भाद्र १७, २०८३ बुधबार September 2, 2026

बाढीको असर भान्सामा

बजारमा चिनी मात्रै होइन, पछिल्लो समयमा चामल र खानेतेलको मूल्य बढेपछी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १७ गते । भोटेकोशीबाट आएको हिमबाढीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ । काठमाडौँ आउने सडक अवरुद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असार उपत्यकावासीको भान्सामा देखिन थालेको हो ।

काठमाडौँमा खाद्यान्न भित्रिने सबैभन्दा ठुलो र प्रमुख पृथ्वी राजमार्ग सडकमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारी बताउँछन् । उपभोक्ता खाद्यान्न नपाइने सन्त्रासले खाद्य मौज्दात गर्ने सोच बनाउन थालिसकेका छन् । काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यसप्रकारको अवस्था रहेमा समस्या हुने व्यापारी बताउँछन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार चिनी, खानेतेल, चामल, दलहनलगायतका वस्तुको मूल्य अहिलेको विपत्भन्दा पहिले नै महँगो भएको र यसले झनै असर पार्ने देखिएको छ । चिनी प्रतिकेजी खुद्रामा १३० रुपियाँ, चामल प्रतिबोरा तीन सय रुपियाँ र खानेतेल प्रतिलिटर ५० देखि ७० रुपियाँसम्म महँगो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव अमुलकाजी तुलाधरले चिनी, तेल, चामललगायतका खाद्यान्नको महँगी भर्खरको विपत्का कारणभन्दा पनि यसअघि नै महँगो भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनुभयो ।

बजारमा चिनी सहज रूपमा नपाइएको र कतिपयले बेच्न छोडेको बताउँदै उहाँले भन्नुभयो, “हामीले थोक व्यापारीबाट प्रतिकेजी १२८ रुपियाँमा तिर्छौं तर बिल भने प्रतिकेजी एक सय रुपियाँको मात्रै पाउँछौँ । त्यो चिनी ल्याएर कसरी बेच्ने ? त्यसैले धेरै खुद्रा व्यापारीले चिनी बेच्न छोडेका छौँ ।” बजारमा चिनी मात्रै होइन, पछिल्लो समयमा चामल र खानेतेलको मूल्य त्यसै गरी बढेको उहाँको अनुभव छ ।

नेपालमा प्रत्येक वर्ष तीन लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । जसमा एक लाख ९० हजार मेट्रिक टन नेपालमा उत्पादन हुन्छ । बाँकी एक लाख १० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउनु पर्छ । गत वैशाखमै भारतबाट चिनी निर्यातमा प्रतिबन्ध लगाएकाले यसको असर अहिले बजारमा देखिएको व्यापारी बताउँछन् ।

गत जेठ १ गते नेपाल चिनी उद्योग सङ्घले जारी गरेको विज्ञप्तिमार्फत चिनी अभाव नहुने भन्दै सरकारलाई आश्वस्त पारेको थियो । “स्वदेशमै पर्याप्त चिनी मौज्दात छ, आत्तिनु पर्दैन, कारखानाबाट मूल्य बढ्दैन,” सङ्घको विज्ञप्तिमा उल्लेख गरिएको थियो । उद्योगीको उक्त प्रतिबद्धतापछि बजार केही हदसम्म शान्त बने पनि अहिले चाडपर्व आउन थालेसँगै चिनीको अभाव पुनः चुलिएको छ । जेठमा चिनी पर्याप्त भए पनि अहिले मौज्दात सकिएको सङ्घको दाबी छ । तत्कालीन समयका लागि भनिएको विषयलाई लिएर अहिले सबै अभावको दोष उद्योगीमाथि लगाउनु सरकारको कमजोरी भएको सङ्घको तर्क छ । चिनी आपूर्तिकर्ता भने सरकारले चिनी आयातका लागि समयमै अनुमति नदिए र कोटासम्बन्धी स्पष्ट नीतिगत निर्णय नगरे चाडपर्वमा बजारमा चरम अभाव र मूल्यवृद्धि हुन सक्ने बताउँछन् । भारतलगायत छिमेकी तथा तेस्रो मुलुकमा चिनीको मूल्य प्रतिडलरका हिसाबले बढ्दै गएको अवस्थामा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

चाडपर्वलक्षित सरकारले भारतबाट १० हजार क्विन्टल चिनी आयात गर्ने भनेकोमा पाँच हजार क्विन्टल चिनी नेपालगन्ज आइपुगेको जनाएको छ । सो परिणामको चिनी ल्याउन लागेकोमा पाँच हजार क्विन्टल चिनी काठमाडौँ आउने क्रममा छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त कार्यकारी अधिकृत शर्मिला सुवेदीले आधा काठमाडौँ आइपुगेको र आउने क्रममा रहेको जानकारी दिनुभयो । खाद्य कम्पनीले आन्तरिक उद्योगसँग पनि दुई हजार पाँच सय मेट्रिक टन चिनी खरिदका लागि प्रक्रिया थालिसकेकाले चाडपर्वमा अभाव नहुने उहाँको भनाइ छ ।

बजारमा चिनीको कृत्रिम अभाव र मूल्यवृद्धिको गुनासो बढिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनसँग हाल काठमाडौँसहित वीरगन्जमा रहेको गोदाममा गरी चार हजार एक सय मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ । कम्पनीका उपमहानिर्देशक कुमार राजभण्डारीले तत्कालका लागि कर्पोरेसनसँग चिनी भएकाले आत्तिन नपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वमा चिनीको अभाव नहोस् भनेर चिनी उद्योगीसँगबाट १२ हजार ५३० मेट्रिक टन चिनी खरिद गर्ने काम भइरहेको छ । त्यस परिणामको चिनी खरिदका लागि रकम भुक्तानी भइसकेको कर्पोरेसनका सूचना अधिकारीसमेत रहेका उपमहानिर्देशक राजभण्डारीले जानकारी दिनुभयो ।

मौज्दात र मूल्यकेन्द्रित अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबारदेखि १३ वटा टोली बनाएर खाद्यान्नको मौज्दातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ । अनुगमनमा चिनी, चामल र खानेतेलको मूल्य यसअघि नै बढेको र प्रमुख राजमार्ग अवरुद्धको असर भने नदेखिएको विभागले जनाएको छ । विभागका निर्देशक अनिल किराँतीले खाद्यान्न मौज्दातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिन पर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नुभयो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढी : मृत्यु हुनेको सङ्ख्या ११ सय नाघ्यो,झन्डै ५ हजार बेपत्ता
२०८३ भाद्र १७, बुधबार
बाढी-पहिरोले देशभरका सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित
२०८३ भाद्र १७, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ भाद्र १७, बुधबार
बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै
२०८३ भाद्र १७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ भाद्र १७, बुधबार
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने
२०८३ भाद्र १७, बुधबार