भाद्र १४, २०८३ आइतबार August 30, 2026

हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी

सिमोडको सन् २०२६ को अध्ययनअनुसार सन् २००० यता यस क्षेत्रमा हिउँ पग्लिने दर दोब्बर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसारका सबैभन्दा अग्ला, हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौँदेखि जोखिमपूर्ण नै छ । तर, नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोडौँ मानिसहरूको भविष्यलाई झन् धेरै अनिश्चित बनाइदिएको छ । नेपाल अग्ला पहाड, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो । यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन् । यस्तो रमणीय तर, खतरनाक भूगोलमा गत साता जुन विपद् आयो, त्यसले सबैलाई स्तब्ध बनाएको छ ।

उत्तर नेपालको लाङटाङ लिरुङ हिमालबाट करिब दुई हजार फिट चौडा ग्लासियर (हिमताल)को एक विशाल हिस्सा अचानक भत्किँदा भोटेकोशीमा भयानक बाढी आएको वैज्ञानिकहरूले निष्कर्ष निकालका छन् । उपग्रहको विश्लेषणअनुसार, हिउँ, पानी, लेदो, माटो र ठूला ढुंगाहरूको मिश्रण सात हजार फिट तल खसेको थियो । सुरुमा यसलाई भूकम्प ठानिएको थियो । तर, पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे । तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढी साँघुरा खोँचहरूबाट हुइँकियो । यसले घर, भवन, जलविद्युत् आयोजना, पुल र सडकहरू क्षणभरमै ध्वस्त बनायो । सयौँ मानिसले ज्यान गुमाए भने हजारौँ बेपत्ता छन् ।

भोटेकोशी बाढीको गति यति तीव्र थियो कि यो पहिलो १४ माइलको दूरी प्रतिघण्टा १२० माइलको गतिमा दौडिएको अनुमान गरिएको छ । तल्लो क्षेत्रका मानिसहरूले केही सोच्ने वा बच्ने मौकासमेत पाएनन् । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका क्रायोस्फियर विश्लेषक प्रशान्त बरालका अनुसार बुधबारको बाढी पछिल्लो समयकै सबैभन्दा निकै ठूलो आकारको थियो ।

विश्वभरका वैज्ञानिकहरूले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको चेतावनीका रूपमा हेरेका छन् । सिएनएनको रिपोर्टअनुसार यो केवल एक सामान्य प्राकृतिक प्रकोप मात्र होइन, यो बदलिँदो पृथ्वी र जलवायु परिवर्तनको डरलाग्दो चेतावनी हो । जसले भविष्यका ठूला खतराहरूप्रति समयमै सचेत हुन गम्भीर बनाएको छ ।

जलवायु परिवर्तन र हिमालको फेरिँदो स्वरूप

के यो विपद् जलवायु परिवर्तनकै परिणाम हो भन्नेमा वैज्ञानिकहरूको एकमत छैन । तर, पृथ्वीको तापक्रम वृद्धिसँगै हिमालहरूको स्वरूप तीव्र रूपमा फेरिँदै छ र यसले यस्ता जटिल र शृंखलाबद्ध प्रकोपहरूको जोखिम अत्यधिक बढाएको भन्नेमा उनीहरू एकमत छन् । हिन्दकुश हिमालय क्षेत्रमा रहेका ६३ हजारभन्दा बढी हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् ।

सिमोडको सन् २०२६ को अध्ययनअनुसार सन् २००० यता यस क्षेत्रमा हिउँ पग्लिने दर दोब्बर भएको छ । उच्च पहाडहरूमा माटो, चट्टान र हिउँलाई जोडेर राख्ने ‘पर्माफ्रेस्ट’ नामक जमेको सतह तापक्रम बढेसँगै पग्लिन्छ । इंग्ल्याण्डको किल विश्वविद्यालयका भौतिक भूगोलविद् रिचर्ड वालर भन्नुहुन्छ, ‘उच्च हिमालहरू भनेका हिउँले भरिएका जोर्नीहरूले टाँसेर राखेका भग्नावशेष चट्टानहरू हुन् । जब तापक्रम बढ्छ, त्यो हिउँ पग्लिन्छ र पहाडका पाखाहरू कमजोर भएर भत्कन्छन् ।’

हिमनदीहरू पग्लिएर बनेका तालहरू पानीले भरिएर बेलाबेलामा बाँध फुटेर विष्फोट हुने गर्छन् । यस्ता हिमताल फुट्ने घटना गत वर्ष पनि नेपालमा घटेको थियो । हिउँ पर्नुपर्ने उच्च पहाडहरूमा अचेल अत्यधिक वर्षा हुन थालेको छ, जसले पहिरो र माटोको क्षयलाई बढावा दिन्छ । क्यानाडाको क्यालगरी विश्वविद्यालयका भूगर्भविद् ड्यान सुगार भन्नुहुन्छ, ‘यो घटना सिधै जलवायु परिवर्तनले गराएको हो वा होइन भन्न कठिन छ, तर यस्तै घटनाहरू भविष्यमा देख्न पाइनेछ । जलवायु परिवर्तनको रूप यस्तै हुन्छ ।’ ब्रिटिस अन्टार्कटिक सर्वेकी जलवायु वैज्ञानिक एला गिल्बर्टका अनुसार हिमनदीहरू खुम्चिँदै जाँदा तिनीहरू अस्थिर हुन्छन् र अचानक ढल्ने खतरा पैदा हुन्छ ।

संकटको नयाँ धराप

वैज्ञानिकहरूका अनुसार यसपटकको प्रकोप एउटा मात्र कारणले भएको होइन, यो बहुसंकटको परिणाम हो । जहाँ धेरै किसिमका खतराहरू एकैपटक जोडिएर आएका छन् । हङकङको सिटी युनिभर्सिटीका स्कुल अफ इनर्जी एण्ड इन्भाइरोमेन्ट्मका डिन बेञ्जामिन हर्टनले रोयटर्सलाई बताएअनुसार, पहाडको कुनै भाग खस्नु, त्यसले नदीलाई क्षणिक रूपमा थुनेर प्राकृतिक बाँध बनाउनु र त्यो बाँध अचानक फुटेर तल्लो तटीय क्षेत्रमा बाढी ल्याउनु एउटै शृंखलाका खतरनाक कडीहरू हुन् ।

पानीको सतह तल्लो गल्छी क्षेत्रमा ३० मिनेटभित्रै नौ मिटर (३० फिट) सम्म माथि उठेको थियो । न्युजिल्याण्डको अर्थ साइन्सेसस्थित ‘माउन्टेन टु सी’ कार्यक्रमका प्रमुख वैज्ञानिक डा. साइमन कक्स भन्नुहुन्छ, ‘जलवायु परिवर्तनले उच्च पहाडी क्षेत्रका चट्टान र बरफलाई अस्थिर बनाउने परिस्थिति सिर्जना गरिरहेको छ । यसले गर्दा यस्ता पतन र आपत्कालीन घटनाहरू बारम्बार दोहोरिनेछन् ।’

यो समस्या केवल नेपालको मात्र हो ?

धेरैलाई लाग्न सक्छ कि यो नेपाल र हिमालय क्षेत्रको मात्र समस्या हो । तर, विज्ञहरूका अनुसार यो एउटा ग्लोबल समस्या हो । युरोपको आल्पसदेखि दक्षिण अमेरिकाको एण्डिज पर्वतमाला र उत्तर अमेरिकाका हिमालहरूसम्म यही खतरा मडारिइरहेको छ । अलास्काको जुनु सहरमा रहेको मेडेन्हल ग्लासियर माथिको ‘सुसाइड बेसिन’ ताल बारम्बार फुटेर आउने बाढीले सहर डुबाउने गरेको छ । गत वर्ष स्विस गाउँ ‘ब्लाट्टेन’ हिमनदीको पतनका कारण लाखौँ टन बरफ र चट्टानले पुरिएको थियो, जसको पछाडि पग्लिँदै गरेको पर्माफ्रेस्ट मुख्य कारण रहेको वैज्ञानिकहरूको ठहर छ ।

न्युजिल्याण्डका दक्षिण आल्पसमा पनि यस्तै हिमाल, हिमनदी र साँघुरा उपत्यकाहरू छन् । यद्यपि, त्यहाँ नेपालको जस्तो बाक्लो मानव बस्ती नभए पनि पदयात्री, सडक र पर्यटन पूर्वाधारहरू जोखिममा पर्नसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

पूर्वतयारी खै ?

हिमाललाई हामीले कहिल्यै केवल हिउँको थुप्रो मात्र ठानेनौँ, बरु यसलाई आफ्नो सभ्यता, संस्कृति, नदी र जीवनको मुख्य आधार मान्दै आएका छौँ । तर, पछिल्ला दशकहरूमा त्यही जीवन दिने हिमालले हामीलाई निरन्तर भयानक चेतावनी दिइरहेको छ । पृथ्वीको तापक्रम वृद्धिसँगै तीव्र गतिमा पग्लिरहेका हिमनदीहरू, कमजोर बन्दै गएका मोरेन बाँधहरू र हिमालको फेरिएको भौतिक स्वरूपले नेपाललाई बारम्बार ठूला विपत्तिको मुखमा उभ्याएको छ ।
सन् १९७७ को नारे हिमताल विस्फोटदेखि १९८१ र २०२५ को भोटेकोशी घटना, १९८५ को दिग छ्यो, २०२३ को सिक्किमको ल्होनाक तालको विपद् हुँदै पछिल्लोपटक २०२६ मा रसुवा-तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीसम्म आइपुग्दा यो स्पष्ट भइसकेको छ कि हिमाली विपत्ति कुनै आकस्मिक अपवाद होइनन्, बरु यो दोहोरिरहने र अझ विकराल बन्दै गइरहेको एक नियमित शृंखला हो ।

खतरा अब केवल ‘हिमताल फुट्ने’ मा मात्र सीमित छैन, सिंगो हिमाल नै अस्थिर र कमजोर बन्दै गएको छ । जलवायु परिवर्तनका कारण हिन्दकुश हिमालय क्षेत्रमा हिउँ पग्लिने दर दोब्बर भएको छ भने हिमालमुनि वा माथि बन्ने ‘सुपरग्लासियल लेक’ र हिपहिरोको जोखिम अनियन्त्रित रूपमा बढेको छ । त्यसमाथि, नदी किनारमा फैलिँदो अन्धाधुन्ध भौतिक विकास, ठूला जलविद्युत् आयोजना, सडक र बस्तीहरूले प्राकृतिक प्रकोपलाई ‘मानव निर्मित राष्ट्रिय विपत्ति’ मा परिणत गरिदिएका छन् ।

अब प्रश्न उठ्छ पूर्वतयारी खै ? अब सरकार र सम्बन्धित निकायहरू कागजी योजना र घटना घटेपछि गरिने राहत तथा उद्धारको औपचारिकताबाट माथि उठ्नैपर्छ । नेपालभरिका सम्भावित खतरनाक हिमताल र हिमनदीहरूको अत्याधुनिक प्रविधिमार्फत निरन्तर वैज्ञानिक निगरानी हुनुपर्छ । बाढीको सूचना राजधानी वा जिल्ला प्रशासन कार्यालयमा सीमित नराखी, जोखिममा रहेका तल्लो तटीय बस्तीका प्रत्येक नागरिकको हात-हातमा स्वचालित पूर्वसूचना प्रणालीमार्फत पुग्नुपर्छ । ‘आज नदी कस्तो छ’ भन्ने आधारमा होइन, ‘भोलि हिमताल वा हिमाल खस्यो भने नदीको रूप कस्तो हुन्छ’ भन्ने सोचाइ राखेर मात्र पूर्वाधार निर्माण गरिनुपर्छ ।

चेतावनी, चुनौती र भविष्यको बाटो

यस्ता विपद्हरूबाट बच्न सबैभन्दा ठूलो हतियार ‘प्रारम्भिक पूर्वसूचना प्रणाली’ हो । युकेको रिडिङ विश्वविद्यालयका मौसम विज्ञान तथा जलवायु परिवर्तनकी प्राध्यापक हान्ना क्लोकेका अनुसार नेपालले विगतमा विकास गरेका चेतावनी प्रणालीले धेरैको ज्यान बचायो । तर, उच्च पहाडी क्षेत्रमा घटना घटेको केही मिनेटभित्रै तल्लो बस्तीसम्म सूचना पुर्‍याउनु अत्यन्तै कठिन चुनौती हो ।

संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमका कार्यकारी निर्देशक इन्गे स्टेइनरले भन्नुभएको छ, ‘हिमालमा हिजो जे भयो त्यो दुर्भाग्यवश अब सामान्य बन्दै छ । तर, स्थिति अझै बिग्रिनेछ ।’ उहाँका अनुसार नेपालको कुल ऊर्जा उत्पादनको करिब १० प्रतिशत हिस्सा बाढी प्रभावित क्षेत्रमै पर्छ, जसले पूर्वाधार सुरक्षामाथि ठूलो प्रश्न उठाएको छ । स्टेइनर चेतावनी दिँदै भन्नुहुन्छ, ‘नेपालका केही क्षेत्रहरू अब बसोबासका लागि पूर्णरूपमा ‘रेड लाइन’ पार गरिसकेका छन् अर्थात् अति जोखिमपूर्ण भएका छन् ।’

नेपालको शिरमाथि यस्ता थुप्रै हिमनदीहरू छन्, जुन जुनसुकै बेला फुट्न सक्छन् । जब ती फुट्छन्, यो आकाशबाट आएको सुनामी जस्तै हुन्छ । नयाँ उपग्रह प्रविधिहरू र स्याटेलाइट सिस्टमहरूले हिमालका जोखिमहरूलाई निगरानी गर्न केही हदसम्म सहयोग पुर्‍याए पनि तीन हजारभन्दा बढी हिमनदीहरू भएको नेपालजस्तो देशमा हरेक कुरालाई निरन्तर अनुगमन गर्नु अति नै चुनौतीपूर्ण छ । सरकार, वैज्ञानिकहरू र अन्तर्राष्ट्रिय समुदायले आपसी समन्वय र द्रुत सूचना आदानप्रदान नगर्ने हो भने आगामी दिनहरू अझै कष्टकर बन्नसक्ने देखिन्छ ।

पृथ्वी तातिँदै जाँदा संसारका यी बरफले ढाकिएका सुन्दर पर्वतहरू मानिसका लागि अब विस्तारै सुन्दरता मात्र होइन, भयानक र अदृश्य खतरा बोकेको ‘मृत्युको धराप’ बन्दै छन् । समयमै गम्भीर नबन्ने हो भने यस्ता विपद्हरूले आगामी दिनमा अझ ठूलो मच्चाउने पक्का छ । एजेन्सीहरूको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया