काठमाडौँ, भदौ १८ गते । ‘माथिबाट ठुलो बाढी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस्, छिटो सुरक्षित स्थानतर्फ जानुहोस् ।’ भोटेकोशीको बाढीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरू नै बाढीको भेलमा विलय भए ।
नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको ज्यान गएको छ । उहाँहरूको शव फेला परिसकेको छ ।
सोही टोलीका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ । त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, “अचानक बाढीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित स्थानमा जान माइकिङ गर्दै दौडिरहेका थियौँ, त्यहीबेला हामीलाई नै बाढीले चपेटामा पार्यो ।”
रिजालले आफ्नो मोटरसाइकल त्यहीँ छाडेर माथि जङ्गलतर्फ दौडिएको र १० सेकेन्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो । उहाँलाई यतिबेला आफ्नो ज्यान जोगिएको खुसीभन्दा सहकर्मी गुमाएको पीडा ठुलो छ । आँखै अगाडि मानिस, घर र सहकर्मी बाढीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार पाँच/छ जना प्रहरीको टोली स्थानीय बासिन्दालाई जोखिम क्षेत्र छाड्न आग्रह गर्दै दौडिरहेको थियो । प्रहरीको चेतावनीपछि धेरै नागरिक सुरक्षित स्थानमा पुग्न सफल पनि भए तर नागरिकलाई सुरक्षित बनाउन दौडिएका प्रहरीहरू भने बाढीको भेलबाट उम्कन सकेनन् ।
पच्चिस प्रहरी अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा नागरिकको उद्धार तथा सुरक्षाका क्रममा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन भएको विवरण छ । तीमध्ये तीन जनाको शव फेला परिसकेको छ भने २५ जना अझै सम्पर्कविहीन छन् ।
प्रहरीचौकी टिमुरेका आठ, स्याफ्रुबेँसीका तीन, रसुवागढीका आठ, हाकुका एक र अस्थायी प्रहरी पोस्ट मैलुङका पाँच जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । यसै गरी बाढीमा नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन भएको विवरण छ । विपत्को समयमा नागरिकको ज्यान जोगाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी आफैँ जोखिममा पर्दा खोज तथा उद्धार कार्य पनि थप चुनौतीपूर्ण बनेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी गर्नु सङ्गठनकै दायित्व भएको बताउनुभयो । “प्रहरीको पहिलो दायित्व भनेको नागरिकको जिउधनको सुरक्षा नै हो । यही जिम्मेवारी पूरा गर्ने क्रममा हाम्रा परिवार बेपत्ता छन्, खोज्न हामी नै लाग्नु पर्छ, यो हाम्रै दायित्व हो,” उहाँले भन्नुभयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार विपत्को समयमा नागरिकको ज्यान जोगाउने क्रममा आफ्नै सदस्य गुमाउँदा सङ्गठन शोकमा छ । सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि छुट्टै टोली परिचालन गरिएको छ । उहाँले भन्नुभयो, “विपत्को समयमा प्रहरीको जिम्मेवारी शान्ति सुरक्षामा मात्र सीमित हुँदैन । जोखिमको सूचना प्रवाह गर्ने, नागरिकलाई सुरक्षित स्थानमा लैजाने, खोज तथा उद्धार गर्ने र आवश्यक परे शव व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी प्रहरीकै काँधमा हुन्छ । उही जिम्मेवारी पूरा गर्ने क्रममा हाम्रा साथीहरू पनि बाढीको चपेटामा पर्नुभएको छ ।” प्रहरीको पोसाकमा एउटा पद हुन्छ तर त्यो पोसाकभित्र एउटा परिवार पनि हुन्छ । प्रहरी पनि कसैका सन्तान, श्रीमान्, बुवा, दाजु वा भाइ र परिवार हुन् । बेपत्ता सुरक्षाकर्मी फर्किने व्यग्र प्रतीक्षामा परिवार तथा बालबालिका छन् ।
डिउटी सकेर घरफर्किने पर्खाइमा रहेका कैयौँ प्रहरीका परिवारमा यतिबेला ठुलो बेचैनी छ । आफ्नो ज्यान जोखिममा रहेको थाहा हुँदाहुँदै नागरिकलाई बचाउन दौडिएका तिनै प्रहरी आफैँ घर नफर्किएको खबरले सबैलाई स्तब्ध बनाएको छ ।
यसैबिच प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवारलाई १० लाख रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया