भाद्र १४, २०८३ आइतबार August 30, 2026

विपद् सामना गर्न जुटे दलहरू

तत्काल कम्तीमा सात स्थानमा बेलिब्रिज जडान गरी अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनुपर्ने काँग्रेसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले अकल्पनीय जनधनको क्षति पुगेको छ । आकस्मिक रूपले आएको बाढीले सडक सञ्जाल टुटाउँदा उद्धारकर्तालाई प्रभावित क्षेत्रमा काम गर्नसमेत समस्या परिरहेको छ । बाढीले रसुवा र नुवाकोट बढी प्रभावित छन् । तर, पीडितसमक्ष राहत पुग्न पनि सकिरहेको छैन । काठमाडौं लगायतका देशभरबाट आएको राहत नेपाली सेनाको तालिम केन्द्र मैथलीमा राखिएको छ । बाढी पीडितको उद्धारमा जनशक्ति नपुगेको स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरिरहेका छन् । बाढी विपद्ले मुलुक संकटमा परेका बेला प्रमुख राजनीतिक दलहरू आपसी मतभेद थाती राखेर एकजुट भई उद्धार र राहत कार्यमा सक्रिय भएका छन् ।

विपद्को यो कठिन घडीमा सरकारको प्रतिकार्यलाई सघाउन र पीडितलाई राहत पुर्‍याउन सत्तारूढ र प्रतिपक्षी दलहरूले विभिन्न संयुक्त प्रतिबद्धता र कदमहरू चालेका हुन् । बाढीपछि उत्पन्न मानवीय संकटमा सत्तारूढदेखि प्रतिपक्षमा रहेका दलहरू आ-आफ्नै ढंगले उद्धार र राहत पुर्‍याउन सक्रिय छन् । दलहरूले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आ-आफ्ना पार्टी पंक्तिलाई खटाएका छन् ।

रास्वपा उद्धार र राहतमा सक्रिय

सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पंक्तिलाई आरएटीमार्फत सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । पार्टी निर्देशनअनुसार नेताहरू उद्धार तथा राहत कार्यमा खटिएका छन् । रास्वपाले उद्धार तथा राहत परिचालनका लागि संयोजनको जिम्मा र्‍यापिड एक्सन टिम (र्‍याट) का पूर्वसंयोजक आशिष थापालाई दिएको छ । थापाका अनुसार र्‍याट प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतको काम गरिरहेको छ । उद्धार गरेर ल्याइएका मानिसहरूलाई सेल्टरमा राख्ने काम भइरहेको उनले जानकारी दिएका छन् । रास्वपाका सांसदहरू पनि औषधि, पिपिई, ग्लोब्सलगायत स्वास्थ्य सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका छन् ।

कांग्रेसको समन्वय तथा सहजीकरण समिति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उद्धार र राहतका लागि ‘रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । केन्द्रीय सदस्यसमेत रहनुभएका रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य, सांसदहरू समितिमा छन् । कांग्रेसले बाढी प्रभावित जिल्लाबाट बागमती प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेता, ती जिल्लाका पार्टी सभापतिहरू, प्रदेशसभा सदस्यहरू र पार्टीबाट निर्वाचित स्थानीय सरकारका प्रमुख-उपप्रमुखहरूलाई पनि समितिमा राखेको छ । समितिले प्रभावित जिल्लामा उद्धार, राहत र व्यवस्थापनमा मद्धत पुर्‍याइरहेको छ । कांग्रेसले सूचना प्रवाह गर्ने कुरामा पार्टीको संयन्त्रलाई निरन्तर सक्रिय बनाउने र व्यवस्थापकीय पक्षमा सहयोग पुर्‍याउने गरी केन्द्रीय कार्यालयमा डेस्क स्थापना गरेको छ । कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाढी प्रभावितका लागि शुक्रबारदेखि काठमाडौंमा राहत सामग्री संकलन अभियान सुरु गरेको छ ।

एमालेको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा

प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी आएर्क दिन भदौ १० गते विज्ञप्ति जारी गरेर पार्टीका नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिनुभएको थियो । एमालेले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पठाएको थियो । उक्त टोली नुवाकोटको त्रिशूली क्षेत्रको निरीक्षण गरेर फर्किएको छ । एमालेले बाढी प्रभवितको उद्धार र राहतका लागि भ्रातृ संगठनहरू अनेरास्ववियु, युवा संघ लगायतका संगठनका सदस्यहरूलाई खटाएको छ । एमालेबाट बाढी प्रभावित जिल्लाको पार्टी पंक्ति यसअघि नै परिचालित भइसकेको छ । थप जनशक्ति पठाउन पार्टी तयारी अवस्थामा रहेको एमालेले जनाएको छ ।

अन्य दलहरू पनि उद्धार र राहतमा सक्रिय

रास्वपा, कांग्रेस र एमाले जस्तै अन्य राजनीतिक दलहरू पनि बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले भदौ १० गते नै सामाजिक सञ्जालमार्फत पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न र स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिनुभएको थियो । पार्टीको निर्देशनअनुसार नेकपाका नेता तथा कार्यकर्ताहरू प्रभावित क्षेत्रमा खटिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि बाढी प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको जनाएको छ । अध्यक्ष उपेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा नेता–कार्यकर्ता परिचालन गरिएको जानकारी दिनुभएको छ । अध्यक्ष यादवले मधेश केन्द्रित तथा पहिचानवादी विभिन्न आठ दलको संयुक्त मोर्चा ‘अग्रगामी मोर्चा’का तर्फबाट पनि बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको जानकारी दिनुभएको छ । राप्रपाले पनि पार्टीका सबै तहका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई उद्धार, राहत र मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेको छ । यस्तै, श्रम संस्कृति पार्टीले पनि बाढी प्रभावित क्षेत्रमा नेता–कार्यकर्ताहरू खटाएको छ । पार्टीका सांसद आरेन राई आफैँ प्रभावित क्षेत्रमा पुग्नुभएको छ । उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरू पनि उद्धार र राहतमा सहयोग गर्न प्रभावित क्षेत्रमा खटिएका छन् ।

बाढीग्रस्त क्षेत्रको समस्या समाधानका लागि कांग्रेसको नौ बुँदे सुझाव

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्रीलाई बालेन्द्र शाहलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन नौ बुँदे सुझाव अघि सार्नुभएको छ । नेपाली सेनाले गरिरहेको उद्धार कार्यको सराहना गर्दै उहाँले उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न आग्रह गर्नुभएको छ । बाढीका कारण क्षति पुगेका १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेलिब्रिज जडान गरी अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनुपर्ने माग छ ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा तत्काल सुचारु गर्न, बेपत्ताको खोजी र शव व्यवस्थापनलाई तीव्र पार्न तथा सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई काठमाडौंसम्म पुर्‍याउने यातायातको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ । स्वास्थ्य उपचारतर्फ ध्यान ध्यानाकृष्ट गराउँदै उहाँले नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्नका साथै ज्येष्ठ नागरिकका लागि पर्याप्त शैय्या उपलब्ध गराउन माग गरिएको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया