पुग्छ । लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसार्इँकुण्ड यही जिल्लामा पर्छन् । रसुवाको चीनसँगको मुख्य नाका रसुवागढी-केरुङ हो । चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका रसुवागढीसमेत बाढीका कारण प्रभावित भएको छ । दशैँ नजिकिँदै गर्दा चीनबाट हुने सामानको आपूर्ति प्रभावित हुनसक्ने चिन्ता बढेको छ ।
यो बाढीले के कति क्षति गर्यो भन्नेबारे यकिन विवरण आएको छैन । यो तत्काल ल्याउन सम्भव पनि छैन । अहिलेलाई उद्धारको काममा राज्य संयन्त्र खटाइएको छ । तर, जटिल भौगोलिक अवस्थाका कारण उद्धारसमेत चुस्त तरिकाले गर्न कठिनाइ भइरहेको सरकारी अधिकारीले बताएका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा नेपाली सेनाका हेलिकप्टर खटिएका छन् ।
भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहनजिक बुधबार पहिरो गएको थियो । पिपुल्स डेलीले पहिरोमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको जनाएको छ । पहिरोका कारण चिनियाँ भूमितर्फ ग्यिरोङ बन्दरगाहसम्म जाने सडक अवरुद्ध भएको छ । साथै सञ्चार र विद्युत् आपूर्तिसमेत प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ग्यिरोङ बन्दरगाह चीन र नेपाललाई स्थलमार्गबाट जोड्ने प्रमुख नाकामध्ये एक हो ।
भन्सारमा रहेका तीन सय बढी गाडी बगे
रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामग्री पनि बगाएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका ट्रक तथा अन्य गरी तीन सयभन्दा बढी गाडी बाढीले बगाएको हो । त्यति मात्रै नभएर भन्सार क्षेत्रमा भन्सार चेकजाँचको क्रममा रहेका अन्य धेरै गाडी पनि बगाएको हुनसक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको छ । प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् । बाँकी कर्मचारी सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ । उनीहरूको खोजीकार्य भइरहेको छ ।
कम्तीमा १९ पुल र ४० किलोमिटर सडक क्षति
त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ । यसका साथै बाढीले विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठूलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्णरूपमा ठप्प हुन पुगेको छ । सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ । विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठूला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ ।
प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ । भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्य निकै चुनौतीपूर्ण बनेको छ । धेरै ठाउँमा सडकको जग नै बगेकाले र पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवालाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल नसक्ने देखिएको छ । सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
मानवीय क्षति कल्पनाभन्दा बाहिर
रसुवा बाढीले ठूलो मानवीय क्षति गरेको छ । यद्यपि, बुधबार अबेरसम्म मानवीय क्षतिको यकिन विवरण आइसकेको थिएन । विभिन्न ठाउँमा केही शवहरू फेला परे पनि कहाँ कति बेपत्ता छन् भन्ने विवरण उपलब्ध छैन । प्रभावित क्षेत्रका सुरक्षा निकाय प्रमुख, प्रमुख जिल्ला अधिकारी र पालिका अध्यक्षहरूले अकल्पनीय मानवीय र भौतिक क्षति भएको बताएका छन् । तर, यकिन संख्या भने भन्नै नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ । बाढीपछि सशस्त्र प्रहरीको बिओपीबाट ड्युटीमा खटिएका केही प्रहरी सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याँफ्रुबेसी र प्रहरी चौकी रसुवागढीमा बाढीले ठूलो क्षति गरेको छ ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । बुधबार अबेरसम्मको अपडेटअनुसार ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् । पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेको बोर्डले जनाएको छ । बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन् । केही पर्यटकहरूको राष्ट्रियता खुल्न अझै बाँकी रहेको बोर्डले जनाएको छ ।
मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा सयवटा आपत्कालीन शैøया छुट्याइएको जनाएको छ । साथै हालसम्म घाइतेहरूलाई उद्धार गरी काठमाडौं ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ । साथै काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपत्कालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ ।
१२ जलविद्युत् गृहमा क्षति
भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युत् गृहमा क्षति पुगेको छ । बाढीले ६ वटा जलविद्युत् गृह र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताउनुभयो । बाँकीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको उहाँको भनाइ छ । ११ जलविद्युत् गृह र एक सोलार गृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ । बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ । बाढीले क्षति पुगेका आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), सलासुङ्गी (७८ मेगावाट), अपर साञ्जेन (१४.८ मेगावाट), सान्जेन (४२.५ मेगावाट), चिलिमे (२२ मेगावाट), लाङटाङ (२० मेगावाट) र अपर त्रिशूली थ्री ए (६० मेगावाट) रहेका छन् । यसैगरी, अपर मैलुङ (१४.८ मेगावाट), मैलुङ (५ मेगावाट), त्रिशूली (२४ मेगावाट), देवीघाट (१४ मेगावाट) र सोलार प्रणाली (२५ मेगावाट) रहेका छन् ।
जलविद्युत् आयोजनामा क्षति भएसँगै भारतसँग ‘रियल टाइम’ (तत्काल माग र आपूर्तिका आधारमा) बजारबाट आवश्यक थप विद्युत् खरिद गर्ने तयारी सरकारले गरेको छ । बाढीका कारण आन्तरिक विद्युत् उत्पादनमा ठूलो गिरावट आएपछि तत्काल राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति सहज बनाउन र अघोषित लोडसेडिङ हुन नदिन सरकारले कूटनीतिक पहलमार्फत भारतसँग उक्त सहयोग माग गर्ने तयारी गरेको हो ।
जोखिम अझै कायमै
बाढी पूर्वानुमान महाशाखाले चिनियाँ पक्षबाट प्राप्त सूचना उद्धृत गर्दै थुनिएको नदीमा अचानक बाँध फुट्दा यो बाढी आएको जनाएको छ । नदी थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको पनि महाशाखाले उल्लेख गरेको छ । ‘चीन तर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ’, महाशाखाले भनेको छ । नदी थुनिएको ठाउँ ठ्याक्कै कुन हो भन्ने यकिन नभइसकेको महाशाखाले जनाएको छ । हिमालय टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया