भाद्र १७, २०८३ बुधबार September 2, 2026

भारतसम्म पुग्यो शव

नारायणी नदीको बहाबसँगै बाढीमा बगेका शव गण्डक बाँधक्षेत्रबाट करिब एक सय किलोमिटर टाढासम्म पुगेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पश्चिम नवलपरासी, भदौ १७ गते । चीनको तिब्बतबाट सुरु भएर नेपालको पहाडी क्षेत्रमा वितण्डा मच्चाएको बाढीमा परेर मृत्यु भएकाको शव भारतसमेत पुगेको पाइएको छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन् ।

भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि सुरु भएको छ । पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका नौ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५ गते एक र १६ गते चार गरी नौ वटा शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको हो । भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय महेशपुरमार्फत नेपाल ल्याएर पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार भारतको महाराजगन्ज र पश्चिम चम्पारण जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी भारतीय भूभागमा खोजी तथा निगरानी बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमावर्ती भारतीय जिल्लाका जिल्ला अधिकारी (डिएम) तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार भारतीय क्षेत्रमा फेला परेका शवलाई सीमासम्म ल्याउने र नेपालले बुझेर आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने गरिएको छ । “सुस्ताक्षेत्रमा धेरै शव भेटिन थालेपछि भारततर्फ पनि खोजीका लागि समन्वय गरेका छौँ,” उहाँले भन्नुभयो, “भारतीय सुरक्षा निकायले उतै खोजी गरी सीमासम्म ल्याउने र हामीले बुझेर शव व्यवस्थापन गरिरहेका छौँ ।”

नारायणी नदीको बहाबसँगै बाढीमा बगेका शव गण्डक बाँधक्षेत्रबाट करिब एक सय किलोमिटर टाढासम्म पुगेका छन् । मङ्गलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका चार शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए । यसअघि फेला परेका अन्य शव भने महाराजगन्ज जिल्लाका नदी किनारमा भेटिएका थिए । पश्चिम नवलपरासीमा मात्रै मङ्गलबारसम्म १८० वटा शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये ९८ शवबाट डिएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको छ । पहिचानका लागि बाँकी शवबाट समेत नमुना सङ्कलन गर्ने काम भइरहेको छ । फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि सुनवल र बर्दघाट क्षेत्रका सामुदायिक वनमा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ तर ठुलो सङ्ख्यामा शव फेला परेपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

शव व्यवस्थापनमा ढिलाइ हुँदा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा दुर्गन्ध फैलिएको छ । अस्पतालपरिसर हुँदै आसपासका बजारक्षेत्रमा समेत दुर्गन्ध फैलिन थालेपछि शवबाट नमुना सङ्कलन तथा व्यवस्थापनलाई तीव्र पारिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वृजकुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा राखिएका शवको अवस्था र दुर्गन्धका कारण अस्पतालको नियमित सेवा प्रभावित हुन सक्ने जोखिमसमेत देखिएको छ । नमुना सङ्कलन र शव व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको छ । रसुवालगायत उत्तरी क्षेत्रमा आएको बाढीमा परी ठुलो सङ्ख्यामा नागरिक बेपत्ता भएपछि त्रिशूली हुँदै नारायणी नदीसम्म शव बगेर आएका हुन् । नेपालमा फेला नपरेका शव नदीको बहाबसँगै भारतसम्म पुगेको हुन सक्ने भएकाले सीमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षा निकायले संयुक्त समन्वयमा खोजी गरिरहेका छन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढी : मृत्यु हुनेको सङ्ख्या ११ सय नाघ्यो,झन्डै ५ हजार बेपत्ता
२०८३ भाद्र १७, बुधबार
बाढी-पहिरोले देशभरका सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित
२०८३ भाद्र १७, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ भाद्र १७, बुधबार
बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै
२०८३ भाद्र १७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ भाद्र १७, बुधबार
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने
२०८३ भाद्र १७, बुधबार