भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

भोटेकोशी बाढीः विपत्तिले अर्थतन्त्रमा धक्का

बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदीका तटीय क्षेत्रमा धनजनको क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रमा नै धक्का लागेको छ।  बाढीको कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा निजी घर तथा सम्पत्ति, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, पर्यटकीय पूर्वाधार, सामानहरूमा ठुलो क्षति भएको छ।

विपत्तिले करिब दुई खर्ब रुपैयाँ क्षति भएको अनुमान छ।  ती संरचनाको पुनर्निर्माणका लागि सरकारले ठुलो धनराशि खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा ठुलो धक्का लागेको राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर सुशीलकुमार श्रेष्ठले बताए।

‘भोटेकोसी विपत्ति प्राकृतिक प्रकोप मात्रै नभई पूर्वाधार, ऊर्जा, व्यापार र स्थानीय अर्थतन्त्रमा आर्थिक धक्का लागेको छ,’ श्रेष्ठले भने।  बाढीले नदीकिनारका बजार, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुर्‍याएको छ।  यसको पुनर्निर्माणमा सरकारले ठुलो धनराशि खर्च गर्नुपर्ने छ।  विपत्तिपछि तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारले बजेट परिचालन गर्नुपर्ने भएको छ।  त्यसपछि सडक, पुल, विद्युत् आयोजना, खानेपानी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा ठुलो रकम खर्च गर्नुपर्ने भएको छ।  दुई खर्ब रुपैयाँ बराबरको क्षति पुनर्निर्माण लागतले सरकारको विकास बजेटमा समेत दबाब पर्छ।

सरकारले चालु तथा आगामी आर्थिक वर्षका प्राथमिकता परिवर्तन गरेर प्रभावित क्षेत्रको पुनर्निर्माणमा स्रोत केन्द्रित गर्नुपर्ने अवस्था आएको छ।  यसले अन्य विकास आयोजनाका लागि उपलब्ध बजेट घट्ने भएको छ।

क्षतिको ठुलो हिस्सा भौतिक पूर्वाधार, जलविद्युत्, सडक, पुल, निजी सम्पत्ति तथा व्यापार–व्यवसायमा परेको छ। यति ठुलो क्षति पुनःस्थापना र पुनर्निर्माणका लागि राज्यले थप स्रोत परिचालन गर्नुपर्ने अवस्था आएको छ।

विपत्तिले सबैभन्दा पहिले उत्पादन र आपूर्ति प्रणालीमा धक्का दिएको छ। सडक तथा पुलमा क्षति पुग्दा सामान ढुवानी प्रभावित भएको छ। चीनसँगको व्यापारिक आवागमनमा समेत असर पर्न सक्ने भएकाले आयातित वस्तुको ढुवानी लागत बढ्ने र आपूर्ति शृंखलामा अवरोध आउने जोखिम छ।  ढुवानी महँगिँदा त्यसको भार अन्ततः उपभोक्ताको मूल्यमा पर्छ।

घर, पसल र उत्पादनशील सम्पत्ति गुमाएका परिवारको पुनःस्थापना र जीविकोपार्जन पुनःस्थापित गर्न राज्य तथा निजी क्षेत्रले ठुलो स्रोत परिचालन गर्नुपर्ने बाध्यता आइलागेको छ।

आर्थिक असर तत्काल देखिने भौतिक क्षतिमा मात्रै सीमित छैन।  रोजगारी गुम्नु, व्यवसाय बन्द हुनु, उत्पादन घट्नु, विद्युत् आपूर्ति अवरुद्ध हुनु र सडक सम्पर्क टुट्नुले स्थानीय अर्थतन्त्रमा दीर्घकालीन असर पर्छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा विपद्का लागि बजेट विनियोजन गरेको छैन।  जेनजी आन्दोलनबाट मुलुकले ठुलो आर्थिक क्षति बेहोरेको अवस्थामा एक वर्ष नपुग्दै मुलुकले ठुलो आर्थिक क्षतिको अर्को विपत्ति सामना गर्नुपरेको छ।

तत्काल राहतसँगै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, विस्थापितको पुनःस्थापना र प्रभावित क्षेत्रमा आर्थिक गतिविधि पुनः सञ्चालन गर्नु सरकारका लागि ठुलो चुनौती बनेको छ। चीनतर्फबाट एक्कासि आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदीका तटीय क्षेत्रमा धनजनको क्षति भएको छ।

मानवीय क्षतिसँगै अर्थतन्त्रमा करिब दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताए। ‘भौतिक पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँभन्दा बढी क्षतिभएको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘अप्रत्यक्ष क्षति अझ ठुलो हुन सक्छ।’

ठुलो प्राकृतिक विपत्तिले अर्थतन्त्रमा दुई किसिमको प्रभाव पार्छ।  उत्पादन र व्यापार घटाएर तत्काल आर्थिक वृद्धिमा दबाब सिर्जना गर्छ। पुनर्निर्माणमा हुने खर्चले निर्माण क्षेत्रलाई केही समय चलायमान बनाउने भए पनि विपत्तिबाट गुमेको उत्पादन, रोजगारी र सम्पत्तिको पूर्ण क्षतिपूर्ति भने गर्न सक्दैन।

बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङलगायत रसुवाका एक दर्जनभन्दा बढी बस्ती ध्वस्त भएका छन्। रसुवागढी–टिमुरे क्षेत्रमा रहेको भन्सार, अध्यागमन, प्रहरी चौकी, सडक तथाजलविद्युत् आयोजनामा क्षति पुगेको छ।

रसुवाको स्याफ्रुबेंसीसहित आसपासका बस्तीमा पनि घर तथा अन्य संरचना बगेका छन्। भोटेकोसीको बाढीले नुवाकोटका बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेंसी, खाल्टी बस्ती, सोले, त्रिशूली, बट्टार, तुप्चे, ढुंगे र देवीघाटलगायत बजार तथा बस्तीमा क्षति पुगेको छ।

नुवाकोटको त्रिशूली बजारमा मात्रै करिब ६० घर बाढीले छ।  त्रिशूली नदीमाथिका दुई वटा पक्की पुलसमेत बाढीले बगाएको बताइएको छ। देवीघाट बजारमा सडक, पसल तथा आसपासका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका संरचनासहित २५ मेगावाट क्षमताको सौर्य प्लान्टमा समेत क्षति पुगेको छ। सामान ढुवानीका लागि रसुवागढी पुगेका २०० भन्दा बढी ट्रक बगेका छन्।

विदुर नगरपालिका–१, ४, ५ र ७ का नदीकिनारका क्षेत्रमा बाढीले निजी तथा सार्वजनिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ।  रसुवा सीमादेखि धादिङको गल्छीसम्मका नदीकिनार क्षेत्रमा सडक, पुल तथा बस्तीमा क्षति पुगेको छ।  विपद् जोखिम प्राधिकरणका अनुसार बाढीले ३५ वटा पक्की र ४५ वटा झोलुंगे पुल बगाएको छ।  बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४० किलोमिटर सडक बगेको छ।

जलविद्युत् आयोजनमा अर्बौं रुपैयाँको क्षति भएको छ।  भोटेकोसी बाढीले देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ४३१.१ मेगावाट क्षमताका १२ विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्। कुल ४७० मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत् आयोजनामा अर्बौं रुपैयाँको क्षति पुगेको छ।  ९०१ मेगावाट क्षमताका आयोजनामा असर पुगेको छ।

बाढीले रसुवागढी नाकाबाट हुने व्यापारसँग जोडिएका व्यवसायमा पनि ठुलो असर पारेको छ। सीमावर्ती बजारका पसल, होटल, गोदाम, यातायात व्यवसाय र ढुवानी सेवामा क्षति पुगेको छ। सयौं सवारीसाधन तथा मालसामान बाढीले बगाएको प्रारम्भिक विवरणले निजी क्षेत्रको ठुलो क्षति भएको छ।

रसुवा हुँदै चीन जाने सडक तथापर्यटकीय मार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायमा समेत असर परेको छ। होटल, रेस्टुरेन्ट, यातायात तथा ट्रेकिङसँग सम्बन्धित व्यवसायले प्रत्यक्ष आम्दानी गुमाएका छन्।- नागरिक दैनिकबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया