भाद्र १४, २०८३ आइतबार August 30, 2026

शवको वैज्ञानिक अभिलेख राखिँदै

पहिचान नखुलेका प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत वा कोड नम्बर प्रदान गर्ने क्रमबद्ध रूपमा एकै लाइनमा सुरक्षित रहने गरी व्यवस्थापन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको छ ।

बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न स्थानमा पुर्‍याएका शव तथा शरीरका अङ्गहरू सङ्कलन गरी कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हालसम्म रसुवाबाट १३, नुवाकोटबाट ४१, धादिङबाट ४९, चितवनबाट २४८, गोरखाबाट ५४, तनहुँबाट ३१, पूर्वी नवलपरासीबाट १५८ र पश्चिम नवलपरासीबाट ७५ गरी ६६९ शव फेला पारिएको बताउनुभयो ।

लामो समयसम्म पहिचान हुन नसकेका शवको हकमा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको काफ्लेले बताउनुभयो ।

शवको अन्तिम संस्कार गरेर प्रमाण समाप्त हुने अवस्था आउन नदिन सम्पूर्ण पहिचान, नम्बर, डिएनए तथा अन्तर्राष्ट्रिय वैज्ञानिक परीक्षण गरिने बताउँदै उहाँले भन्नुभयो, “शवको व्यवस्थापन गर्दा तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने मात्र नभई भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवको वैज्ञानिक प्रमाण सुरक्षित राख्छौँ ।”

उहाँका अनुसार उद्धारका क्रममा शव वा शरीरका अङ्ग फेला परेपछि घटनास्थलमै आवश्यक लासजाँच मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरिने छ । फरेन्सिक चिकित्सक जाँचपछि शव सफा गरी अनुहार तथा शरीरको अगाडि, पछाडि, दायाँ र बायाँलगायत विभिन्न कोणबाट तस्बिर लिइने जनाइएको छ । शरीरमा रहेका पहिचानजन्य चिह्न, विशेष अङ्ग तथा अन्य विशेषता स्पष्ट देखिने गरी तस्बिर र विवरण अभिलेख राखिने पनि प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

पहिचान नखुलेका प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत वा कोड नम्बर प्रदान गर्ने क्रमबद्ध रूपमा एकै लाइनमा सुरक्षित रहने गरी व्यवस्थापन गरिने छ । भविष्यमा आफन्तले शव दाबी गरेमा वैज्ञानिक परीक्षणबाट पहिचान गरी अन्तिम संस्कारका लागि बुझाउन सकिने गरी सुरक्षित व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।

यसरी सुरक्षित राखिएको अभिलेखले विपत्मा आफन्त गुमाएका परिवारलाई भविष्यमा आफ्ना सदस्यको खोजी तथा पहिचान गर्न महत्वपूर्ण आधार उपलब्ध गराउने अपेक्षा गरिएको जनाइएको छ । यस्ता पहिचान नखुलेका शवको विवरण सर्वसाधारणको पहुँचमा पुर्‍याउन प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा ‘पहिचान नखुलेको शवहरूको विवरण’ शीर्षकको छुट्टै व्यवस्था गरेको पनि जनाएको छ ।

वेबसाइटमा राखिएका तस्बिर तथा उपलब्ध हुलिया लगायतका विवरण हेरेर आफन्तले सम्भावित रूपमा शव पहिचान गर्न सक्ने छन् । शव पहिचान भएको जानकारी प्राप्त भएमा प्रहरीको हेल्प डेस्कमार्फत थप कानुनी प्रक्रिया अघि बढाई परिवारको जिम्मा लगाउने जनाएको छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया